शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, April 26, 2024

विमला प्रधान जोशीका दुई कविता

  

 
फेरि निःशब्द

हिँडिएको गोरेटोलाई
पछि फर्कि हेरुँ भन्छु
भोगिएको जिन्दगीलाई
घाउहरुको खाटालाई
नमेटिएको तिर्खालाई
भन्न खोजेका मनका
हजार तर्क बितर्कहरु
तिम्रो अघि-----
बसेकी छु तिम्रो सामु
तिम्रो आँखाको उज्यालोमा
तर किन तिरमिर हुन्छ मेरो नजर
तिख्खर घाममा ऐना टल्किए झेैं ।
निःशब्द मेरो मौन आवाजहरु
जलिरहेछु
पग्लिरहेछु
तिम्रो आँखाको उज्यालोहरुमा
मेरो जलनको पीडा
मेरो भोगाइको दर्द
उज्यालो मात्रै खोज्नेहरुलाई
के थाह?
थोपा थोपा गर्दै जलेर
सकिनुको व्यथा
न्यानो मात्रै खोज्नेहरुलाई
के थाह?
निःशब्दका आकार अनि
प्रकारहरु ।

*********************

इन्दिरा गौतमका दुई लघुकथा

   

  

हतार
बिहानको समय सधैँ हतारको हतार । छोरा छोरी स्कुल जाने, बुढाको डिउटी । आठ बजेसम्ममा खाना पाकिसक्नु पर्ने। आज त रातभरि पानी परेकोले बिहान अबेरसम्म सुतिएछ । शनिबारको दिन छ । एकाबिहानै बजार नगएसम्म ताजा सागसब्जी नै पाइँदैन।
 
हलिदाइले झिसमिसेमा गोरु नारेर बारिसम्म लगिसकेछन् । उनलाई चिया खाजा पु-याउनुपर्ने । कामको चटारो सम्झिदै खरेटो बोकेर तघारो उघारेँ । सपना हाम्रो घरतिर आउँदैरहिछन् ।
 
"कतासम्म हौ एकाबिहानै ?" 
"ए दिदी ! हिजो कल्पना माइजू तपाईंलाई खोज्दै आउनु भएको थियो । आज उहाँको शनिबारको ब्रतको साङ्गे अरे! चढाउने प्रसाद सेलरोटी हजुरले बनाउनु पर्ने अरे ! फोन गर्नुभन्दा भेटेरै भन्न आउनु भएको थियो । तपाईंलाई नभेट्दा मलाई समाचार छोडेर जानु भयो।"
 
"तिमी र मसँगै जानुपर्छ है?"
"म त अहिले भ्याउँदिन । आज एकादशीको व्रत पनि छ। घरको पूजाआजा गर्नुपर्दछ। तपाईं जाँदै गर्नु नि ।"
समयभन्दा छिटो दौडेर एक बाल्टिन पानी खन्याएर हली र घरकालाई जसोतसो नास्ता खुवाएँ । सधैँको कुर्था लगाउने बानीलाई पन्साउँदै पवित्र पूजाआजामा लगाउने पहेँलो साडी लगाएँ । हाँगाभरि लटरम्मै नुहेका फूलका थुँगा टिपेँ । हिजो मात्रै पाकेका मेवा बोटमा देखेकी थिएँ । त्योसँग घरमा एक पल्ट मात्र चिया खाने दुध राखेर सबै बोकेँ।
 
स्कुलबाट सिधैं उतै पूजातिरै जानको लागि छोराछोरीलाई आग्रह गर्दै टमटममा चढेँ। मलाई भन्दा टमटम वालालाई झन हतार रहेछ । उसले बिजुली गतिमा कल्पना माइजूको आँगनमा पु-यायो। मामा हतारमा तगारो खोल्दै "बोल्न भ्याइन है" भन्दै निस्कनुभयो ।
 
मैले सोधेँ, "आज पनि ड्यूटी छ मामा ?"
"हैन ! पहिल्यै सकिने मेट्रिक परीक्षा आज एप्रिलफुल कै दिनमा पारेको छ। खै के भन्नु" ?
 
माइजूले मेरो हातमा भएको झोला देखेर छक्क पर्दै भन्नु भयो, ए… भाञ्जी‍!" अरु के के भन्नुभयो राम्रो बुझिनँ तर उहाँ डल्लो परेर हाँस्न थालेपछि मात्रै एप्रिलफुल भन्ने थाहा लाग्यो।

********************

Thursday, April 25, 2024

कविता संसार मासिक अङ्क ९ (सम्पादकीय)

नयाँ वर्षको नयाँ संकल्प

हरेक नयाँ वर्षले एउटा उमङ्ग र उत्साह बोकेर ल्याएको हुन्छ । जसले सदैव अघि बढ्न हौसला प्रदान गर्दछ । यिनै खुसीले होस्टेमा हैसें गर्न उत्प्रेरणा जगाउँदछ । यसका लागि लगन, मेहनत र परिश्रमले त्यो उद्देश्य पूरा गर्न सकिन्छ । त्यसैले महाकवि देवकोटाले भनेका छन् 'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक'

