आजभोलि दिनहूँ समाचारमा सुन्न र पढ्न पाउँछौ पानी नपरेर कुनै ठाउँ पानी भित्र बसेर अनसन बसेको त कतै भ्यागुतोको बिहे गरेको, कहीँ हरहर महादेव भनेर जुलुल निकालेको आदि ।
हाम्रो देश कृषि प्रधान देश भएको हुनाले अधिकांश क्षेत्र आकाशे पानीको भरले खेतीपाती गर्ने चलन छ । फसल लगाउने बेला आकाशे पानीमा भरपर्नेहरूका लागि पानी परेन भने विभिन्न ठाउँमा आ-आफ्नो तरीकाले इन्द्र भगवानसँग पानी माग्ने चलन प्राचीनकालदेखि नै चल्दै आएको छ, यस्तै चलन प्रथा विश्वका थुप्रै देशहरूमा पनि विविध तरीकाले वर्षा गराउने प्रथा रहिआएको छ । यसबारेमा हाम्रो देशका विभिन्न क्षेत्र, जातिमा भएको प्रथालाई नियालौं ।
वर्षायाम पानी परेन भने काठमाडौंको बालाजुको छेउमा डुक्रने पानी नामको ठाउँ छ । वर्षा चाँडो नभए त्यहाँको ढुङ्गाको बसाहालाई स्थानिय कृषकहरूले नोलले खुब हिर्काउँछन् मात्र हैन उत्तानो समेत पार्छन् । यसरी कुटेर उत्तानो पारेको त्यो बसाहा राति उठेर डुक्रिन थाल्दछ र वर्षा हुन्छ भन्ने जनविश्वास छ । यस्तै भक्तपुरको चाँगुनारायण क्षेत्रका जनता पनि समयमा पानी परेन भने चाँगुनारायण थानको गरुडमूर्तिको मुखमा गोबर र हिलो माटो छ्याप्न थाल्छन् । बलले भ्याएसम्म नोलले गरुडलाई हिर्काउँछन् । यसरी जतिसक्दो बढी गरुडलाई कष्ट दिएपछि त्यस क्षेत्रमा वर्षा हुन्छ भन्ने विश्वास त्यस क्षेत्रका स्थानिय नेवार समूदायमा छ ।
![]() |
| त्रिचन्द्र प्रतीक्षा |
कतै कतै वर्षा गराउनका लागि पशुलाई कष्ट दिएर मार्ने चलन पनि छ । काठमाडौँको क्षेत्रपाटीमा घोप्टे गणेश नाउँका देवता छन् । तिनलाई वैशाख जेठतिर राँगाको बलि दिने चलन अद्यावधि छ । जिउँदो राँगाको गर्दनको छाला काडी मूल रक्तनली काटी घोप्टे गणेशको मूर्तिमा रगतका फोहरा लगाइन्छ ।
त्यो राँगो मरेको हुँदैन र त्यस कष्टले गर्दा राँगोले आँसुका धारा बगाइरहेको हुन्छ । राँगाले जति धेरै आँसु बगाउँछ त्यति धेरै वर्षा हुन्छ भन्ने विश्वास क्षेत्रपाटीतिरका नेवार बासिन्दाको छ । यसरी पशुलाई दुःख यातना दिएर गर्ने चलन/प्रथालाई केवल अन्धविश्वास र क्रुर व्यवहार मात्र भन्न सकिन्छ ।
अन्धविश्वास पशुका कुरा मात्र होइन मानिसलाई समेत कष्ट दिएर वर्षा गराउने चलन पनि हाम्रै देशमा रहेको पाइन्छ । कञ्चनपुर जिल्लाको दैजी गाविसका थारू जातिहरूले गाउँकै अध्यक्ष वा मुखियालाई पिट्दै घैलाका घैला पानी खन्याउने गर्दछन् । यसरी पिटेमा पानी पर्छ भन्ने विश्वास थारू समूदायमा छ ।
यस्तै अन्धविश्वासकै प्रथा भारतको उडिसा प्रदेशका खोंड जनजातिमा पनि छ । उनीहरूले पनि वर्षा गराउन पशुलाई नभै नरबलि दिने गर्दछन् । नरबलि दिंदा बलि दिइने मानिसलाई नेपालमा राँगालाई यातन दिएजस्तै गरी यातना दिएर मारिन्छ । त्यस्तो यातना दिँदा त्यो मानिसले जति धेरै आँसु बगाउँछ त्यति नै बढी पानी पर्छ भन्ने विश्वास छ । अब नरबलि प्रथामाथि प्रतिबन्ध लागेका कारण आजभोलि देख्न पाइँदैन ।
वर्षा गराउनका लागि हामीकहाँ मात्र नभै विश्वका थुप्रै देशहरूमा आ-आफ्नै रीतिअनुसार समयमा वर्षा नभएमा पूजाआजा गरेर स्वर्गका देवता इन्द्रसँग पानीको माग गर्ने गरिन्छ, आउनुहोस् अब कुन देशमा के कसरी वर्षा गराउनका लागि उपाय अपनाउँछन् जानिराखौँ ।

