शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, May 12, 2020

दि लेडी विद दि ल्याम्प

-त्रिचन्द्र प्रतीक्षा
इतिहास हेर्ने हो भने थुप्रै महिलाले बिरामीहरुको स्याहारसुसार गरेको छन् । उदाहरणका लागि, हंगेरीका राजा एन्ड्रयु द्वितीयाकी छोरी एलिजाबेथलाई सन् १२२६ मा परेको अनिकालमा खाद्यान्न वितरण गर्ने प्रवन्ध र अस्पतालहरु निर्माण गर्ने बन्दोवस्त मिलाइन् साथै त्यहाँ तिनले क्षयरोग भएकाहरुको हेरचाह गरिन् । सन् १२०७ मा जन्मेका एलिजाबेथ, मात्र २४ वर्षकी छँदा सन् १२३१ मा मृत्यु भयो ।

यस्तै बिरामीको उपचार तथा स्याहारसुसारमा अन्य महिलाले पनि महत्वपूर्ण योगदान पुर्याएको पाइन्छ । यी महिलामा फ्लोरेन्स नाइटिङ्गेलको नाम अग्रणी स्थानमा आउँछ र उनको उल्लेखविना आधुनिक नर्सिङ इतिहास अपूरो रहनेछ । आधुनिक नर्सिङकी जन्मदाता मानिने  फ्लोरेन्स नाइटिङ्गेललाई  दया र सेवाकी प्रतिमूर्ति अर्थात् ‘‘द लेडी विद द ल्याम्प’’ (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ ।

मे १२, १८२० मा इटालीमा एक समृद्ध र उच्चवर्गीय बेलायती आमाबाबुबाट जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेल निकै पुलपुलिएर हुर्केकी थिइन् । यद्यपि, कलकलाउँदी फ्लोरेन्सले बिहेका प्रस्तावलाई अस्वीकार गरेर स्वास्थ्यसम्बन्धी शिक्षा हासिल गर्नतिर अग्रसर भइन् र गरिबहरुको हेरचाह गर्नेतर्फ पूर्णरुपमा लागिन् । आमाबाबुको विरोधका बावजूद पनि फ्लोरेन्स जर्मनीको केइजरस्भर्तमा नर्सहरुलाई तालिम दिने स्कूलमा भर्ना भइन् । पछि, तिनले पेरिसमा अध्ययन गरिन् र ३३ वर्षको उमेरमा लण्डनस्थित महिला अस्पतालमा सुपरिटेनडेन्टसम्म भइन् ।
त्रिचन्द्र प्रतीक्षा

फ्लोरेन्स नाइटिङ्गेलको नर्सिङको अतिरिक्त लेखन र एप्लाईड स्ट्याटिस्टिक्सको क्षेत्रमा समेत उनको दख्खल थियो । फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमिया युद्धमा रह्यो । अक्टोबर १८५४ मा आफ्नो स्वेच्छाले घाइते सिपाहीहरुको उपचार गर्न ३८ महिलाको एउटा दल तयार गरी सरकारले पठाएको देश टर्की गईन् । तिनले त्यहाँ ठूलो चुनौतीको सामना गर्नुपर्यो । नर्सहरुको समूहले भूतघर जस्तै पुरानो भइसकेको अस्पताल सफा गरे तर सफा गर्नु सजिलो भएन किनकी त्यहाँ साधारणभन्दा साधारण आवश्यक भौतिक सामानहरुजस्तै साबुन, रुमाल, हातधुने बेसिन केही थिएन भने बिरामीका लागि खाट, डस्ना वा ब्याण्डेज पर्याप्त मात्रामा समेत थिएनन् । फ्लोरेन्स र तिनको समूहले यो चुनौती स्वीकारेर युद्धको अन्तसम्ममा नर्सिङ तथा अस्पतालको प्रशासनमा सुधार ल्याइसकेको थियो । उनी त्यहाँ पुग्नुअघि मृत्युदर ६० प्रतिशत थियो र सन् १८५६ मा त्यहाँबाट फर्कदा उक्त मृत्युदर घटेर २ प्रतिशतभन्दा कम भइसकेको थियो । राति राति बिरामीलाई बत्ती लिएर उपचार गर्न जाने भएकैले नाइटिङगेललाई बत्ती लिएकी महिला अर्थात् लेडी विथ द ल्याम्पका रुपमा विश्वभरि नै प्रसिद्धि मिल्यो ।

सन् १८५९ मा तिनले लण्डनस्थित सेन्ट थोमसेज हस्पिटलमा कुनै धार्मिक सम्बन्धबिनाको पहिलो नर्सिङ स्कूल, नाइटिङगेल ट्रेनिङ स्कुल फर नर्सेज स्थापित गरिन् । यसैवर्ष स्वास्थ्योपचारको स्तरलाई उकास्न तिनले नर्सिङ सम्बन्धी पुस्तक समेत ‘नोट्स अन नर्सिङ’ प्रकाशित गरिन् ।

त्यो समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुसार गर्ने कार्यलाई उच्च सम्मानका दृष्टिबाट हेरिदैन्थ्यो । त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो । उनकै कारण विस्तारै समाजले नर्सिङ पेशालाई सम्मानका साथ हेर्न थाल्यो र थुप्रै महिला यसतर्फ आकर्षित पनि भए । यसरी फ्लोरेन्सले त्यसबेलाको पुरातनवादी सोचलाई चिर्दै स्वास्थ्य उपचारका दिशामा नयाँ युगको सुरुवात गरेकै कारण सन् १८६९ मा उनलाई बेलायती महारानी भिक्टोरियाले रोयल रेडक्रस सम्मानबाट सम्मानित गरिन् । वास्तवमा उनको नर्सिङ’ पेशालाई एक नयाँ उचाइमा पुर्याउन निकै महत्वपूर्ण भूमिका खेलिन् भन्दा अत्युक्ति हुने छैन ।

लामो समय युद्धका घाइतेको बिरामीको स्याहार सुसार गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्यो र ओछ्यान परिन् । निकै वर्ष ओछ्यान परेका फ्लोरेन्सको ९० वर्षको उमेरमा १३ अगस्त, १९१० मा पार्क लाईन, लण्डनमा सधैँका लागि देह त्यान गरिन् । उनका बारेमा केही विरोधका स्वर पनि नसुनिएका होइनन् तथापि नर्सिङ र अस्पतालको प्रशासनमा तिनले सुरु गरेको प्रविधि स्तुत्य छ र यसले विश्वका थुप्रै राष्ट्रका चिकित्सालयमा निकै सकारात्मक प्रभाव पारेको छ । फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलाहरुलाई नर्सिङ क्षेत्रमा आउने प्रेरणा प्राप्त हुनसकेका साथै यो पेशा सेवा तथा सद्भावले परिपूर्ण छ ।

-गोरखापत्र दैनिकमा प्रकाशित

1 comment:

  1. धेरै राम्रो सान्दर्भिक लेख !!

    ReplyDelete