मानवले जब चन्द्रमामा पाइला टेके, सदियौंदेखि त्यो सपना पनि साकार भयो । त्यहाँ हुने विभिन्न खोज एउटा नौलो विषय हुने गरेको छ । अन्तरिक्ष पर्यटकहरु पनि आज त्यहाँ पुग्न लालयित देखिन्छन् । मानवको आकर्षण जे जस्तोमा पनि बढ्दै गइरहेको छ । अतः त्यहाँको भम्रणलाई एउटा नयाँ अवसरको रुपमा आत्मसाथ गरेको पाइन्छ ।

आफ्नो वाचा र उद्देश्य पूरा गर्न नयाँ संकल्पको खाँचो पर्छ । यिनै यथार्थतालाई शक्तिमा बदल्न सदैव अग्रसर हुनुपर्छ । हुन त नयाँ सोच र उत्साहले हरेक दिनलाई घच्घच्याइरहेको हुन्छ ।

अन्त्यमा, कविता संसार यहाँसम्म पुग्न जुन सफलता आज मिलेको छ । त्यो सबै शुभचिन्तकहरुले होस्टेमा हैंसे गर्नाको प्रतिफल हो । यस अङ्कदेखि हिन्दी भाषाको स्तम्भ थपेका छौं । अतः नयाँ वर्ष २०८१ को उपलक्ष्यमा समस्त पाठकलगायत शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

अङ्क ९ पढ्न र डाउनलोड गर्नका लागि


....साथ सहयोगको खाँचो

Friday, April 19, 2024

नानु राना थापाका कविता

 

फरक यत्ति हो भाइ तिमी र ममा


म जेठो छोरा र तिमी घरको कान्छो छोरा तिमीले किताबको झोला बोक्यौ मैले बोरा
जेठो छोरा भएकोले बाबा र आमाको दु:ख देखें र सकि नसकि चुहिएको छानाको घामपानी छेकें समयभन्दा अगाडि नै वाध्यता र कर्तव्यको घनले हान्यो र यसरी आजको यो आकारमा ढाल्यो मलाई तिमी मालिक बन्यौ म गुलाम बनें परदेशमा फरक यत्ति हो मेरो भाइ तिमी र ममा मैले मेरो कर्तव्य देखें तिमीले अधिकार देख्यौ बाको दु:ख देखें तिमीले यसैलाई भार देख्यौ हो तिमीले औपचारिक शिक्षा लियौ मैले व्यवहारिक ज्ञान पाएँ पढेर ज्ञान र प्रमाणपत्र लियौ तर मैले अनुभव र आत्मसम्मान पाएँ तिमी भावनाको कुरा गर्छौ म यथार्थपरक बस मेरो भाइ तिमी र ममा यत्ति हो फरक तिमी अरूलाई आफू राम्रो देखाउन केही गर्छौ म आफूभन्दा आफ्नोलाई राम्रो बनाउन केही गर्छु तिमीले आफैलाई विद्वान भनेर स्वघोषित गर्छौ संवेदना, भावना र समाजसेवा भनेर परिभाषित गर्छौ तिमीले त्यति धेरै पढेर पनि कहिल्यै बोध गरेनौ मेरो भावना र संवेदना केही बुझेनौ सधैं मैले सम्झें आफन्त दिदीबहिनी र भाइ कमाउने भएपछि सम्झियौ सबैलाई पराई वचनको तिखो वाणले छातीमा रोपेका छौ त्यतिले नपुगेर त्यहीँ घाउमा नुनचुक छरेका छौ धन सम्पत्ति र प्रमाणपत्रको घमण्ड गरेका छौ हामीबाट दिन प्रतिदिन टाढा- टाढा सरेका छौ तिमीलाई आज अहँकारले छोपेको छ अनि घमण्डको बादलले ढाकेको छ आफ्नो छातीमा हात र आत्मालाई साक्षी राखेर मात्र एक फेर म याने कि दाइ भएर सोची हेर मैले मेरो भविष्य हैन, भाइबहिनीको हेरें आफ्ना आकांक्षाहरूलाई निमोठोर सेरें सायद मेरो यहीँ थियो होला मुख्य गल्ती दिएँ तिम्रो लागि बनाएर खाली मेरो खल्ती तिमी केवल ‘म’ भएर एकवचनमा बाच्यौ म सधैंभरि ‘हामी’ भएर बहुवचनमा बाँचेँ जस्तै धेरै फरक छ आकाश र जमीनमा फरक यत्ति हो मेरो भाइ तिमी र ममा मेरो भविष्य सुनिश्चित नगर्नु मेरै गल्ती भयो सायद म ‘म’भएर नबाँच्नु मेरो महाभूल भयो भाइ भनेर विश्वास गर्नु नै धेरै गल्ती भयो तिम्रो वचन मेरो मुटुमा आज शूल भयो फरक यत्ति हो मेरो भाइ तिमी र ममा कोख एउटै हो काख एउटै बाबा र आमा ! तर पनि धेरै …फरक छ म र तिमीमा तिमी पढेलेखेका छौ म औपचारिक शिक्षाबाट वञ्चित छु तिमी युवा छौ, म समय र दु:खले पाकेको छु तिमीसित जोस जाँगर छ, म थाकेको छु हो मेरो भाइ धेरै फरक छ तिमी र ममा तिमीले भने जस्तै धेरै भिन्नता छ तिमी र ममा ।
-हालः काठमाडौँ 


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com