शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, August 28, 2022

पुस्तकालय सभ्यताको खम्बा

-त्रिचन्द्र प्रतीक्षा

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा पुस्तकालयको शाब्दिक अर्थ "सार्वजनिक रुपले इच्छुक पाठकहरुले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरुको सङ्ग्रह गरेर राखिएको घर वा ठाउँ" भनेर उल्लेख गरिएको छ ।

संस्कृत भाषाको पुस्तक + आलयको संयोजनबाट 'पुस्तकालय' बनेको हो जसको अर्थ पुस्तकहरुको घर भन्ने हुन्छ भने अंग्रेजी भाषाको Library ल्याटिन भाषाको Liber बाट आएको र जसको अर्थ पनि पुस्तक हुन्छ । 

पुस्तकालयहरुलाई "सभ्यताको एउटा खाँबा" भनिएको छ । वर्ल्ड बूक इन्साइक्लोपीडियाका अनुसार मानव संस्कृति र प्रविधिको विकासमा पुस्तकालयहरुको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । जर्मन कवि गोथेले पुस्तकालयहरुलाई मानवजातिको ज्ञानको भण्डार भनेका छन् ।

विप्लवी पुस्तकालय, काठमाडौँँ (लेखक) 

राजा अशूरबानीपालको समयभन्दा सात सय वर्षअघि रामसेस द्वितीयले मिश्र सहर थेबेमा एउटा प्रख्यात पुस्तकालय स्थापना गरेका थिए । तर विविध जानकारी र रेकर्डको ठूलो संख्याले गर्दा अशूरबानीपालको पुस्तकालयले "पुरातन संसारको सबैभन्दा ठूलो" भन्ने नाउँ कमाएको छ । यस पुस्तकालयमा भएका २० हजारभन्दा बढी माटोका प्लेटमा व्यापारिक कारोबार, धार्मिक प्रचलन, नियम-कानुन, इतिहास, औषधि, मानिस तथा पशुको जीवविज्ञानसम्बन्धी जानकारी राखिएको छ । 

अशूरबानीपालले आफ्नो पुस्तकालयमा केही सुधारहरु गरिरहेको बेला चीनमा चाऊ वंशले शासन गरिरहेको थियो । इसा. पू. ११२२ देखि इसा. पू. २५६ सम्म यस वंशको शासन अवधिमा पुस्तकहरुको एउटा समूह तयार पारियो, जुन फाइभ क्लासिक्स् अर्थात् पञ्च-कृति भनेर चिनियो ।

जापानको शासकीय सामुराई परिवारका होजो सानतोकीले कानाजावास्थित (अहिले योकोहामाको एउटा भाग) आफ्नो निवासमा सन् १२७५ एउटा पुस्तकालय स्थापना गरे । तिनले चिनियाँ र जापानी भाषामा त्यतिबेला उपलब्ध सबै पुस्तकहरु सङ्कलन गर्ने प्रयास गरेका थिए । 

आज कुनै-कुनै पुस्तकालय निकै ठूला छन् । सन् १८०० अप्रिल २४ मा स्थापना भएको अमेरिकाको लाइब्रेरी अफ काङ्ग्रेस संसारको सबैभन्दा ठूलो पुस्तकालय हो । स्थापनाकालमा छ हजार चार सय ८७ वटा पुस्तकबाट सुरु गरिएकोमा सन् २०२२ सम्ममा आइपुग्दा एक करोड ६० लाख पुस्तक सङ्ग्रहित छन् । 

यस पुस्तकालयमा पुस्तकका अतिरिक्त ६० लाखभन्दा बढी अडियो तथा भिडियो रेकर्डिङ, विश्वभरको १० करोडभन्दा बढी दुर्लभ तस्बिर, १० करोड ५० लाख नक्सा अनि पाण्डुलिपि पनि छन् । हरेक दिन यस पुस्तकालयको सङ्कलनमा १० हजार जति सामग्री थपिन्छन् ।

यस्तै दोस्रो ठूलो पुस्तकालय लण्डनको ब्रिटिस लाइब्रेरी हो भने तेश्रोमा चीनको साङ्घाई लाइब्रेरी र चौथो मास्कोमा रहेको रसियन स्टेट लाइब्रेरी हो । यस्तै फ्रान्सको नेशनल लाइब्रेरी युरोपको सबैभन्दा पुरानो राष्ट्रिय पुस्तकालय मानिन्छ । 

नेपालमा पुस्तकालयको इतिहास त्यति लामो नभए पनि वि.सं. १८६९ भदौ १५ गते तत्कालिन राजा गीर्वाणयुद्धविक्रम शाहले पुस्तकालय सम्बन्धि नियम बनाई "पुस्तक चिताई तहबिल" नामक प्रथम औपचारिक पुस्तकालयको स्थापना गराएको मानिन्छ । वीरशमशेरले वि.सं. १९५७ मा आफ्नो कोठामा रहेका पुस्तक दरबार स्कुलमा राखेर 'वीर लाइब्रेरी'को स्थापना गर्न लगाई अन्य पुस्तक सङ्कलन गर्न लगाई अन्य पुस्ता सङ्कलन गर्न आदेश दिएका थिए । 

२००७ सालको परिवर्तनपश्चात् नेपालमा पुस्तकालयको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । २००८ सालमा भारतीय दूतावासको सहयोगमा नेपाल-भारत मैत्री पुस्तकालयको स्थापना तथा २००९ मा अमेरिका र बेलायती दूतावासको सहयोगमा मिसन पुस्तकालयको स्थापना भए । 

यसैगरी २०१३ सालमा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना, २०१३ सालमा मदन पुरस्कार पुस्तकालयको स्थापना, २०१६ सालमा त्रि.वि. पुस्तकालयलगायत स्थापना भएका थिए ।

नेपालमा वि.सं. १८६९ भदौ १५ गतेको दिन पुस्तक चिताई तहविल स्थापना गर्न राजाबाट लालमोहर लागेको दिनको स्मरणमा २०६५ साल भदौ १५ गतेदेखि पुस्तकालय दिवस मनाउन सुरु गरी प्रत्येक वर्ष भदौ १५ लाई पुस्तकालय दिवस मनाउने गरिएको छ ।

युवामञ्च मासिक, २०७९ भाद्रमा प्रकाशित

No comments:

Post a Comment