डिजिटल युगमा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू नेपाली लघुकथाको विस्तारका लागि वरदान साबित भएका छन् । हिजोका दिनमा सिर्जना पाठकमाझ पुर्याउन महिनौँ कुर्नुपर्ने बाध्यता आज अन्त्य भएको छ । लेखकले आफ्नो सृजना पोस्ट गर्ने बित्तिकै संसारभरका पाठकसम्म क्षणभरमै पुग्न सक्ने सुविधा अनलाइनले दिएका छन् ।
तर, यो सहजतासँगै एउटा गम्भीर चुनौती पनि थपिएको छ– 'लाइक' र 'कमेन्ट'को संस्कृति । आजभोलि लघुकथाको मूल्याङ्कन यसको शिल्प र वैचारिक गहिराइका आधारमा नभई सामाजिक सञ्जालमा आउने प्रतिक्रियाका आधारमा हुन थालेको छ । तत्कालै भाइरल हुने होडबाजीले गर्दा लेखकहरूमा साधना र पुनर्लेखनको धैर्यता घट्दै गएको छ । हतार–हतार पोस्ट गर्ने र 'लाइक' गनेर बस्ने प्रवृत्तिले लघुकथाको विधागत गरिमालाई नै ओझेलमा पार्ने जोखिम बढाएको छ । सामाजिक सञ्जालको सस्तो लोकप्रियताका लागि लेखिएका सामग्रीले तत्कालका लागि त ताली पाउलान्, तर तिनले लघुकथाको वास्तविक सौन्दर्यलाई न्याय गर्न सक्दैनन् ।
'लघुकथा संसार' आफैँमा एउटा डिजिटल चौतारी हो । हामी प्रविधिको प्रयोगको विरोधी होइनौँ, तर हाम्रो चिन्ता संख्यात्मक वृद्धिमा मात्र नभएर गुणात्मकतामा हुनुपर्छ । प्रविधिलाई माध्यम बनाऔँ, तर आफ्नो साधनालाई ’लाइक’ को सङ्ख्यासँग साटोफेरो नगरौँ । सामाजिक सञ्जालको भित्तोमा हराएर जाने क्षणिक वाहवाही भन्दा समयको कसीमा टिकिरहने कालजयी लघुकथा सिर्जना गर्नु नै आजको आवश्यकता हो ।
अङ्क ३५ पढ्न र डाउनलोड गर्नका लागि



No comments:
Post a Comment