शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, July 31, 2022

नागपञ्चमीको महत्व

फोटोः गुगल

- त्रिचन्द्र प्रतीक्षा

नेपाली समाजमा नागलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ । नेपाली संस्कृतिमा मानिसको मात्र होइन, पशुपक्षी आदि जीवजन्तुहरुको पनि सह-अस्तित्व स्वीकार गरिन्छ । हरेक वर्षको साउन शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरुले नागपञ्चमीको रुपमा नागको प्रतिविम्ब (चित्र)लाई भित्तामा टाँसेर पूजा गर्ने गर्दछौँ, नागलाई पानी र वर्षाका देवताका रुपमा मानिन्छ । समयमा वर्षा होस् र बाढीबाट जनधनको हानि नहोस् भन्ने हेतुले नागको पूजा गरिन्छ । नागपञ्चमी मनाउनु हाम्रो जस्तो कृषिप्रधान देशका लागि सकारात्मक पक्ष पनि हो । 

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने, आगो, सर्पको भय र विपत्ति हुँदैन भन्ने जनविश्वास रहिआएको पाइन्छ ।

पौराणिक कथनअनुसार नागपूजाको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका आधार मान्दा राजा परीक्षितका छोरा जन्मेजयले गरेको सर्प यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक (जरत्कारु र मनासादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्प यज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

त्रिचन्द्र प्रतीक्षा

पौराणिक साहित्यहरुमा नागजातिको सन्दर्भमा व्यापक परिचर्चा परेको छ । शेषनागले सम्पूर्ण पृथ्वीलाई धारण गरेको र भगवान् विष्णु क्षीरसागरमा शेष शैय्यामा शयन गरेको कथन छ । भगवान् शिवजीले नागपूजा देवताहरुको लागि पनि दुर्लभ पूजा भन्नुहुन्छ । यमुना नदीमा बसेर कालीनागले जल विषाक्त बनाएको र भगवान् श्रीकृष्णले काली नागलाई दमन गरेको हरिवंश पुराणमा उल्लेख छ ।

अन्य पुराणहरुमा पनि नागपूजाको विशेष उल्लेख गरिएको पाइन्छ । 'नारद पुराण' अनुसार नागपञ्चमीका दिन नागपूजा र नागहरुलाई दूध पान गराउनाले सर्पदंशबाट असामयिक मृत्युबाट बचाउ हुन्छ । 'भविष्य पुराण' मा पनि नागहरुको पूजाअर्चना गरी पर्यावरणलाई सन्तुलित राख्नुपर्ने कुराको चर्चा पाइन्छ भने 'गरुड पुराण'मा समेत पूजा गर्नाले सुख समृद्धि वृद्धि हुने भनिएको छ । 

काठमाडौँ उपत्यकाको उत्पति नागजातिसँग जोडिएको मिथक पाइन्छ । 'स्वयम्भू पुराण' अनुसार काठमाडौँ उपत्यका जलमग्न रहेको समयमा नागजातिले शासन गर्दथे । विभिन्न लोक आख्यान अनुसार नागहरुलाई नै नेपालको प्रथम आदिवासी हुन् भनि मानिन्छ । हालको नागदहमा तक्षक, कुलिक र कर्कोटक नागको आश्रयस्थल थियो । चीनबाट आउनु भएका महा-मञ्जुश्रीले चोभारको पहाड (कच्छवाल पहाड) काटेर पानी बाहिर निकास गरे पछि सम्पूर्ण नागहरु पानीसँगै बगेर बाहिर गए । पछि काठमाडौँ उपत्यकाको रक्षाको लागि महा-मञ्जुश्रीले कर्कोटक नागलाई टौदहमा बस्ने आज्ञा दिए । मिथकअनुसार कर्कोटक नागराजका परिवार (श्रीमती)को आँखा दुखेको र एकजना ज्यापूले निको पारीदिएकोमा खुशी भएर हिरामोती नवरत्न जडित भोटो ज्यापूलाई उपहार दियो । एकदिन ज्यापूले खेतमा काम गर्दै गर्दा उक्त भोटो भूतले चोरेर लगेको जनश्रृति प्रचलित रहेको छ ।

