![]() |
त्रिचन्द्र प्रतीक्षा |
प्राचीन कालदेखि नै कौडी सिक्काको रूपमा चलिरह्यो । एक समय यस्तो थियो, जब विनिमयको लागि मुद्राको रूपमा कौडीनै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्व थियो । त्यस समयमा पुरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरह्यो । अफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औं शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा 'क्युरियामा' को वार्षिक आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आफ्नो जमीन एक अफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र साढे २ दर्जन (३० गोटा) केरा पाइन्थ्यो । त्यहाँका 'इभ' जनजातिका मानिसहरू मरेको लाशलाई माटोमा गाड्दा साथ-साथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको कर्ज भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिस्रमा मृतक लाशको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिस्रबासीहरूको विश्वास छकि मृतक लाशको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।