एक भारतीय टिभी च्यानलले इरफानको बारेमा १ घण्टा लामो कार्यक्रम
निर्माण गर्दै रहेछ। कार्यक्रमका लागि इरफानको जीवनका सबैभन्दा नजिक र
विशेष मानिसहरुलाई मुम्बई बोलाइएको थियो। उनको परिवारका केही,
स्कूलको मिल्ने साथी, एनएसडीका प्रिन्सिपल लगायतसँगै
एक विशेष अतिथि बनेर पुगेका थिए सुनील।
स्कूलको मिल्ने साथी, एनएसडीका प्रिन्सिपल लगायतसँगै
एक विशेष अतिथि बनेर पुगेका थिए सुनील।
*****
स्वेच्छा राउत
फेसबुक म्यासेन्जरमा सुतापाले अप्रत्यासित रुपमा एउटा आग्रह गरिन् - 'पशुपतिनाथमा एउटा पूजा लगाइदिनुस् न स्वास्थ्य लाभको कामना गर्दै।'
अनौठो लाग्यो सुनील पोखरेललाई। किनभने उनी कहिल्यै धर्मको विश्वास गर्दैन थिए। न त कुनै धर्ममाथि प्रश्न नै गर्थे। सुतापा सिक्दरले निशा शर्मालाई पूजा लगाउन गरेको आग्रह पूरा भयो।
'सुतापाले भनेझै हामीले पशुपतिनाथमा पूजा गर्यौं। उसको स्वास्थ्य लाभको कामना पनि,' सुनीलले भने। कलाकारद्वय सुनील र निशा लगायत धेरैको कामनाहरुले अर्थ राख्यो। उनी नयाँ फिल्मका लागि तयार भए - अङ्ग्रेजी मिडियम।
'इरफान त धर्मभन्दा पनि कर्ममा विश्वास राख्थ्यो। तर अरुको धार्मिक आस्थामाथि कहिल्यै प्रश्न गरेको थाहा छैन,' सुनीलले सुनाए। हालै दिवंगत भएका भारतीय फिल्मका चर्चित अभिनेता इरफान खानलाई सम्झिँदा मलिन सुनिए सुनील।
पहिलो चरणको उपचार बेलायतमा सकेर भारत फर्किएपछि इरफानसँग सुनीलको सम्पर्क भयो, महिनौ पछि। इरफानलाई डाक्टरले फोन लगायत अन्य डिजिटल माध्यमबाट टाढै बस्न सुझाएका रहेछन्। त्यसैले सुनीलसँग लामो गफ गरेनन्। यति नै बोले – 'अहिले अलि ठीक छु।'
+++
सन् २०१८ को फेब्रुअरी महिनामा हो इरफानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएको। त्यस समय उपचारका लागि बेलायत जाने र ठीक भएपछि फर्कने योजना पनि सुनाएका थिए।
सुनीललाई लागेको थियो – उपचार पछि ठीक हुन्छ।
तर, उनलाई न्यूरो एडोक्राइन ट्यूमर भएको थियो।
'समाचार पढेपछि पो थाहा पाएँ उसको समस्या सामान्य होइन रहेछ। सयौंमा एकलाई ग्रस्त पार्ने ट्युमर रहेछ। डर चुलियो। म र निशा यस विषयमा कुरा गर्थ्यौं तर हामीले गर्न सक्ने के नै थियो र?', सुनील चिन्तित सुनिए।
डर र आशाको त्यान्द्रो तन्कँदातन्कँदै एक वर्ष बित्यो। सन् २०१९ को फेब्रुअरीमा बल्ल खबर आयो - इरफान उपचार सकेर भारत फर्किए।
त्यतिखेरै हो सुतापाले पशुपतिनाथमा पूजा लगाउने आग्रह गरेको।
इरफानले चाहिँ नेपाली बाँसुरीको धुनहरु मगाएका थिए। निशाले पहाडी भेगका बाँसुरीका संकलित धुन खोजेर पठाइन्।
त्यसपछि सम्पर्क पातलियो। डाक्टरको सुझाव सम्झिएरै फोन नगरेका हुन् उनीहरुले। सुतापासँग चाहिँ बेला बखत् फेसबुकमै कुराकानी भइरहन्थ्यो। तर, इरफानलाई 'डिस्टर्ब' गर्न सकेनन्।
पछिल्लो समय फिल्म 'अङ्ग्रेजी मिडियम'को ट्रेलर सार्वजनिक हुँदा खुशी थिए सुनील। समयको हिसाबले पन्ध्र मिनेट टाढा रहेका सुनीलका लागि ट्रेलरमा इरफानको अभिनय सन्देश बन्यो - 'अब स्वस्थ भयो' भन्ने।
तर, देखेका सबै कुरा कहाँ सत्य हुन्छन् र?
अप्रिल २९ तारिख। दिउँसो खाना खाइसकेर आराम गरिरहेका थिए सुनील। हेटौंडामा रहेका कलाकार बिशारद बस्नेतले फोन गरे र भने – इरफान खान बित्नुभएछ।
त्यसपछि छाएको मौनता र अविश्वासले उनलाई टिभी अघिल्तिर पुर्यायो। न्युज च्यानल खोले। प्रस्तोता चिच्याइ चिच्याइ इरफानको शान्त स्वभावको बखान गरिरहेका थिए। टिभीबाट आवाज आइरह्यो – बलिउडले एक सशक्त अभिनेता गुमायो। सुनील भने नजिक रहेको साथी गुमाउनुको शोकमा परे।
'एक पटक बोलेको भए हुन्थ्यो। फोन गर्नु पर्थ्यो मैले,' यति बोलिसक्दा एकोहोरिए सुनील, 'बढो गम्भीर आवाज थियो त्यसको। अब त कहिल्यै सुन्न पाइने छैन।'
इरफान विते, सुनीलको आँखा रसाउन छाडेका छैनन्। 'त्यसको हँसिलो अनुहार सम्झन्छु म। विशेषगरी आँखा सम्झन्छु। खुब एक्सप्रेसिभ आँखा थिए। सोचेको कुरो ठ्याक्कै झल्कने,' उनले भने।
+++













