शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label Saturday literature. Show all posts
Showing posts with label Saturday literature. Show all posts

Friday, July 11, 2025

भूमिका गैरे तिमिल्सिनाका तीन लघुकथा

 


धर्म                      

"ए लौ न,गाडीले मान्छे हान्यो ।आत्तिएको स्वरमा सुरेश कराए ।

बिहानीको समय सुरेश चोकतिर निस्केका थिए । आँखै अगाडि भएको दुर्घटना देखेर उनी त्यतैतिर दौडिए । मान्छेको भिड जम्मा भयो ।

"को मान्छे रहेछ ? कस्लाई हो हानेको ? स्थिति कस्तो छ ?"  भिडबाट आवाज आयो ।

"बुढी आमा बाटो काट्न लागेकी थिइन रे ! गाडी पनि कति तीब्र गतिले चलाएको हो कुन्नि ?
बाटोभरि रगतै रगत छ । अब पुलिसलाई फोन गर्नु पर्यो ।" भिडबाट अर्को आवाज आयो ।

भिडका मान्छे सबै रमिते बनेका थिए । सबैलाई फोटो खिच्न मात्र हतारो देखेपछि सुरेशले भने
"तुरुन्तै अस्पताल पुर्याउन पाए बाँच्थिन् कि ?"

भिडबाट कसैले भन्यो,  "लाँदा लाँदै बाटोमा केही हुने हो कि ? घरपरिवार को हुन् ?  केही थाहा छैन । पछि अप्ठ्यारो पर्ने पो हो कि ? फेरि पैसा पनि खल्तीमा छैन । पुलिसलाई खबर गरौँ ।"

सुरेश अघि सरे र भने,  "घाइते मर्न आटिसक्यो । पहिला अस्पताल लैजाऔँ । बाँकी कुरा पछि गरौंला।" उनले नै एम्बुलेन्स बोलाए । पुलिस पनि त्यतिखेरै आइपुगे । पुलिसले एम्बुलेन्सभित्र घाइतेलाई राख्यो र अस्पतालतिर दौडायो ।

अवस्थाको मूल्याङ्कन गर्दै सुरेशले मनमनै सोचे,  "आजकलका मानिसहरू मानवीय धर्मभन्दा पनि प्रचारबाजीमा बढी रमाउने भएका किन होला ?"


लत                      

खुट्टा लर्बराउँदै घरमा छिरेको लोग्नेलाई देखेर स्वास्नीले आक्रोश पोखी, "हैन, कति खान सकेको हो, यो झोल पनि ? लबस्तरोले दिउँसै धोकेर पो मरेछ । छि ! कसैले देखेभने नि के भन्लान् ?"

उसले ठाडै जवाफ दियो,  "हैन, खाएँ त आफ्नै बाउको खाएँ । तलाई के को टाउको दुख्यो हँ ?"

सम्झाउने लवजमा ऊ बोली, "घरमा जवान छोरी, बिहेको लायक भाकी छे ! उसको मनोविज्ञानमाकस्तो असर पर्ला ? अलिकति पनि सोच्नु पर्दैन ?"

ऊ दलानमै डङ्ग्रङ्ग लडेर बर्बरायो,  "घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन । के गर्नु ?"

"तिम्रो चालामाल देखेर छोरी बाहिर निस्किन पनि मान्न छाडिसकी । बाहिर निस्कियो कि जड्याहाको छोरी भन्छन् रे ! घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै हाड घोट्नु पर्ने भयो । हरे ! मेरो भाग्य !"  ऊ गनगनाउन थाली ।

ऊ जुरूक्क उठ्यो र ठूलो स्वर गर्यो,  "नाथे, त्यसै ठूली भएकी छे ! खान, लाउन पाकै छस् क्यारे !तिमीहरुलाई सबै चिज पुर्याएकै छु । त्यसै जान्ने हुँदिरहिछे बडा !"

उसले उदास स्वरमा भनी,  "कोही माग्न आए भने पनि तपाईंको यो लतले छोरीको विवाहमा वाधा पुर्याउँछ कि भनेर अत्यास लागेको छ । आफ्नो जिम्मेवारी त बुझ्नु पर्यो नि !"

ऊ जङ्गियो, "अरुका स्वास्नीले लोग्नेलाई कति माया गर्छन् । तँ एउटी चाहिँ मलाई देख्यो कि बिग्रिएको रेडियोझै जतिखेर पनि क्यारक्यार क्यारक्यार गर्न जान्या छेस् । होइन ?"

राम काका कराउँदै प्रवेश गरे,  "हैन, बाहिरै बसेर जोईपोइ के को गन्थन हो ? छोरीलाई केटोको कुरो लिएर म आएको, बिहे गर्ने हो नि ? के छ, बिचार ?"

उसले आत्तिदै सोधी,  "काका, केटाको रक्सी पिउने लत त छैन नि ? अलि राम्रोसँग बुझ्नू है !"

Friday, July 4, 2025

डा. नवराज न्यौपानेका तीन कविता

 


जुट्नु र छुट्नु



चढ्दो जवानीसँगै
बढेका नातासम्बन्धहरू
ढल्दो जवानीसँगै
एक एक गर्दै
टुट्दै जान्छन् ।

 

मासका कोसाझैँ
प्वाट्ट फुटेपछि
टाँसिएका गेडाहरू
आ-आफ्नै बाटो लाग्छन् ।

 

मक्ख पर्छौ किन जुटेकामा ?
बिलौना गर्छौ किन छुटेकामा ?

 

जुट्नु र छुट्नु त
हो एउटा
संयोग मात्रै ... !

 

विषमता 


सुकुमारी चुचुराहरू
उषाको उठानमा
भर्खरै नुहाएर
प्रज्ज्वलित कान्तियुक्त
अद्वितीय मुस्कान छाड्छन् !

 

कुप्रा खोँचहरू
अभिशप्त वर्तमानबिच
वर्तमानमै तुहाउँछन
भविष्यको गर्भ

सुक्सुकाउँछन्
सेतो पछ्यौरीभित्र !

 

रविरश्मिको पहिलो केन्द्र
शिखरमै छ युगौँदेखि
माथिकाहरूले
खोँचमा हेरेको इतिहास छैन् !


Friday, April 4, 2025

निर्मलरमण पराजुलीका तीन कविता


बागमती विष्णुमती ...


प्रकृति स्वच्छ राखौ जुटौ आजै सङ्कल्प बोकेर मनमा बागमती विष्णुमती सफा रहे पवित्र हुन्छ घर आँगन हे ! कान्तिपुरी नगरी तिम्रा पवित्र जल धारहरू हुन् यिनै तिम्रा सुन्दर कल कल गर्ने मोतीका हारहरू हुन् यिनै यिनैका जलले हाम्रो प्राण सञ्चार गराउँछन् आराध्यदेव भगवान् यिनै नदीहरूमा नुहाउँछन् यस्ता पवित्र तिर्थस्थल नदीहरूमा मलमूत्र बगिरहेछ छि छि कस्तो लाज मर्नु भो हामीलाई धिक्कार छ देवर्षी महर्षी ज्ञानीहरूले तपस्या गरे यहाँ कति कति लिए अखण्ड भक्ति ज्ञान यिनै नदीहरूका तीरमा बसी लागौं अब सरसफाईतिर कत्ति पनि ढिला नगरी हाम्रा लागि यिनै नदीहरू हुन् गंगा यमुना काबेरी आजीवन हामीले बागमती विष्णुमतीको गाथा गाउँ अन्त्यमा ब्रह्मनालमा सुत्दा यिनैको जल पिउन पाउँ हाम्रो निश्चल निस्कपट आस्था श्रद्धा छ मनभरि स्वर्गभन्दा पनि पवित्र छ हाम्रो कान्तिपुरी नगरी यिनैका छेउमा रोपौं फलफूल बिरुवा खाली ठाउँ नराखी कतै अनि बाचौं हासौं स्वस्थ भई स्वच्छ वातावरणमा मजासितै नदी र नगर प्रदूषित बन्दा वातावरण र मन स्वच्छ हुन्न यसैको परिणाम, हामी सबैको दीर्घरोगी बन्दछ जीवन सत्कर्मले मानिस महान बन्दछ बागमती विष्णुमती राखौं मनमा अनिमात्र सत्य धर्म-संस्कृति सु-संस्कार भित्रिन्छ हाम्रो घर-आँगनमा यी जलाशय जननी बागमती, विष्णुमती, सरिता, सुधा, लतामती यिनैका निर्मल आशिर्वादले स्वस्थ्य सम्बृद्धि बन्दछन् हाम्रा सन्तति ...!!! ***************

Friday, March 21, 2025

अरूणबहादुर खत्री 'नदी'का तीन लघुकथा


 

विमोचन कार्यक्रम

साहित्यकार रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई लगेर देखायो र भूमिका लेख्न आग्रह गरेर आफ्नो कथा सङ्ग्रह प्रकाशित गर्‍यो अनि विमोचनको कार्यक्रममा उसको कृतिको चर्चाका लागि उसले एकजना मन्त्रीलाई गएर भेटेर भन्यो – “हजुरले मेरो कथासङ्ग्रहको प्रमुख अतिथि बनेर विमोचन गरिदिनु पर्‍यो !” 

