शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, July 11, 2025

भूमिका गैरे तिमिल्सिनाका तीन लघुकथा

 


धर्म                      

"ए लौ न,गाडीले मान्छे हान्यो ।आत्तिएको स्वरमा सुरेश कराए ।

बिहानीको समय सुरेश चोकतिर निस्केका थिए । आँखै अगाडि भएको दुर्घटना देखेर उनी त्यतैतिर दौडिए । मान्छेको भिड जम्मा भयो ।

"को मान्छे रहेछ ? कस्लाई हो हानेको ? स्थिति कस्तो छ ?"  भिडबाट आवाज आयो ।

"बुढी आमा बाटो काट्न लागेकी थिइन रे ! गाडी पनि कति तीब्र गतिले चलाएको हो कुन्नि ?
बाटोभरि रगतै रगत छ । अब पुलिसलाई फोन गर्नु पर्यो ।" भिडबाट अर्को आवाज आयो ।

भिडका मान्छे सबै रमिते बनेका थिए । सबैलाई फोटो खिच्न मात्र हतारो देखेपछि सुरेशले भने
"तुरुन्तै अस्पताल पुर्याउन पाए बाँच्थिन् कि ?"

भिडबाट कसैले भन्यो,  "लाँदा लाँदै बाटोमा केही हुने हो कि ? घरपरिवार को हुन् ?  केही थाहा छैन । पछि अप्ठ्यारो पर्ने पो हो कि ? फेरि पैसा पनि खल्तीमा छैन । पुलिसलाई खबर गरौँ ।"

सुरेश अघि सरे र भने,  "घाइते मर्न आटिसक्यो । पहिला अस्पताल लैजाऔँ । बाँकी कुरा पछि गरौंला।" उनले नै एम्बुलेन्स बोलाए । पुलिस पनि त्यतिखेरै आइपुगे । पुलिसले एम्बुलेन्सभित्र घाइतेलाई राख्यो र अस्पतालतिर दौडायो ।

अवस्थाको मूल्याङ्कन गर्दै सुरेशले मनमनै सोचे,  "आजकलका मानिसहरू मानवीय धर्मभन्दा पनि प्रचारबाजीमा बढी रमाउने भएका किन होला ?"


लत                      

खुट्टा लर्बराउँदै घरमा छिरेको लोग्नेलाई देखेर स्वास्नीले आक्रोश पोखी, "हैन, कति खान सकेको हो, यो झोल पनि ? लबस्तरोले दिउँसै धोकेर पो मरेछ । छि ! कसैले देखेभने नि के भन्लान् ?"

उसले ठाडै जवाफ दियो,  "हैन, खाएँ त आफ्नै बाउको खाएँ । तलाई के को टाउको दुख्यो हँ ?"

सम्झाउने लवजमा ऊ बोली, "घरमा जवान छोरी, बिहेको लायक भाकी छे ! उसको मनोविज्ञानमाकस्तो असर पर्ला ? अलिकति पनि सोच्नु पर्दैन ?"

ऊ दलानमै डङ्ग्रङ्ग लडेर बर्बरायो,  "घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन । के गर्नु ?"

"तिम्रो चालामाल देखेर छोरी बाहिर निस्किन पनि मान्न छाडिसकी । बाहिर निस्कियो कि जड्याहाको छोरी भन्छन् रे ! घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै हाड घोट्नु पर्ने भयो । हरे ! मेरो भाग्य !"  ऊ गनगनाउन थाली ।

ऊ जुरूक्क उठ्यो र ठूलो स्वर गर्यो,  "नाथे, त्यसै ठूली भएकी छे ! खान, लाउन पाकै छस् क्यारे !तिमीहरुलाई सबै चिज पुर्याएकै छु । त्यसै जान्ने हुँदिरहिछे बडा !"

उसले उदास स्वरमा भनी,  "कोही माग्न आए भने पनि तपाईंको यो लतले छोरीको विवाहमा वाधा पुर्याउँछ कि भनेर अत्यास लागेको छ । आफ्नो जिम्मेवारी त बुझ्नु पर्यो नि !"

ऊ जङ्गियो, "अरुका स्वास्नीले लोग्नेलाई कति माया गर्छन् । तँ एउटी चाहिँ मलाई देख्यो कि बिग्रिएको रेडियोझै जतिखेर पनि क्यारक्यार क्यारक्यार गर्न जान्या छेस् । होइन ?"

राम काका कराउँदै प्रवेश गरे,  "हैन, बाहिरै बसेर जोईपोइ के को गन्थन हो ? छोरीलाई केटोको कुरो लिएर म आएको, बिहे गर्ने हो नि ? के छ, बिचार ?"

उसले आत्तिदै सोधी,  "काका, केटाको रक्सी पिउने लत त छैन नि ? अलि राम्रोसँग बुझ्नू है !"


शान्ति                      

रामेश्वर छट्पटाउँदै बर्बराए,  "पेट पोलेर हुट्हुटी चल्यो ? टाउको दुख्यो । मन अशान्त भयो । बेचैनी बड्यो । के गरौँ ?"

हरिलालले सोधे,  "रामेश्वर, तिमीलाई के भयो ? डाक्टर देखाएनौ ?"

ऊ फेरि एकोहोरो भन्न थाल्यो,  "कुन डाक्टरको मा गइन् र ? आयुर्वेदिक औषधि पनि गरे तर पनि खै किन हो निको हुने छाँटै छैन ? म त साह्रै असन्तोषी, केही गरे नि चित्त नबुझ्ने भएँ । कसैले सानो कुरो केही भन्यो कि त्यसैलाई मनमा लिइरहने बानी भयो ? सोच्दासोच्दै भोक निद्रा आफैं हराउँछ अनि व्यथाले सताउँछ ।"

 हरिरामले सम्झाउँदै भने,  "तिम्रो यस्तो बानी त निको भएन है ।"

ऊ करायो,  "के सोचेर भन्यौ ? मजाक त गरेका होइनौ नि ? कि मलाई हेपेका ?"

ऊ रन्थनिएको देखेर फकाउँदै भने,  "आज मैले भनेको एक ठाउँमा जाऊ, हिँड ।" 

उसले निहुँ खोज्दै भन्यो,  "जान्न । तिमी मात्र जाऊ । मलाई एक्लै छाडिदेऊ ।"

हरिरामले लोभ देखाएर भने,  "एउटा कार्यक्रम छ । त्यो हेरेपछि तिम्रो रोग निको हुन्छ । मसँग हिँड ।"

त्यहाँ पुगेपछि रामेश्वरले भन्यो,  "आहा ! कस्तो राम्रो कार्यक्रम रहेछ ? जीवन जिउन त मैले सोचेजस्तो साह्रै गाह्रो रहेनछ ।"

- गैंडाकोट ४ नवलपुर

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment