-त्रिचन्द्र प्रतीक्षा
झण्डा शब्दको अर्थ नेपाली बृहत शब्दकोशमा ‘डन्डाको टुप्पामा जडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिन्ह अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो परिचायक चिन्ह, ध्वजा, पताका’ भनेर उल्लेख गरिएको छ ।
संसारमा पहिलो झण्डा कुनै देश, प्रदेश वा सेनाको थिएन । त्यो समयमा केवल झण्डाको प्रयोग दुष्टआत्मा र भूतप्रेतबाट बच्नका लागि प्रयोग गरिएको थियो । मानिसहरुले आफ्नो घरको छतमा बाँसको माथिल्लो भागमा रंगीन कपडाहरुको विशेष आकार प्रकार र रुपरङ्ग अर्थात् जसमा डरलाग्दो जनावरको मुखाकृत वा गाउँका पण्डित पुरोहितले भनेको कुनै निशान छाप लेखेर फहराइन्थ्यो ।
गाउँमा हुने चाडपर्व वा मेला लाग्दा पनि यस्तै झण्डा मुनी मानिसहरु भेला हुने गर्दथे । झण्डामा रहेको आकृति देखेर दुष्टात्माहरु र भूतप्रेत डराएर भाग्दछ भन्ने जनविश्वास थियो ।
![]() |
| -त्रिचन्द्र प्रतीक्षा |
ईशापूर्व पाँच शताब्दी पहिले चीनमा झण्डा आकारमा ड्रागनको चित्र बनाइएको थियो । उक्त झण्डा फहराउँदा ड्रागन आफ्नो लामो जिब्रो लप्काउँदै अगाडि बढेको जस्तो देखिन्थ्यो । चिनियाँहरुलाई के विश्वास थियो भने यसलाई देखेर शुत्र डराएर भाग्नेछन् ।
विभिन्न स्थानका मानिसहरुले कपडामा फरक फरक आकृति प्रयोग गर्दथे, तिनै आकृति क्रमशः त्यो गाउँ, ठाउँ वा प्रदेशको प्रतीक बन्न पुगे । यसरी विभिन्न राष्ट्रका झण्डा लोकप्रिय हुँदै गए । इस्वी संवत्को १०औँ शताब्दीसम्म विभिन्न राष्ट्र र ती देशका सेनाको विभिन्न आकार प्रकारको झण्डा बनाइएको थियो । यस्तो झण्डा विशेषगरी युद्ध मैदानमा सेनापति र राजा दुवैको प्रयोग गर्दथे ।
कुनै लडाइँमा सहभागी हुनका लागि सेनापतिको झण्डा सैनिक जत्थाको अघिअघि हुने गर्दथ्यो भने राजाको झण्डा सैनिकको बीचमा । राजाको झण्डालाई एकदम सुरक्षित तवरले प्रयोग गरिन्थ्यो, कुनै पनि मूल्यमा उक्त झण्डा भूइँमा खस्न दिइँदैन थियो । राजाको झण्डा झर्नु, खस्नु भनेको सेनाको पराजय भएको मानिन्थ्यो ।