मन्त्रीले  "म तपाईंहरू जस्तो कथा कविता लेख्ने साहित्यकार परिन तपाईंले आफ्नो कथा सङ्ग्रहको निम्ति वरिष्ठ साहित्यकारलाई भेटेर यो कुरा भन्नुभएमा धेरै राम्रो हुने थियो” भने । 

“हजुर मन्त्री हुनु भएकोले विमोचन गरिदिनु भयो भने विभिन्न ठाउँबाट टेलिभिजनहरू आएर हाम्रो कार्यक्रम खिंचेर समाचारमा देख्न पाइन्थ्यो” कृतिका लेखक रामप्रसादले भने ।

“तपाईंले वरिष्ठ साहित्यकारलाई आफ्नो पुस्तकको विमोचन गराउन बोलाउनु भयो भने पनि टेलिभिजन आएर खिंचिहाल्छन् नि !” मन्त्रीले भने ।

“अहिले राजनीतिक द्वन्द्व चलेको युगमा देशका राजनीतिक व्यक्तिहरूको कार्यक्रममा मात्र टेलिभिजनहरू पुगेको हामीले देखेका छौंं” कृतिका लेखक रामप्रसादले भने पछि मन्त्रीले विमोचन गर्न स्वीकार गरे । तर विमोचन कार्यक्रममा कार्यव्यस्तता भन्दै मन्त्री आएनन् र टेलिभिजन क्यामरा पनि देखिएनन् । विमोचन एक जना वृद्ध साहित्यकारका हातबाट नै भयो । यसको खबर कतै पनि प्रकाशित प्रचारित नभएको देखेर लेखक रामप्रसाद पुर्पुरोमा हात राखेर झोक्रिए !

Friday, March 7, 2025

प्रार्थना खनाल जोशीका तीन लघुकथा



शिवरात्रि

"केटाकोटी हो ! आज हामी हिन्दूहरूको ठूलो धार्मिक दिन हो, सबै केटाकेटीले नुहाई सफा लुगा लगाएर शिव भगवानको नाउँमा धुप बाली पूजा अर्चना गर ।" हजुरआमाले नातिनातिनालाई भन्नुभयो । सबै केटाकेटीले हजुरआमाले भनेको मानेर “हस्“ भन्दै सनातनीय कर्ममा लागे । यत्तिकैमा "अलक" भन्दै जोगी बहिर ढोकामा उभिए। हजुरआमाले "बनाएका नैवेध्य भगवानलाई छुट्याएर जोगीलाई खान दिनु”, भनी बुहारीलाई अह्राउनुभयो । कान्छो नातिले, "सधैँ आउँदा जोगीलाई चामल र पैसा दिएपुग्थ्यो, आज चाहिँ किन मीठो नैवेद्यको परिकार नि?” सोध्यो। "आज आउने व्यक्ति भगवानको रूपमा आउँछन् नाति,” हजुरआमाले भन्नुभो । कान्छो नातिले मजाक गर्दै, "हजुरआमा म पनि कतै आफन्तकोमा जानुप-यो मलाई पनि भगवान भनेर मीठो खान देलान् नि !” "हा..हा..!” सबै हॉसे । "आज मन्दिर जानुपर्छ" भन्दै बुहारीले हजुरआमा माझ प्रस्ताव राखिन् ।
हजुरआमाले बुझाएर बुहारीलाई भन्नुभो, "हेर, शिव प्राप्तिका लागि हृदयभित्रको परमात्मालाई ध्यानस्थ भई प्राप्त गर्ने हो । मन्दिर जाने भनेको त हातमा भएको हिरालाई फालेर रूखको फल टिप्नु जस्तो हो बुझ्यौ !” ************

Friday, February 21, 2025

नैना सुब्बा बराईलीका तीन कविता


 

सूनको प्यालाभरिको विष

खै ! कस्तो दुनियाँ यो ? घरभित्र पनि त्रस्त घर बाहिर पनि त्रस्त यहाँ आफ्नै छायाँको पनि विश्वास हुँदैन यहाँ आफ्नै मायाको पनि भरोसा हुँदैन, यहाँ शंकै शंकामा हात मिलाउनु पर्छ यहाँ प्रतिदिन आफैलाई विष पिलाउनु पर्छ, यहाँ कि त भाग्दै हिँड्नु पर्छ कित त प्राण हत्केलामा राख्दै जिउनु पर्छ किन कि हामी आजको दुनियाँमा छौं, जो आफै चर्किँदै गएको आफै तोडिँदै गएको आफै मक्किदै गएको बारुदले छिया छिया यो जीर्ण भग्नावशेष जो आफ्नै नङ्ग्राले अनुहार चिथोर्दै कुरूप र विभत्स छ, दर्पणमा आफ्नै रक्ताम्मे अनुहार हेर्दै तर्सिरहेछ मानौ गान्धारीको श्रापले यो श्रापित छ । कस्तो सृजना यो निरर्थक ? कस्तो उपलब्धि यो विनाशक ? हो, यो दुनिया आफ्नै लाश बोकेर श्मसान कुरिरहेछ कस्तो निर्माण र आविष्कार यो ? यतै चित्कार उतै चित्कार सन्त्रास र भय चारैदिशा ह्वास्स ह्वास्स रगत गनाउँछ जलमा, थलमा, नभमा मानवता जलेको धुवाँले आकाश ढड्याम्म ढाकेको छ खोरैबाट परेवाहरू गिद्दले लुछिरहेछ लेबानन, इरान, सिरिया, युक्रेन इजरायल, यमन र कता कता व्याप्त आर्तनाद सुनेर पनि भगवान् यहाँ असहाय छ मान्छेको वधशाला अघि बुद्ध अवाक छ, यस्तो लाग्छ अब यहाँ मुटु बिनाको मान्छे जन्मिन थाले छि: कस्तो व्यूह रचना यो ? कस्तो पागलपन यो ? मान्छेले मान्छे मार्नलाई अरबौं सम्पति दाउमा, व्यूह रचना त तोड्नलाई होइन जोड्नलाई हुनु पर्ने दूरत्व मेट्नलाई हुनपर्ने प्रेम र सद्भावले समेट्नलाई हुनपर्ने | यसैले म यो युगलाई घृणा गर्छु यो सूनको प्यालाभरिको विष हो यो मानवताको महापरिहास हो ।
******************

Friday, February 14, 2025

अरुण कुमार भुजेलका तीन कविता



मनसँग

तिमी सबैलाई माया गर्नू आदर, सत्कार र सम्मान गर्नू धैर्य अनि सहनशील बनी सर्वत्र सकारात्मक ज्योति छर्नू मेरो मन तिमी यस्तै नै हुनू । हिलोमा फुल्ने कमल हुनू चोटहरूमा दल्ने मलम हुनू स्रष्टाहरूलाई साथ दिँदै सृजना रच्ने कलम हुनू मेरो मन तिमी यस्तै नै हुनू । हाँस्ने अनि हँसाउने गर्नू बाँच्ने अनि बचाउने गर्नू मानव धर्मको शरणमा परि कर्म नै धर्म हो प्रचार गर्नू मेरो मन तिमी यस्तै नै हुनू । दाँतहरू जस्तै रूखो भएर अल्पायुमै एकाएक झर्ने नहुनू जिब्रो सर नरम भएर मृत्यु पर्यन्त सँगै रहनू मेरो मन तिमी यस्तै नै हुनू । ********
अनुरोध
हेर मल-जल नगरे पनि जंगली फूल फुलेकै हुन्छ पहरामा देख्छौ ढुङ्गा र जरा प्रेमले अँगालो मारेकै हुन्छ । अँध्यारो हेर त नभनी हुन्छ उज्यालो फेरि नबोलाई आउँछ रित्तोले आकाश ताकेको हुन्छ लटरम्म हाँगो भुइँ तिरै झुक्छ । असल कमसल तिमी भित्रै स्वर्ग र नर्क त्यो तिमी भित्रै बैरी को हो ? को हो मित्र? आखिर सबै छन् तिमी भित्रै। बनाउन सक्छौ के ढुङ्गा-माटो ? हावा-पानी र अरू चराचर सक्दैनौ कम्तीमा कृतकृत्य बन धन्य-धन्य जीवन यति त भन। ********

सुझाव

हेर त तिमीले आलस्य गरे नी परिश्रमी हातहरू चलि नै रहे ! अँगेनामा सक्दो पानी छ्यापे नी, दाउराहरू दन-दन बलि नै रहे ! एउटाले नहेर्दैमा फूलको सुन्दरता, तुरुन्तै मुर्झाइ कहाँ पो झर्छ र? माया-ममताको कसिलो बन्धन बैरभावको छुरीले कसरी छिन्छ र? महाभारत कसैको आवश्यकता हैन, रामायण रच्नु पनि बाध्यता हैन! गन्तव्य रोज्ने हो राग-द्वेष छोडी, बसुधैव कुटुम्बकम नै सर्वोपरि !

- गोरूबथान, कालेबुङ, भारत

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, February 7, 2025

धर्मराज पौडेल अल्पायुका दुई गीत


 
बाऊआमाको हाड घोटी


बाऊआमाको हाड घोटी खाका छन् सहरको सुबिधा पाका छन् !! काम गर्न छाडे सबै किनि खाने ठुला बाहिरी रासन आउनु पर्छ बल्न हाम्रा चुला बजारको हाउ भाऊ फेसनले मार्यो ठुला ठालु बन्न पर्ने पार्नु आपत पार्यो !! बारी खेत बाँझा राखी हिड्छन मस्किएर सिन्को भॉच्न गार्हो हुने खान्छन् पस्किएर लाज सरम पचेपछि जे गरे नि हुने होटल होटल चाहर्दै हिड्छन तिन्लाई कस्ले छुने .. जागिर भत्ता केही छैन लाऊछन् फेसन फेरि यसरी नै सन्तान बिग्रे आउला आँधिबेरी नयाँ नयाँ मोबाईल बोकी हिंड्छन जुता ठोकी चिन्नै पनि गार्हो हुने केटा हो की ? केटी ... अङगभङग देखाउँदै केटा रोजी रोजी रात दिन तिन्कै हुन्छ मोबाईलमा खोजी कस्को कुरा कस्ले सुन्ने सबै उस्ता उस्तै होटल लज पुग्छन उनै आईस क्रिम चुस्दै ... घरको काम गर्नुपर्दा सदा अर्को झर्को घुम्नलाई बानी पर्यो यिन्लाई सहरको पढ्न भनी किताब बोकी हिड्छन् देखाउन जानेका छन् बाऊ आमाको ढाड सेकाउन ... बाऊ आमाको हाड घोटी खाका छन् सहरको सुविधा पाका छन् ...
******

Friday, January 31, 2025

बुद्धिमान महर्जनका तीन कविता


मुग्लान

केही समय सानो सपना पुरा गर्दै मुग्लानको हावामा रमाउँदैं पाउमा अल्झेका बुँदहरू पसिनाले पखाल्दैँ कर्मभूमीको युद्धमा जब सुन्दर संसारको अवतरण भयो मेरी परी ओझेल भइन मलाई छली मेरो खोजीको आयामहरूमा । हरेक दिनको उनको पूजा निराहार बन्दै गएको उनको समय कहाँ थियो र ममा भगवान् दिव्य शक्ति दिनलाई उनीमा सालको पातको स्वाद लिई उकाली र ओरालीमा नाम्लोको दाम क्षितिजले लम्ब्याएको रातहरूमा निरन्तर ओझेल परेको न्यानो माया मुग्लानको चिसोमा कठाङ्ग्रीदै थियो । थिएन सुपारीको बोट निर्बाङ्ग मेरो वरपरका काल्लाहरूमा थिएन ! निर्भरका सखुवाँ, मेरो साथमा निर्छलो आत्मा बीच निर्दयी बन्दै गरेको जिन्दगी काकाँकुवाँको शब्द बीच निस्तब्ध बनेका बिस्तार बीच मेरो रमरमको संसारले तालगाँठी मिल्दैथ्यो । कलिलो मुना दैवको सूत भुईचरीको आँगन उराठ बनेछ छितिजको ध्वजा फरफराएसँगै मनको चरी उढेर गएछ । गर्मीको छहारी तिर्खाको झरी गंगा बगेछ सहरदमा काँधको छैला मनको मैला कस्तुरी थिएन आँगनमा बेरीतको काँच मनको ऐना टुटेछ मुग्लानको जवानीमा ।

Thursday, January 23, 2025

विष्णा विरहीका तीन गीत

 
रोएँ धरर

चल्यो हावा सरर रोएँ धरर पानीको तिर्खा झैँ माया हरर पाखो वारि कोदाली खन्दैछु कैले आउँछौ दिन मैना गन्दैछु रोएँ धरर............
पाइन्न खुसी किन्न धन पैसाले मान्दैन मन भोलिको आशाले रोएँ धरर............
कोदो फापर बारीमा रोपौँला सुस्केरामा सँगै थकान मेटौँला रोएँ धरर............
फर्क छिटै परदेशी आउ घर नेपालमा नपाउने के छर रोएँ धरर............
चल्यो हावा हरर रोएँ धरर सम्झना हजुरकै आयो हरर ।

Friday, January 17, 2025

प्रद्युम्न अधिकारीका तीन कविता

कठै म आँसु 

हरेकको भावना र मर्ममा डुबेर
पीडाको रुप बनि म झरिदिन्छु,
निर्दोष प्राणीको दुई आँखाभित्र
रसिलो बनि म यसै रसाई दिन्छु ।

असह्य बनिदिन्छु चित्त दुखाइमा
रोदन अनि गहिरो पीरव्यथामा,
बिछोडमा विष्मात म भइदिन्छु
मिलनमा हर्षाश्रु खसालिदिन्छु ।

अदृश्य अनुभूतिको भावनामा
दृश्यको अश्रुधारा म पोखिदिन्छु,
तप्प तप्प गर्दै न्यानो थोपामा
मोतीको दाना झैँ बाहिरिदिन्छु ।

कठै म आँसु हृदयदेखि निस्केर,
सबैको मन हलुको बनाइदिन्छु ।

*******
              
समय चक्र

रुप यो शरीरको कलकलाउँदो थियो,
उडेर रङ्ग आज कठै बेरङ्गमा बदलियो ।
उफ्रदै रमाई खेलेका बलिष्ठ हातपाउ,
चल्न नसकी आज शिथिल हुँदै गयो ।

फ़ुर्तिलो शरीर उमेरमा खुब रमाउथ्यो,
कान्तियुक्त देह आज कान्तिहीन बन्यो ।
आफैंमा त्यो स्वस्फूर्त सुन्दर शरीर थियो,
समयचक्र सँगै जिन्दगी ढल्केर गयो ।

सद्भाव देखाउने कुटुम्बजनको स्नेह,
निष्ठुरी बन्दै पन्छिएर आज दूर भयो ।
रहेनछ आखिर केही नश्वर देह हाम्रो,
हिजो शोभित थियो आज जर्जर भयो ।

*******

Friday, January 10, 2025

कपिलमणि ज्ञवालीका तीन कविता


 यस्तै सुन्दर जीवन

कर्म गर्दछ मान्छेले फलको आशमा परी,
जिन्दगीभर घोटिन्छ दिन–रात मरी–मरी ।
झुन्डिएकै छ त्यै त्यान्द्रो समाएर सधैँभरि,
कस्तो यो जुनी मान्छेको बुझी नसक्नु क्यै गरी ॥


केही पायो कि ता मान्छे, गर्जिन्छ अभिमानमा,
प्राप्ति भएन ता मान्छे, दोष थोपर्छ भाग्यमा ।
दिनु कर्तव्य जान्दैन, लिनुमै मान्छे व्यस्त छ,
जति पाए नि पुग्दैन, लोभमा नै छ लम्पट ॥


अरूलाई पछारेर, अघि बढ्न ऊ खोज्दछ,
अरूलाई रुवाएर, आफू हाँस्न ऊ खोज्दछ ।
न उस्को धन सम्पत्ति, न उस्को जीवनै पनि,
तर बुझ्दैन यो मान्छे, हातमा छैन जिन्दगी ॥


न ल्यायो जन्मिदा केही, न मर्दा लान सक्दछ,
मर्नु पर्ला कि सोच्दैन, भोगमा मात्र मस्त छ ।
अरूको लागि बाँच्नेले, सधैँ बाँच्छ मरे पनि,
तर बुझ्दैन यो मान्छे, मरेकै छ जिए पनि ॥


कर्मको फलमा मात्र उसको अधिकार छ,
कर्म गर्दैन जो मान्छे गुलियो खान खोज्दछ ।
अरूको खुसीमा जल्छ, अनि खरानी बन्दछ,
के बाँच्नु जिन्दगी यस्तो, जुनी नै सब व्यर्थ छ ॥


धर्तीको सिनोमा थुक निल्छ आकाशमा उडी,
हुन सक्दैन त्यो मान्छे अरूको सुखमा सुखी ।
फेदमा नटेकी मान्छे टुप्पोमा पुग्न खोज्दछ,
क्षणको सुखका लागि जिन्दगी नै गुमाउँछ ॥


आहा ! सुनी रहूँ कस्तो यसको बोलीवचन,
व्यवहार पनि कस्तो शिष्ट, नम्र र शालीन ।
आत्म–प्रशंसा गर्दैन पर–सम्मान गर्दछ,
बनाउन सकूँ मैले यस्तै सुन्दर जीवन ॥


आफ्नै पौरखले आर्जी रमाऊँ म यसै गरी,
जान–अन्जानमा मैले नखोसूँ अरूको खुसी ।
सके बनाउनु पर्छ, नबिगारूँ म कुनै पनि,
जति जिउँछु म जिऊँ, हाँसी–खुसी यसै गरी ॥

Friday, January 3, 2025

ज्ञानेन्द्र विवशका तीन कविता


ओ हिमाल

तिमीलाई हेर्दा मन भुल्छ, हराउँछु तिम्रै विशाल काखमा। शीतल हावा, शान्त प्रहर, तिम्रो स्पर्शले बिझाउने घाउहरू पनि बिर्सन्छ। तिमी उभिएका छौ, अडिग, अटल, अमर। तिम्रा चुचुराहरूले छुन खोज्छन् आकाश, र मेरा सपनाहरूले खोज्छन् तिमीलाई। कति हेर्ने तिमीलाई? कति सम्झने? तर, जति हेरें, जति महसुस गरें, तिम्रो सौन्दर्यको प्यास कहिल्यै मेटिँदैन। तिम्रा सेता हिमगिरी, प्राकृतिक धरोहरका धनी, तिमी प्रकृतिका शिखर कविता हौ। तिमीप्रति मेरो अटुट श्रद्धा, मेरो नमन, मेरो अभिवादन। ओ हिमाल, तिमीलाई गाऊँ, तिमीलाई लेखूँ, तिमीलाई जिउँ।

*********************

Friday, December 27, 2024

अम्बिका धितालका तीन लघुकथा


 फूल


कुसुम विद्यालयबाट घरमा आइपुग्दा आमाको अवस्था देखेर छक्क परिन् । किन आमाले औँसीको रातझैँ चेहरा बनाएर बस्नुभएको होला । “अरूदिन म आइपुग्ने बित्तिकै उज्यालो मुहारमा मेरो पोसाक परिवर्तन गरिदिने, हातगोडा धोइदिने र खाजा खानदिने गर्नुहुन्थ्यो” सोच्दै आमाको अनुहार पुन: नियालिन् ।

आज आमाले कुसुमलाई "लुगा फेरेर टेबुलको खाजा खाऊ" मात्र भन्नुभयो । न आमा हँसिलो हुनुहुन्थ्यो न बोलीमा मिठास नै ।

आमा यस्तो परिवर्तन हुनुभएको देखेर कुसुमलाई कौतूहलता जाग्यो। उनले निकै मिठास बोलीमा सोधिन्, "आमा, हजुरलाई के भयो आज? मलाई त हजुरको हातले हाँस्दै दिएको खाजा मात्र मिठो लाग्छ । हजुर आज किन रिसाउनुको भन्नुहोस् न ।”

आमा कड्किदै बोल्नुभयो, "अब तिमी ठुली भइसक्यौ आफैं झिकेर खाऊ । म सक्दिन तिमीहरू बाउछोरीको नोकर हुन ।जति काम गरेपनि यस्तै हो, म दिक्क भइसकेँ । कति बस्नु यो जेलमा काम गरेर मात्र ।"

कुसुम हत्त न पत्त बोलिन्, "ल ल आमा आज म हजुरलाई घुमाउन लान्छु । म अब सात वर्षकी ठुली भइसकेँ ।” भन्दै लुगा फेरिन् र आमाको हात तानेर घर नजिकैको बगैंचामा पुगिन्। आमाको मुखमा भने अझै घाम लागेको थिएन ।

कुसुमले बगैंचामा हाँस्दै फुलिरहेका रङ्गीचङ्गी फूल देखाउँदै भनिन्, "आमा यी फूलहरू कति राम्रा है?"

"अँ राम्रा छन्।" आमा मलिन स्वरमा बोल्नुभयो । कुसुमले पुन: थपिन्, "यी फूल सधैँ आफ्नै ठाउँमा बस्छन्, फूलेर छिट्टै झर्छन् । फेरि यिनीहरूले घाम, पानी, हावाहुरी, असिना सबै सहन्छन् तर पनि कत्ति राम्रा है, यी फूलहरू‌। किन कहिल्यैँ पनि नरिसाएका भन्नुहोस् न आमा ?"

Friday, December 20, 2024

प्रकाश घायलका सात मुक्तक

 मुक्तक


 १                    

मन्दिर पनि हजुरको झन्झन् मूर्ति हजुरको पाइजामा नभए पनि आहा कुर्ती हजुरको मिठो गफ गर्नुहुन्छ चोक चोकमा घुम्नुहुन्छ हैसियत सुको छैन अझै कत्रो फुर्ति हजुरको ।
 २                    
अहँकारको महल अनि अहँकारकै छानो हजुरको अझ झन्झन् निर्धनको गर्दन त अचानो हजुरको अतीत बिर्सनु भो भ्रमको खेतीमा खुब रमाउनु भो जब छरपस्ट हुन्छ नियत,अनि चल्छ गानो हजुरको ।
 ३                    
बोली छरितो हजुरको काम चाहिँ ढिलो हजुरको मनभित्र पीरैपीर भएपनि मुहार चहकिलो हजुरको घमण्डको शिखर पुग्नु हुन्थ्यो अनि पछारिनु हुन्थ्यो तैपनि! कर्तुत लुकाउन सक्ने बानी गतिलो हजुरको।
 ४                    
मलाई युद्ध जित्नु छैन, जिन्दगीसँग हार्नु छैन अगाडि पुग्ने चाहनामा, निर्दोषलाई पछार्नु छैन मतलबी दुनियाँमा मतलब कै पसल चल्दो रैछ भुइँ मान्छे हुँ भुइँमै रमाउँछु जूनतारा झार्नु छैन ।


 ५                    
बादलले ढाकेपछि नै जून हराउँछ तारा हराउँछ जब बढ्छ पीर व्यथा खुसी उमंग सारा हराउँछ वनमारा झैं विकृति विसंगति फैलिइदै गएपछि विसंगति सँगसँगै सभ्य संस्कारको नारा हराउँछ।।


 ६                    
चुपचाप छ धर्ती अचेल झन् चुपचाप छ आकाश पनि मौन बस्नुमा नै आनन्द रह्यो चुपचाप छ उल्लास पनि नीति नियम घायल हुँदै गयो उत्ताउलाको हात परेपछि उज्ज्वल भविष्यको चिन्ताले चुपचाप छ इतिहास पनि ।
 ७                    
रिमझिम साँझ हजुरको झन् सुनौलो बिहान हजुरको शेषनागलाई पनि बर्णन गर्न गाह्रो पहिचान हजुरको मुखभरि कलंकको कालो पोतिएको देख्दा समेत पनि अझै ! भक्त भलाद्मीहरूले गाउँछन् गुणगान हजुरको!!

-फुटुङ, काठमाडौँ


.‍..‍.‍.‍साथ सहयोगको खाँचो

Friday, December 13, 2024

म्यामराज राईका दुई लघुकथा

 विदेश यात्रा


करिब एक महिनाको दशैँ-तिहार बिदा भयो । सिमरान सर सात वर्ष विद्यालयमा पढाएर त्यही बिदा अवधिमा एकाएक हराउनुभयो ।

स्वदेशमा मिहेनत गरे के चाहिँ हुँदैन ? खाडी जानु राम्रो हैन । उनीहरूको गुलामी बनेपछि हामीलाई हेप्छन् । हाम्रो देशलाई हेप्छन् । भाषा, संस्कार, संस्कृति, खानपान, भेषभूषा केही मिल्दैन । विचार नमिलेपछि जानाजान आगोको भुङ्ग्रोमा हाम फाल्नु जस्तै हो अर्काको देश जानु भनेको । भूतपूर्व विद्यार्थीहरू मध्ये पहिलोले सिमरान सरको बारेमा आफूहरूलाई पढाउने क्रममा होस् या चिया गफमा सम्झाउने कुराहरू सम्झ्यो ।

नेपाली पढाउनुहुन्थ्यो । मिजासिला हुनुहुन्थ्यो । साहित्य भनेपछि हुरुक्कै । यतिसम्म कि नेपाली साहित्यको रस हामीमा समेत भरिदिनुभो । र, नै अहिले मेरो फुर्सद साहित्य पठन, लेखनमा सदुपयोग गर्न सकेँ । दोस्रो विद्यार्थीले पनि सिमरान सरसँग जोडिएका सम्झानाहरू मनभित्र असरल्ल पार्यो ।

सिमरान सरले पढाएका ती दुवै विद्यार्थीहरू छ महिनाको अन्तर भए पनि एकै वर्षमा जापान प्रवेश गरेका रहेछन् । संयोगवश अहिले दुवैजना एकै कम्पनीमा काम गर्छन् । साप्ताहिक बिदा आइतबारको दिन व्यस्त शहर टोक्योको एउटा पार्कतिर टहलिन गए । त्यो पार्कमा अचानक सिमरान सरसित ती दुईको भेट भयो । हराएको बुवा पराई भूमीमा भेटेको भान भयो दुवैलाई । हत्तपत्त पहिलोले जिज्ञासा राख्यो, “सर, पनि यहाँ ? तपाईले विद्यालय अचानक छोडेदेखि तपाईको अभाव महसुस गरिरह्यौँ ।”

दोस्रोले पनि कौतुहलता पोखिहाल्यो, “विदेश जानु हुँदैन भन्दै यसको विपक्षमा उभ्नुहुन्थ्यो त, सर !”
“जापान, कोरिया लगायत विकसित देशमा जानु हुँदैन त भनेको जस्तो लाग्दैन ।”

Friday, December 6, 2024

हरिगोपाल न्हुच्छें प्रधानका झिल्का कविताहरू


 झिल्का कविता