शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 28, 2020

छुपु र छुपु धान रोपौँ

                                                                                                 फोटोः सुमन श्रेष्ठ

–त्रिचन्द्र प्रतीक्षा  
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात् असार १५ गतेलाई धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । रोपाईहरुको मध्यमा पर्ने असार १५ एउटा व्यस्तताबिच थकाई, भोक मारिने चाड हो । दही, चिउरा, आँप लगायतका परिकारहरुले यसदिनलाई अझ विशेष बनाउने भएकाले नै होला असारे पन्ध्रलाई दही चिउरा खाने दिन भनिन्छ । भनाई नै छ, ‘१५ असारमा दही चिउरा, १५ साउनमा खिर यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाँटी, माघेसङ्क्रान्तिमा घिउ, चाकु, तरुल आदि खाने परम्परा छ । नेपाली समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही, चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक पक्षको रुपमा लिनुपर्दछ ।
यो परम्पराको सुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ । असार १५ विशेषगरी कृषिसँग जोडिएपनि अहिले शहरी परिवेशमा पनि असार १५ मा दही चिउरा खाने प्रचलन बढ्दै गएको छ । विकसित हुँदै गएको संस्कृतिविद् सत्यमोहन जोशी बताउनुहुन्छ । ‘१५ असारको संस्कृति नेपालमा प्राचीन समयदेखि मनाउँदै आएको हो’, उहाँ भन्नुहुन्छ, ‘धान रोपाइँको बेला असारे गीत गाएर मनोरञ्जनका साथ रोपाइँ जात्रा गर्ने, दही चिउरा खाने यहाँको छुट्टै विशिष्टता हो’ । रोपाइँमा गाउने गीतलाई असारे गीत भनिन्छ, आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रुपमा गाइन्छ । असारे गीतको भाकाले भौगोलिक विविधता समेटेको पाइन्छ । काठमाडौँ उपत्यमा गाइने असारे भाकाको छुट्टै महत्व हुन्छ । असारे भाकाको गीत गाउनु र हिलोमा रमाउँदै धान रोप्नुको जति महत्व छ, दही चिउरा खानुको पनि उत्तिकै महत्व छ ।

                                                                                                फोटोः सुमन श्रेष्ठ
धान दिवसको सुरुवात
असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खोल्ने, दही चिउरा खाने जस्ता नामले मनाउने परम्परा आजसम्म कायम रहेपनि वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय गरी वि.सं. २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको बताउनुहुन्छ धान विज्ञ भोलामानसिंह बस्नेतले ।
मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै निर्भर रहेको छ । विश्वका एक सय १४ मुलुकमा धानको उत्पादन हुने गर्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक पहिलो चीन हो भने यसपछि क्रमशः भारत, इण्डोनेशिया, बङ्गलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् । विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो भने नब्बे प्रतिशत धान एशियामै उत्पादन हुन्छ ।
                                                                                                 फोटोः सुमन श्रेष्ठ
कृषि विभागकाअनुसार नेपालमा करिब १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती भइरहेको छ । संसारकै सबैभन्दा उच्च स्थानमा धानखेती हुने नेपालको जुम्ला जिल्लाको छुमचौर हो । यहाँ जुम्लीमार्सी धानखेती लगाइन्छ ।
कान्तिपुर साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment