-त्रिचन्द्र प्रतीक्षा
धर्मले मानव जातिलाई मानवोचित कर्म गर्न सिकाउँछ । मानव जातिको उत्पत्तिका साथसाथै यस संसारमा धर्मको प्रचलन भएको छ । सनातन कालदेखि चलिआएको हुँदा हिन्दू धर्म विश्वको सबैभन्दा पुरानो धर्म मानिन्छ।
नेपाली शब्दसागरका लेखक बसन्तकुमार शर्मा “नेपाल“ले आफ्नो शब्दकोषमा धर्मको व्याख्या यसरी गर्नुभएको छ- धर्म भनेको व्यक्ति वा वस्तुको मूल वृत्ति, प्रवृत्ति, प्रकृत्ति, स्वभाव, नियत, नीति, स्वाभाविक गुण, सहज वृत्ति, श्रेय, सुकृत, नियमित र निर्धारित काम वा व्यवहार, सुख र स्वर्ग प्राप्त हुने भन्ने लोक विश्वासको सुकर्म, पुण्यकर्म, लोकहितका लागि स्वीकारिने कर्तव्य, कर्म, सदाचार, सत्कर्म, इश्वरप्राप्ति वा सदेगतिका लागि शास्त्रनिहित कर्म, स्वधर्म, सामूहिक कर्तव्य, कुनै मान्यजन वा महापुरुष वा आचार्य वा ऋषि वा ग्रन्थनिर्दिष्ट परलोक सुखप्राप्ति हुने उत्तम कार्य आदि इत्यादि । त्यसैगरी A.S. Hornby द्वारा लिखित Oxford Advance Learner’s Dictionary अनुसार एउटा आस्था र विश्वास, जहाँ भगवानको अस्तित्वलाई स्वीकारिन्छ र सत्कर्मको माध्यमबाट नै मानिसले मुक्ति र प्रगति गर्न सक्छ । त्यसैगरी पं. बेचरदासका अनुसार प्रत्येक धर्म आफ्नो समयको बुद्धि विकासको प्रकाशन हो, चिन्तन र अनुभव हो । त्यसलाई सबै समयको समाजको बुद्धिमाथि लाद्नु आफैमा ठूलोभन्दा ठूलो अधर्म हो । अर्थात् उहाँका अनुसार धर्मको व्याख्या र विवेचना पनि बह्माण्डको विकास र प्रगतिसँगै गर्नुपर्ने हुन्छ ।
![]() |
त्रिचन्द्र प्रतीक्षा |
॥ धृयते धार्यते सेव्यते इति धर्मः ॥
धर्म शब्द ”धृ” धातुले बनेको छ जसको अर्थ हुन्छ धारण गर्नु ।
ईश्वरको बचन (वेदको बचन)लाई आचरणमा धारण गरेर आफ्नो जीवनलाई सत्य, अहिंसा, त्याग, परोपकार सहितको जीवन बिताउनु र त्यहि अनुसार कर्म गर्नु लाई नै धर्म भनिन्छ ।