शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, April 26, 2024

इन्दिरा गौतमका दुई लघुकथा

   

  

हतार
बिहानको समय सधैँ हतारको हतार । छोरा छोरी स्कुल जाने, बुढाको डिउटी । आठ बजेसम्ममा खाना पाकिसक्नु पर्ने। आज त रातभरि पानी परेकोले बिहान अबेरसम्म सुतिएछ । शनिबारको दिन छ । एकाबिहानै बजार नगएसम्म ताजा सागसब्जी नै पाइँदैन।
 
हलिदाइले झिसमिसेमा गोरु नारेर बारिसम्म लगिसकेछन् । उनलाई चिया खाजा पु-याउनुपर्ने । कामको चटारो सम्झिदै खरेटो बोकेर तघारो उघारेँ । सपना हाम्रो घरतिर आउँदैरहिछन् ।
 
"कतासम्म हौ एकाबिहानै ?" 
"ए दिदी ! हिजो कल्पना माइजू तपाईंलाई खोज्दै आउनु भएको थियो । आज उहाँको शनिबारको ब्रतको साङ्गे अरे! चढाउने प्रसाद सेलरोटी हजुरले बनाउनु पर्ने अरे ! फोन गर्नुभन्दा भेटेरै भन्न आउनु भएको थियो । तपाईंलाई नभेट्दा मलाई समाचार छोडेर जानु भयो।"
 
"तिमी र मसँगै जानुपर्छ है?"
"म त अहिले भ्याउँदिन । आज एकादशीको व्रत पनि छ। घरको पूजाआजा गर्नुपर्दछ। तपाईं जाँदै गर्नु नि ।"
समयभन्दा छिटो दौडेर एक बाल्टिन पानी खन्याएर हली र घरकालाई जसोतसो नास्ता खुवाएँ । सधैँको कुर्था लगाउने बानीलाई पन्साउँदै पवित्र पूजाआजामा लगाउने पहेँलो साडी लगाएँ । हाँगाभरि लटरम्मै नुहेका फूलका थुँगा टिपेँ । हिजो मात्रै पाकेका मेवा बोटमा देखेकी थिएँ । त्योसँग घरमा एक पल्ट मात्र चिया खाने दुध राखेर सबै बोकेँ।
 
स्कुलबाट सिधैं उतै पूजातिरै जानको लागि छोराछोरीलाई आग्रह गर्दै टमटममा चढेँ। मलाई भन्दा टमटम वालालाई झन हतार रहेछ । उसले बिजुली गतिमा कल्पना माइजूको आँगनमा पु-यायो। मामा हतारमा तगारो खोल्दै "बोल्न भ्याइन है" भन्दै निस्कनुभयो ।
 
मैले सोधेँ, "आज पनि ड्यूटी छ मामा ?"
"हैन ! पहिल्यै सकिने मेट्रिक परीक्षा आज एप्रिलफुल कै दिनमा पारेको छ। खै के भन्नु" ?
 
माइजूले मेरो हातमा भएको झोला देखेर छक्क पर्दै भन्नु भयो, ए… भाञ्जी‍!" अरु के के भन्नुभयो राम्रो बुझिनँ तर उहाँ डल्लो परेर हाँस्न थालेपछि मात्रै एप्रिलफुल भन्ने थाहा लाग्यो।

********************
बाध्यता एकाबिहानै महाजन बाको घरमा हल्लीखल्ली सुनियो। एकछिन चुपचाप घरबाट सुनेँ तर हल्ला झन्-झन् बड्दै गयो। "माथ्लो घरे तल्लो घरे सबै भेला भइसकेका छन् । कस्तो कानमा तेल हालेर बस्न सकेका !" बुढी भान्साघरबाट च्याँठिन।
 
"कुरा नबुझी कता कुद्ने?" मैले बिस्तारै भनेँ।
"भर अभर प-यो होला । कोराँसो जोडिएर बसेपछि दुःख पर्दा पनि पान सुपारी दिनुपर्छ र?" उनी झन् झन् रुखो बोलिन् ।
 
मैले जवाफ फर्काउन नपाउँदै हातका कामहरू जिउको तिउ छोडेर बिजुली गतिमा तलतिर झरिन् । म जाउँ-नजाउँ गर्दै लोते पाराले आफ्नै घर भित्रै पसेँ । ढिलो जाँदा छिमेकीको नातामा प्रश्न चिन्ह खडा होला छिटो पुगे कहिलेकाहीँ पुलिसलाई कैफियत पनि दिनु पर्ला । जमानत बस्नु पर्छ । अघिल्लो वर्ष बिना बिथ्थाको छिमेकीको झगडामा दुई दिन थुनामा परेको थिएँ । त्यत्तिकैमा उनी कुदै घर तिर आइन् । मेरो हंसले ठाउँ छोड्यो। मनमा अनेकौँ कुरा खेले।
 
"के भयो? अघटन घट्यो कि क्या हो छिटो भन त।" हतारमा बोलेँ।
 उनले मलाई तान्दै भित्र लगिन् । ओच्छ्यानमा सुत्न लगाएर सिरक ओढाएर बाहिर हेरिन् । मलाई उकुसमुकुस भएर आयो। "अरे बाबा के गरेको यस्तो?" 
 
कसैले नसुन्ने गरी भनिन् "महाजन बाको भोटाङे कुकुर मरेछ।" "मर्यो त मरोस्, म किन बेला नकुबेला सुत्नु?" "अस्ति मलाई टोक्न झम्टिदा उल्टै मलाई नै कुरा सुनाएका थिए "कस्तो थाङ्ने माङ्ने जस्तै भएर आएकि भनेर? अहिले मरेपछि पुर्ने मान्छे चाहियो रे ! बुढा हिजोदेखि ज्वरो आएर सारै भएर सुतेका छन् भनेर ढाटिदिएँ।" उनले हाँक लगाएर भनिन्।
 
उनको काखीमुनि च्यातिएको चोलीले मलाई गिज्याइरहेको थियो । हिजो अस्ति नदेखेको जस्तो गर्थे, चिथ्रा चिथ्रा परेको गुन्युले भुइँ छोएको थियो । पुसको ठिहीमा फुटेका आफ्नै कुर्कुच्चाले चस्स घोच्यो। अनि सिरक फ्याँक्दै भनेँ "दुई घण्टाको मजदुरीमा एक दिनको ज्याला त पाक्ने रैछ। खै ! कोदालो कता छ ?" 
 
- ओदालगुडी, असम  
 
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com
 

No comments:

Post a Comment