शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 29, 2026

मीना श्रेष्ठका चार कविता

हराएको मुस्कान

बा ! गए एकपटक पनि पछाडि नहेरी कहिल्यै नफर्किने गरी बादल पारीको गाउँ जाँदा माताजीको गलाको पोते हातका इन्द्रधनुषी चुराहरू बट्टामा राखेको कुमकुम मिश्रित सिन्दुरको डिब्बासहित लिएर गए बाले त्यति मात्र लगेनन् । मेरो शिरको ताज कर्ली कपाल लिएर गए वाणीमा सम्मोहन थप्ने मेरो मुस्कान पनि लिएर गए । लैजानै परे पछि, किन लैजानु त्यो निर्दोष मुस्कान निस्फिक्री हाँसो बालसुलभ चञ्चलता बरू लैजानु नि भिडले नछेक्ने दर्किरहने रोक्दै नरोकिने आसुँको झरी, मेरो घाँटी न्याक्ने भक्कानाहरू , कसैले नबुझ्ने ब्यथाहरू, र, किन्नै नसकिने रहरहरू । बा ! तिमी एक्लै गएनौ रित्तै गएनौ उदासी दिएर छोरीलाई लगेका छौ जीवनका ऊर्जाहरू ।

*******

सिक्रा
वासन्ती पातहरू शिशिरको प्रहारले फुत्तफुत्त खसेझैं जीवनका रङ्गीन पातहरूले मलाई छोडेर सिक्रा भएको बेला, मेरो अवस्था देखेर तर्कदै, तिमीले भन्यौ, हरियाली पातको बात गर स्याउलाविहीन सिक्राको दुःख होइन मलाई रङ्गहीन बातहरू पहेंलिएका पातहरू फिटिक्कै मन पर्दैन । हो त्यसै दिनको वैरागिलो साँझमा दुखेर आफैसँग मैले बाचा गरेथेः प्रिय ! फेरि कुनै दिन आउनेछ वसन्त भरिनेछ झुरुप्प पातहरूले जिन्दगी तब सम्झनेछु तिमीलाई अनि, सुन्न चाह्यौ भने सुनाउनेछु म सिक्रा भएको कहानी मेरा एकएक पातहरू खोसिएका कथा र, मेरो जीवनको हरियालीमा झरेका वचनका अग्निवर्षाहरू । तिमी ढुक्क हुनु ! फेरि स्याउला नहुँदासम्म सिक्राबाट देखिने छैन तिम्रो अगाडि म तोड्ने छैन आफ्नै वाचा, नबिर्सनू ! वसन्तले बोकी ल्याउनेछ सिक्राका गाँठगाँठमा  वसन्तका पालुवाहरू । 

*******

शृङ्खला भ्रमको

एक थान हृदय दुई थान आँखा, घरी के गर्छन् घरी के भन्छन् । मुटु भित्र भक्कानो फुटे पनि आँखाको सागर छल्किए पनि, बदमाश हृदय सम्हाली रहन्छ बदमाश आँखा नियाली रहन्छन् । एक पछि अर्को भ्रम एउटा भ्रम सकियो, रहन्छ केवल केहि पल रित्तो हृदय केहि समय शून्य मस्तिष्क । अनि.. पुनः जोडिरहन्छन भ्रमका शृङ्खलाहरू भ्रम भ्रम भ्रम उस्तै भ्रम.‍‍.‍. तेस्तै भ्रम ...

*******

आँसुको झरी

रुन्न भन्छु- त्यसै बर्सिन्छन आँसुका भेलहरू न्याक्छन भक्कानोका हिक्काहरूले, घर भत्किएको हो कि जिन्दगी सोझो छु, हिसाबकिताब जान्दिन, हृदय रुयो कि मन रुयो? पत्ता लाउन पनि सक्दिन ।
सबैले भन्छन्, अब नाम परिचय फेरिन्छ, भनेर सोच्छु, एक्लै चुपचाप अनि, प्रश्न गर्छु आफै सँग नाम फेरिन्छ कि ठाम? खुइय्य गर्दै फर्किन्छु आकाशतिर म रुएको देखेर हिजैदेखि आकाश पनि सघाउँदैछ, घरीघरी रुन्छ मसँगै, घरीघरी भक्कानिन्छ गड्याङगुडुङ गर्दै खै ! कसले बुझ्छ? र आँसुको भाषा अनि कसलाई पो सुनाउन छ र? भुइँ भरी असरल्ल थाङ्ना जस्तै जिन्दगी छरिएको देख्छु । भो ! भन्छु, किन रोकिन्थ्यो र ! यो आँसुको झरी !!

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment