शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label हिन्दू र बौद्ध परम्परामा नागपूजा. Show all posts
Showing posts with label हिन्दू र बौद्ध परम्परामा नागपूजा. Show all posts

Sunday, August 4, 2019

नेपाली समाजमा नागपञ्चमीको महत्व


– त्रिचन्द्र प्रतीक्षा

नेपाली समाजमा नागलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ । नेपाली संस्कृतिमा मानिसको मात्र होइन, पशुपक्षी आदि जीवजन्तुहरुको पनि सह–अस्तित्व स्वीकार गरिन्छ । हरेक वर्षको साउन शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरुले नागपञ्चमीको रुपमा नागको प्रतिविम्ब (चित्र)लाई भित्तामा टाँसेर पूजा गर्ने गर्दछौँ, नागलाई पानी र वर्षाका देवताका रुपमा मानिन्छ । समयमा वर्षा होस् र बाढीबाट जनधनको हानि नहोस् भन्ने हेतुले नागको पूजा गरिन्छ । नागपञ्चमी मनाउनु हाम्रो जस्तो कृषिप्रधान देशका लागि सकारात्मक पक्ष पनि हो ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने, आगो, सर्पको भय र विपत्ति हुँदैन भन्ने जनविश्वास रहिआएको पाइन्छ ।

पौराणिक कथनअनुसार नागपूजाको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका आधार मान्दा राजा परीक्षितका छोरा जन्मेजयले गरेको सर्प यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक (जरत्कारु र मनासादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्प यज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

पौराणिक साहित्यहरुमा नागजातिको सन्दर्भमा व्यापक परिचर्चा परेको छ । शेषनागले सम्पूर्ण पृथ्वीलाई धारण गरेको र भगवान् विष्णु क्षीरसागरमा शेष शै®यामा शयन गरेको कथन छ । भगवान् शिवजीले नागपूजा देवताहरुको लागि पनि दुर्लभ पूजा भन्नुहुन्छ । यमुना नदीमा बसेर कालीनागले जल विषाक्त बनाएको र भगवान् श्रीकृष्णले काली नागलाई दमन गरेको हरिवंश पुराणमा उल्लेख छ ।

अन्य पुराणहरुमा पनि नागपूजाको विशेष उल्लेख गरिएको पाइन्छ । ‘नारद पुराण’ अनुसार नागपञ्चमीका दिन नागपूजा र नागहरुलाई दूध पान गराउनाले सर्पदंशबाट असामयिक मृत्युबाट बचाउ हुन्छ । ‘भविष्य पुराण’ मा पनि नागहरुको पूजाअर्चना गरी पर्यावरणलाई सन्तुलित राख्नुपर्ने कुराको चर्चा पाइन्छ भने ‘गरुड पुराण’मा समेत पूजा गर्नाले सुख समृद्धि वृद्धि हुने भनिएको छ ।

त्रिचन्द्र प्रतीक्षा
काठमाडौँ उपत्यकाको उत्पति नागजातिसँग जोडिएको मिथक पाइन्छ । ‘स्वयम्भू पुराण’ अनुसार काठमाडौँ उपत्यका जलमग्न रहेको समयमा नागजातिले शासन गर्दथे । विभिन्न लोक आख्यान अनुसार नागहरुलाई नै नेपालको प्रथम आदिवासी हुन् भनि मानिन्छ । हालको नागदहमा तक्षक, कुलिक र कर्कोटक नागको आश्रयस्थल थियो । चीनबाट आउनु भएका महा–मञ्जुश्रीले चोभारको पहाड (कच्छवाल पहाड) काटेर पानी बाहिर निकास गरे पछि सम्पूर्ण नागहरु पानीसँगै बगेर बाहिर गए । पछि काठमाडौँ उपत्यकाको रक्षाको लागि महा–मञ्जुश्रीले कर्कोटक नागलाई टौदहमा बस्ने आज्ञा दिए । मिथकअनुसार कर्कोटक नागराजका परिवार (श्रीमती) को आँखा दुखेको र एकजना ज्यापूले निको पारीदिएकोमा खुशी भएर हिरामोती नवरत्न जडित भोटो ज्यापूलाई उपहार दियो । एकदिन ज्यापूले खेतमा काम गर्दै गर्दा उक्त भोटो भूतले चोरेर लगेको जनश्रृति प्रचलित रहेको छ ।

यस्तै नागपञ्चमीका दिन ललितपुर धापाखेलको नागदहमा पनि ठूलो मेला लाग्ने गर्दछ । एक लोक आख्यानअनुसार १६ वर्षीया किराँती युवती कुरुप भएकै कारण आफ्नो लोग्नेले छोडेका थिए । बरु यस्तो कुरुप अनुहार लिएर जिउनु भन्दा मर्नु नै निको ठानेर नागदहमा डुबेर मर्न लागेकी थिइन । सोही स्थानमा शिकार खेल्दै गरेको युवा किराँतले देखेर डुबेको युवतीलाई निकाल्दा सुन्दरीको रुपमा परिवर्तन भए । सो दिन नागपञ्चमी परेको हुनाले युवतीले नागदहको महत्व र महिमा बुझिन् । नागपञ्चमी दिन दहमा पूजा गर्न थलिन् । यही क्रमको निरन्तरताले आज मेला भर्न थालेको भनाइ रहेको पाइन्छ ।

भक्तपुरका बासिन्दाहरु सिद्धपोखरीमा गएर नागपञ्चमी भव्यरुपमा मनाउने गरिन्छ । एक लोक आख्यानअनुसार ठिमीका जना व्यापारी र तान्त्रिक साथी सिद्धपोखरीमा बसेर नागको बारेमा कुराकानी गरिरहेका थिए । सो कुरा नागले सुनेर रिसाउँदै तान्त्रिकलाई पोखरीभित्र आएर झगडा गर्न बोलाए । तान्त्रिक पनि के कम थियो र आफ्नो साथीलाई एक मुट्ठी चामलमा मन्त्र फुकेर दिंदै भने ‘‘म पोखरीबाट निस्कने बेलामा नागको स्वरुपमा आउँछु र यो चामलले मलाई हिर्काउनु ।’’ तान्त्रिक पोखरीभित्र गई नागलाई मारेर निस्कँदा साथीले चामलले हिर्काउनु पर्नेमा डरलाग्दो नागको स्वरुप देखेर तिनी ठिमीतिरै भाग्यो । यता तान्त्रिक साथी मान्छेको स्वरुपमा आउन नसकेर नागकै रुपमा सोही सिद्धपोखरीमा गएर बस्यो । भनिन्छ आजसम्म पनि ठिमीका मानिसहरु डराएर उक्त सिद्धपोखरीमा जाँदैनन् र भक्तपुरबासीहरु सो तान्त्रिकव्यक्ति आजसम्म पनि नागकै रुपमा रहेको जनविश्वास गरिन्छ । नागपञ्चमीमा सो पोखरीमा गएर पूजाआजा गर्ने गर्दछन् । 

Friday, December 7, 2012

हिन्दू र बौद्ध परम्परामा नागपूजा


त्रिचन्द्र प्रतीक्षा

नेपाली समाजमा नागलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ, हरेक वर्षको साउन शुक्लपक्ष पञ्चमीलाई हामी हिन्दू धर्मालम्बीहरूले नाग पञ्चमीको रूपमा नागको प्रतिविम्ब (चित्र) लाई भित्तामा टाँसेर पूजा गर्ने गर्दछौं, नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्यम, तक्षक, कुलीर र कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको भय र विपत्ति हुँदैन भन्ने जनविश्वास रहिआएको पाइन्छ । भने नागको सम्बन्धमा नेपाली समाजमा विभिन्न किंवदन्तीहरु प्रचलित रहेको पाइन्छ । नागलाई पानी पार्ने देवता, वातावरण सफा राख्ने प्राणीको रुपमा व्याख्या गरेको पाइन्छ भने शरीरमा घाउ, खटिरा आएमा कपासको नाग बनाई काठमाडौंको सुन्धारास्थित नागमन्दिर, शोभाभगवतीलगायत थुप्रै स्थानमा रहेका नागदेवतालाई पुज्ने परम्परा रहिआएको पाइन्छ ।
काठमाडौं नक्सालस्थित नागपोखरीमा रात्रिकालिन विशेष मेला

यसै अवसरमा नागको वासस्थान मानिएका टेकू दोभान, चिन्तामणि तीर्थ, चाँगु, भक्तपुरको पुण्यतीर्थ, कोटेश्वरको शान्तितीर्थ, शङ्खमूल, ज्ञानतीर्थ, प्रमोदतीर्थ, सुलक्षणतीर्थ (चोभार), मनोरथतीर्थ र सानेपाको राजतीर्थमा बज्रयानी बौद्ध परम्पराअनुसार विशेष पूजा समेत गर्ने चलन रहिआएको छ । नागहरू पनि सर्प जातिकै भएकोले सवै सर्पहरूको उत्तिकै पूजा, उपासना एवं संरक्षण हुनुपर्ने देखिन्छ । यस दिनमा काठमाडौं नक्सालस्थित नागपोखरीमा विशेष मेला लाग्ने गर्दछ ।

त्रिचन्द्र प्रतीक्षा
हिन्दू समाजमा नागलाई शिव र विष्णुका रुपमा पूजा गर्दछन् । शिवले नागको माला लगाएका छन् र विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी सुतेका हुन्छन् । यस्तै गणेशको एक हातमा पनि नागबाण छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार मानिन्छन् । कृष्णले बालककालमै कालीनागको दमन गरेको प्रसङ्ग पाइन्छ ।

बौद्ध परम्परा अनुसार पनि बुद्ध जन्मनासाथ नन्द र उपनन्द नामक नागले उसको स्तुति गरेका थिए । बुद्धले ज्ञान प्राप्त गरेपछि केही समय बोधिवृक्षमुनि बस्दा उनको शिरमा नागराज पुलिन्दले छायाँ दिएको कथा बौद्ध परम्परामा भेटिन्छ यस्तै जैन धर्मका सातौं र २३ सौं तीर्थङ्कर सुपाश्र्व र पश्र्वनाथको शिरमाथि सातवटा सर्पका टाउकाको छत्र बनाएर उनीहरुलाई नागसँग सम्बन्धित बनाएको देखिन्छ ।

मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला छ । यी प्रमाणबाट नाग माहात्म्य बुझ्न सजिलो हुन्छ ।
हाम्रो समाजमा सबै सर्प विषालु हुन्छन् र त्यसले डस्यो भने मरिन्छ भन्ने भयले सर्पलाई देख्ने वित्तिकै मार्ने र धपाउने गरिएको पाइन्छ, तर सबै सर्प विषालु हुँदैन् । तथ्यांक अनुसार विश्वमा करिव ३ हजार ५ पाँच सय थरिका सर्प पाइने अनुमान छ । त्यसमध्ये ३५० थरिका सर्प मात्र अति विषालु र अन्य बाँकी सामान्य विषालु हुने गर्दछ । त्रिभुवन विश्व विद्यालयमा कार्यरत प्राणी शास्त्री सर्प विशेषज्ञ करनबहादुर शाहका अनुसार नेपालमा पाइने १५० किसिमका सर्पमध्ये ५ थरिका मात्र विषालु रहेको छन् । जसमा राजगोमन, हरेउ, कोरल, करेत र पिट भाइपर पर्दछन् ।
अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्स मेडिसिनले गरेको अनुसन्धानमा नेपाल सर्पले टोक्ने पाँचौं देश भएको र वर्षेनी २० हजार जनालाई सर्पले टोक्ने गरेको तथ्यांक छ ।

सर्पहरू हाम्रा शत्रु होइनन् । तिनीहरूलाई देख्ने वित्तिकै मार्ने चलन अहिलेसम्म पनि छँदैछ । सर्पहरूलाई साधारणतया हामी हानीकारक नै मान्छौं । तर वैज्ञानिक अध्ययन विश्लेषण गर्ने हो भने सर्पहरूबाट हामीले अप्रत्यक्षरुपमा भए पनि फाइदा लिइरहेका हुन्छौं । सर्पहरूलाई हानीकारक ठान्नुको कारण तिनीहरूको टोकाइको डरले नै हो तर सर्पले डस्ने कार्य सितिमिती गरी हाल्दैन । तिनीहरू आफ्नो सुरक्षाको निमित्त मात्र टोक्ने गर्दछन् । सर्पले डसी हालेको खण्डमा पनि सबै सर्प विषालु हुँदैनन् । विषालुभन्दा अति विषालु जातको सर्पको संख्या धेरै नहुने हुँदा मृत्यु हुने सम्भावना पनि कम हुन्छ । यदि विषालु सर्प नै परेको खण्डमा पनि समयमै उपचार व्यवस्था हुन सकेमा बाँच्न सकिन्छ । विकसित देशहरूमा सर्पहरूलाई पूर्ण संरक्षण दिइएको पाइन्छ ।

साउन ९, गते २०६९गोरखापत्र दैनिकमा प्रकाशित