शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, November 5, 2018

नेपाल संवत् र भ्रमभित्रको तथ्य

 
- त्रिचन्द्र प्रतीक्षा
नेपाल संवत्को प्रवर्तन उत्तर लिच्छविकालमा भएको हो । यो संवत्को प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वा हुन् । नेपाल संवत्को स्थापना निम्न समयकालमा भएको पाइन्छ : कलिगत संवत् ३९८०, विक्रम संवत् ९३६, इस्वी संवत् ८७९, शक संवत् ८०२, मानदेव संवत् ३०३ आदि । नेपालमा संवत् फेर्न मुलुकका तमाम ऋणीहरूको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो । यसै मान्यताअनुरूप शङ्खधरले मुलुकका तमाम ऋणीहरूको ऋण तिरी नेपाल संवत् चलाएका हुन् भन्ने भनाइ रहिआएको पाइन्छ ।

‘तत्कालीन व्यापारी शङ्खधर साख्वाले आफ्नो निजी सम्पत्तिबाट प्रजाहरूको ऋण तिरिदिएको र उनीहरूलाई ऋणमुक्त गरेपछि नेपाल संवत्को सुरुवात गरेको’ अधिकांश इतिहासविद्हरूले दाबी गरे पनि यसमा उनीहरूको राय एकमत छैन । यद्यपि, हामी सजिलै अनुमान गर्न सक्छौँ कि ‘शङ्खधर साख्वा’ ले केही राष्ट्रिय गौरव तथा स्वाभिमानको काम गरेकै हुनुपर्छ । प्रजाहरूको ऋण तिरिदिएकै कारण सामन्ती युगका राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित मानदेव संवत्लाई खुसुक्क प्रतिहरण गरी लुसुक्क नेपाल संवत् प्रचलनमा ल्याएको भन्ने कुरा विश्वास गर्न कठिन भने अवश्य छ ।

किंवदन्तीअनुसार ज्योतिषीहरूले शुभसाइतमा भद्रमती र विष्णुुमतीको दोभान लखुतीर्थ नाम गरेको नदीबाट बालुवा झिकेर ल्याए त्यो बालुवा सुनमा परिणात हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए । सोहीबमोजिम राजा आनन्ददेवले शुभसाइतमा बालुवा झिक्न भरियाहरूलाई पठाएका थिए । तर, शुभसाइतमा भरियाहरूले ल्याएको बालुवा उनै व्यापारी साख्वाले भरियाहरूलाई फकाई उनीहरूलाई केही पैसा दिएर आफ्नो घरमा खन्याउन लगाएर राजाका लागि पुनः बालुवा ल्याउन लगाए । नदीबाट निकालिएको बालुवा भोलिपल्ट हेर्दा सुनमा परिणात भएको र त्यही सुनबाट शङ्खधर साख्वाले नेपाली जनताको ऋण चुक्ता गरेको विश्वास गरिन्छ । ज्योतिषीहरूको भविष्यवाणीअनुसार चार दिनपछि सो बालुवा सुनमा परिणत भएको र शङ्खधरले त्यो सुनबाट लोकको कल्याण गर्न भन्दै कान्तिपुर र भादगाउँका जनताको ऋणमोचन गरिदिएको विश्वास गरिएको छ । त्यसपछि राजाको अनुमति लिएर शङ्खधरले नेपाल संवत् पनि सुरु गर्न सफल भएको इतिहासविद्हरू बताउँछन् ।
त्रिचन्द्र प्रतीक्षा

इतिहासकार बाबुराम आचार्यले यस कथामा आधारित नेपाल संवत्को इतिहासलाई अस्वीकार गर्नुभएको छ । नयाँ राजवंशको उत्थान भएको स्मारकस्वरूप नै राघवदेवले ‘पशुपतिभट्टारकसंवत’ को नामले नयाँ राष्ट्रिय संवत्को प्रचलन आरम्भ गरेको र यही संवत् नै अचेल नेपाल संवत्को नामले प्रसिद्ध रहेको मान्यता उहाँको छ ।
नेपाल संवत्ले चन्द्रशमशेरको शासनकाल विसं १९६० अघिसम्म नेपालको सरकारी कामकाजको भाषाका रूपमा राष्ट्रिय संवत्को मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशी बताउनुहुन्छ । उहाँका अनुसार, 'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणा शासनसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।'
प्रारम्भमा नेपाल संवत्को प्रचलन छिमेकी राष्ट्र भारतमा पनि थियो । भारतको आसाम कुच विहारका राजा प्राणनारायणले पनि नेपाल संवत् अङ्कित मुद्रा निकालेका थिए । राजा प्रतापसिंह शाहको पालामा ल्हासासित भएको सन्धिपत्रमा नेसं ५३५ उल्लेख गरिएको छ ।

