शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, August 22, 2022

झण्डाको आविष्कार

-त्रिचन्द्र प्रतीक्षा

झण्डा शब्दको अर्थ नेपाली बृहत शब्दकोशमा ‘डन्डाको टुप्पामा जडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिन्ह अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो परिचायक चिन्ह, ध्वजा, पताका’ भनेर उल्लेख गरिएको छ ।

संसारमा पहिलो झण्डा कुनै देश, प्रदेश वा सेनाको थिएन । त्यो समयमा केवल झण्डाको प्रयोग दुष्टआत्मा र भूतप्रेतबाट बच्नका लागि प्रयोग गरिएको थियो । मानिसहरुले आफ्नो घरको छतमा बाँसको माथिल्लो भागमा रंगीन कपडाहरुको विशेष आकार प्रकार र रुपरङ्ग अर्थात् जसमा डरलाग्दो जनावरको मुखाकृत वा गाउँका पण्डित पुरोहितले भनेको कुनै निशान छाप लेखेर फहराइन्थ्यो ।

गाउँमा हुने चाडपर्व वा मेला लाग्दा पनि यस्तै झण्डा मुनी मानिसहरु भेला हुने गर्दथे । झण्डामा रहेको आकृति देखेर दुष्टात्माहरु र भूतप्रेत डराएर भाग्दछ भन्ने जनविश्वास थियो । 

-त्रिचन्द्र प्रतीक्षा

ईशापूर्व पाँच शताब्दी पहिले चीनमा झण्डा आकारमा ड्रागनको चित्र बनाइएको थियो । उक्त झण्डा फहराउँदा ड्रागन आफ्नो लामो जिब्रो लप्काउँदै अगाडि बढेको जस्तो देखिन्थ्यो । चिनियाँहरुलाई के विश्वास थियो भने यसलाई देखेर शुत्र डराएर भाग्नेछन् । 

विभिन्न स्थानका मानिसहरुले कपडामा फरक फरक आकृति प्रयोग गर्दथे, तिनै आकृति क्रमशः त्यो गाउँ, ठाउँ वा प्रदेशको प्रतीक बन्न पुगे । यसरी विभिन्न राष्ट्रका झण्डा लोकप्रिय हुँदै गए । इस्वी संवत्को १०औँ शताब्दीसम्म विभिन्न राष्ट्र र ती देशका सेनाको विभिन्न आकार प्रकारको झण्डा बनाइएको थियो । यस्तो झण्डा विशेषगरी युद्ध मैदानमा सेनापति र राजा दुवैको प्रयोग गर्दथे । 

कुनै लडाइँमा सहभागी हुनका लागि सेनापतिको झण्डा सैनिक जत्थाको अघिअघि हुने गर्दथ्यो भने राजाको झण्डा सैनिकको बीचमा । राजाको झण्डालाई एकदम सुरक्षित तवरले प्रयोग गरिन्थ्यो, कुनै पनि मूल्यमा उक्त झण्डा भूइँमा खस्न दिइँदैन थियो । राजाको झण्डा झर्नु, खस्नु भनेको सेनाको पराजय भएको मानिन्थ्यो । 

सबैभन्दा पहिले चीन, भारत वा रोमवासीले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । ब्रिटानिका विश्वकोशका अअनुसार, इशापूर्व ११२६ मा चीनमा रहेको झाओ राजवंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेको छ ।

हरेक राष्ट्रको झण्डाको पछाडि कुनै न कुनै कथा जोडिएको पाइन्छ वा झण्डाले त्यो राष्ट्रको विशेष सन्दर्भका कुनै न कुनै अर्थ बोकेको हुन्छ । 

सेतो पट्टी भएको अष्ट्रियाको रातो झण्डा पछाडिको एउटा रोचक कथा छ । भनिन्छ एक जमानामा अष्ट्रियाली सेना एउटा ठूलो युद्धमा नराम्ररी पराजित भएको थियो । युद्धमा सिपाहीहरुले आफ्नो प्राणको आहूति दिएर झण्डाको रक्षा गरिरहे । अन्ततः झण्डा पनि भूईंमा खस्यो । त्यसैबेला रगतले लतपतिएका सिपाहीले आफ्नो लुगा फुकालेर हल्लाए । रगतले लतपतिएको पुरै रातो थियो, तर जहाँ ती सिपाहीले झोला बाँधेका थिए, त्यहाँ सेतो पट्टी जस्तो आकृत बनेको थियो । त्यस समयदेखि अष्ट्रियाले सोही आकृतिलाई झण्डाको रुपमा प्रयोग गर्न थाल्यो । 

संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ । जुन सर्वप्रथम सन् १२१९ मा प्रयोगमा आएको थियो । त्यसपछि सन् १३३९ मा स्विट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा बनायो । १९औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट गरिसकेका थिए । 

अमेरिकाको झण्डालाई ‘द स्टार्स एन्ड स्ट्राइप्स’ वा ‘वल्र्ड ग्लोरी’ पनि भनिन्छ भने झण्डामा हुने ५० वटा ताराले त्यहाँका ५० वटा राज्यको प्रतीक हुन् । यसैगरी भारतको तीन रङ बनाइएको झण्डाले वीरता, शान्ति र समृद्धिको अर्थ राख्ने गर्दछ । रुसको झण्डामा हँसिया र हथौडा क्रमशः किसान र औद्योगिक मजदूरको चिन्ह हुन् । 

रातो झण्डाले चेतावनीलाई संकेत गर्दछ । राजनीतिमा भने रातो झण्डाले समाजवाद वा साम्यवादलाई जनाउँछ । यस्तै, सेतो झण्डाको अन्तर्राष्ट्रिय रुपमा युद्धविरामलाई संकेत गर्दछ भने कालो झण्डाले विरोध गरिएको जनाउँछ ।

विश्वमा रहेका सबै राष्ट्रका झण्डाले आ–आफ्नो इतिहास बोकेका छन् । झण्डालाई राष्ट्रले ठूलो सम्मान दिएका हुन्छन् । यसको संरक्षण तथा सम्मान गर्नु सबै नागरिकको दायित्व पनि हो ।

हाम्रो झण्डामा भएका रङ् र आकारको पछाडि विशेष अर्थ छन् । दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा जस्तो झण्डा संसारमा कसैैको पनि छैन । नेपालको झण्डामा रहेको तीन रङलाई सत, रज र तम गुणको प्रतिकको रुपमा मानिन्छ भने झण्डाको निलो किनाराले शान्ति र एकता, सिम्रिक रङले हाम्रा पुर्खाको वीरता, सूर्य र चन्द्रमाले हाम्रो देश सूर्य र चन्द्र जस्तै सधैँ अमर रहने जनाउँछ । 

नेपालको राष्ट्रिय झण्डा विश्वमै पृथक मौलिकताको एक जीवन्त नमूना हो यसका डिजाइनर हुन् वरिष्ठ कलाकार तथा इञ्जिनियर शङ्करनाथ रिमाल ।

युवामञ्च मासिक, साउन २०७९ मा प्रकाशित

No comments:

Post a Comment