उषा के.सी.को दोस्रो कृति मुक्तकसङ्ग्रह ’माकुरी’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले के.सी.को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कोनेले नेपाली मुक्तक क्षेत्रको विषयमा चर्चा गरे । कोनेले एक मुक्तकले एक महाकाव्य बोल्न सक्ने क्षमता राख्नुपर्ने बताए । पत्रकार तथा साहित्यकार राजन कार्कीले ’माकुरी’ कृतिका मुक्तक बाचनगरि लेखक के.सी.को लेखन यात्राका लागि शुभकामना व्यक्त गरे । आमाको नाममा कृति निकाल्नु हरेक आमाहरूका लागि सुखद कार्य भएको पनि कार्कीले बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले के.सी.को दोस्रो मुक्तक मुक्तकसङ्ग्रह निकै खारिएर आएको बताए । उनी साहित्य क्षेत्रमा जति मेहेनत गरिरहेकी छन् अन्य क्षेत्रमा समेत उतिकै मेहेनत गर्ने सर्जकका रूपमा आफूले नेपाल–भारत साहित्य महोत्सव आयोजना गर्दा नै थाहा पाएको बताए । कृतिको बारे बोल्दै प्रधानले माकुरी कृतिमा आम आमाहरूको आवाजमात्र नभइ समाज र देश पनि उत्तिकै ससक्त रूपमा मुक्तकमा बुलन्द बनेर आएको बताए ।
कृतिको समिक्षा वरिष्ठ समालोचक डा. गोविन्दमान सिंह कार्कीले गरेका थिए । समालोचक कार्कीले माकुरी कृति भित्रका मुक्तकका विविध पक्ष केलाएका थिए भने कृति संग्रहणीय रहेको बताए । कार्यक्रममा डा. दामोदर पुडाशैनी किशोरले माकुरी मुक्तक कृति जस्ता थुप्रै आमाहरूका आवाज अबका साहित्यले बुलन्द गर्नुपर्ने बताए । स्रष्टा समाजका अध्यक्ष पवन आलोकले लेखक के.सी.लाई तेस्रो कृति समेत आमाकै हातबाट लोकार्पण गर्ने अवशर मिलोस् भनि शुभकामना दिए । कार्यक्रममा मुक्तककार निशा के.सी र शान्ती शर्माले माकुरी कृतिका मुक्तकहरू वाचन गरेका थिए ।