नेपाल संवत् स्थापनाबारे राजभोगमाला वंशावली, केशर पुस्तकालय वंशावली आदिमा लेखिएको बेहोराबाट के थाहा हुन्छ भने लिच्छवि राजा राघवदेवको राज्यकालमा भक्तपुरका शासक आनन्ददेव प्रथमले काठमाडौँको लुँखु तीर्थ (लु ! सुन, खु ! खोल्सो, काठमाडौँ कङ्केश्वरी स्थानपारि विष्णुमतीको पश्चिमी किनारमा स्वयम्भूतिरबाट मिल्न आउने स्वर्णावती भनिने तत्कालीन सहायक नदीको दोभान) बाट ज्योतिषीले तोकिदिएको साइतभित्र ठीक पारेर बालुवा झिकेर ल्याउन भरिया पठाएका थिए । भक्तपुरे भरिया स्वर्णावती (लुँखु, हाल अप्रभंश भएर लखु पनि भनिने गरिन्छ) खोलाबाट झिकिएको बालुवाको भारी विष्णुमतीको पूर्वी किनारस्थित (आजकाल कङ्केश्वरी मन्दिरको दक्षिणतिर झोलुङ्गे पुलछेउमा भत्किएको) पाटीमा बिसाएर बसिरहेका बेला त्यसै ठाउँका शङ्खधरले भरियासँग उक्त बालुवा किने । सुन मिसिएको बालुवाबाट सुन बटुलेर धनी भएका शङ्खधरले पछि राजा राघवदेवको हुकुमद्वारा जनताका सबै ऋण तिरी नेपाल संवत् चलाउन लगाए ।

यी भनाइलाई पूर्ण रूपमा मिथ्या भएको कुरा केही इतिहासकार र लेखकहरूले लेखेका छन् । जस्तै इतिहासकार केबी उदय (२०६४ कात्तिक २७ गते गोरखापत्रमा) ले लेखेका छन्, 'राजा राघवदेवको समयमा शङ्खधर भन्ने पुँजीवाल काठमाडौँमा थिए भन्ने प्रमाण छैन ।' म्हःपूजाकै अवसरमा यो संवत् उठान भएकाले नेवार समुदायहरूले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउनु स्वागतयोग्य छ । यो संवत् सबै नेपालीको साझा हो । यस संवत्लाई जातीय संवत्का रूपमा मात्र लिनुहुन्न । अझ बालुवाको विषयमा तत्कालीन नेकपा (एमाले) का नेता प्रदीप नेपालले (गोरखापत्र २०६६ कात्तिक १२ गते) लेखेका छन्, 'नेपाल संवत्लाई सबै भाषाभाषीका लागि सुपाच्य बनाउन सकिएको छैन । नेपाल संवत्को तिथिमितिको गणना पनि समस्या हो । तीन सय ६५ दिनको कुनै रातमा पनि बालुवा सुनमा परिणत हुँदैन । मध्यरातमा झिकिएको बालुवा बिहान उज्यालो हुनासाथ सुनमा परिणत भयो भन्ने कथा अपत्यारिलो र आधारहीन बन्न पुग्छ । भाषा र संवत् सैद्धान्तिक बहसका विषय होइनन् । तिनको व्यावहारिक प्रयोग विज्ञानसम्मत हुनुपर्छ ।'

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् देशका प्रधानमन्त्रीले समेत नेपाल संवत्मा नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिने प्रचलनको सुरुवात भयो । विसं २०५७ मङ्सिर २ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वालाई चौधौँ राष्ट्रिय विभूति घोषणा गर्यो ।

यस्तै, नेपाल संवत् ११२४ शुभारम्भका दिन (विसं २०६० कात्तिक ९ गते) सम्मान स्वरूप हुलाक सेवा विभागले उनको चित्र अङ्कित रु. ५ को हुलाक टिकटको प्रकाशनसमेत गर्यो । चन्द्रशमशेरले नेपाल संवत्लाई प्रतिबन्ध लगाएर बन्द गरेको ठीक एक सय वर्षपछि राष्ट्रिय मान्यता पाउनु आफैँमा ऐतिहासिक भएको मान्नुपर्दछ ।
चाहे नेपाल संवत् होस् वा विक्रम, दुवै राष्ट्रिय संवत् हुन् । विश्वमा नेपाल राष्ट्रको अलग पहिचान दिने यहाँ अनेक मौलिक कला संस्कृतिहरू छन् । त्यसको जगेर्ना गर्न सक्नु राष्ट्रको दायित्व हो । तर पनि नेपाल संवत् नेवारको मात्र हो भन्ने जुन धारणा वा मानसिकता छ, त्यसलाई हटाउनु जरुरी छ । संवत्जस्तो अति संवेदनशील कुरामा पनि सरकार गम्भीर हुन नसक्नु विडम्बनाको विषय हो ।
-गोरखापत्र दैनिक, कार्तिक १९, २०७५ मा प्रकाशित 

No comments:

Post a Comment