यस्तै नागपञ्चमीका दिन ललितपुर धापाखेलको नागदहमा पनि ठूलो मेला लाग्ने गर्दछ । एक लोक आख्यानअनुसार १६ वर्षीया किराँती युवती कुरुप भएकै कारण आफ्नो लोग्नेले छोडेका थिए । बरु यस्तो कुरुप अनुहार लिएर जिउनु भन्दा मर्नु नै निको ठानेर नागदहमा डुबेर मर्न लागेकी थिइन । सोही स्थानमा शिकार खेल्दै गरेको युवा किराँतले देखेर डुबेको युवतीलाई निकाल्दा सुन्दरीको रुपमा परिवर्तन भए । सो दिन नागपञ्चमी परेको हुनाले युवतीले नागदहको महत्व र महिमा बुझिन् । नागपञ्चमी दिन दहमा पूजा गर्न थलिन् । यही क्रमको निरन्तरताले आज मेला भर्न थालेको भनाइ रहेको पाइन्छ ।

भक्तपुरका बासिन्दाहरु सिद्धपोखरीमा गएर नागपञ्चमी भव्यरुपमा मनाउने गरिन्छ । एक लोक आख्यानअनुसार ठिमीका जना व्यापारी र तान्त्रिक साथी सिद्धपोखरीमा बसेर नागको बारेमा कुराकानी गरिरहेका थिए । सो कुरा नागले सुनेर रिसाउँदै तान्त्रिकलाई पोखरीभित्र आएर झगडा गर्न बोलाए । तान्त्रिक पनि के कम थियो र आफ्नो साथीलाई एक मुट्ठी चामलमा मन्त्र फुकेर दिंदै भने "म पोखरीबाट निस्कने बेलामा नागको स्वरुपमा आउँछु र यो चामलले मलाई हिर्काउनु ।" तान्त्रिक पोखरीभित्र गई नागलाई मारेर निस्कँदा साथीले चामलले हिर्काउनु पर्नेमा डरलाग्दो नागको स्वरुप देखेर तिनी ठिमीतिरै भाग्यो । यता तान्त्रिक साथी मान्छेको स्वरुपमा आउन नसकेर नागकै रुपमा सोही सिद्धपोखरीमा गएर बस्यो । भनिन्छ आजसम्म पनि ठिमीका मानिसहरु डराएर उक्त सिद्धपोखरीमा जाँदैनन् र भक्तपुरबासीहरु सो तान्त्रिक व्यक्ति आजसम्म पनि नागकै रुपमा रहेको जनविश्वास गरिन्छ । नागपञ्चमीमा सो पोखरीमा गएर पूजाआजा गर्ने गर्दछन् । 

फोटोः गुगलबाट
नागको सम्बन्धमा नेपाली समाजमा यस्ता विभिन्न किंवदन्तीहरु प्रचलित रहेको पाइन्छ । नागलाई पानी पार्ने देवता, वातावरण सफा राख्ने प्राणीको रुपमा व्याख्या गरेको समेत देखिन्छ । भने शरीरमा घाउ, खटिरा आएमा कपासको नाग बनाई काठमाडौँको सुन्धारास्थित नागमन्दिर, शोभाभगवतीलगायत थुप्रै स्थानमा रहेका नागलाई पुज्ने परम्परा रहिआएको पाइन्छ । यसै अवसरमा नागको वासस्थान मानिएका टेकू दोभानको चिन्तामणि तीर्थ, चाँगु भक्तपुरको पुण्य तीर्थ, शंखमूलको शंकर तीर्थ, कोटेश्वरको शान्ति तीर्थ र सानेपाको राजतीर्थमा बज्रयानी बौद्ध परम्पराअनुसार विशेष पूजा समेत गर्ने चलन रहिआएको छ । यस दिनमा काठमाडौँ नक्सालस्थित नागपोखरी र चोभारस्थित टौदहमा विशेष मेला लाग्ने गर्दछ ।

हिन्दू समाजमा नागलाई शिव र विष्णुका रुपमा पूजा गर्दछन् । शिवले नागको माला लगाएका छन् र विष्णु जलमाथि शेषनागको शैय्यामा फणाको छाता ओढी सुतेका हुन्छन् । यस्तै गणेशको एक हातमा पनि नागबाण छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार भएको मानिन्छन् । कृष्णले बालककालमै कालीनागको दमन गरेको प्रसङ्ग पसिद्ध छ । 

बौद्ध परम्परा अनुसार पनि बुद्ध जन्मनासाथ नन्द र उपनन्द नामक नागले उसको स्तुति गरेका थिए । बुद्धले ज्ञान प्राप्त गरेपछि केही समय बोधिवृक्षमुनि बस्दा उनको शिरमा नागराज मुचलिन्दले छायाँ दिएको कथा बौद्ध परम्परामा भेटिन्छ । यस्तै जैन धर्मका सातौं र २३सौं तीर्थङ्कर सुपार्श्व र पर्श्वनाथको शिरमाथि सातवटा सर्पका टाउकाको छत्र बनाएर उनीहरुलाई नागसँग सम्बन्धित बनाएको देखिन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला छ । यी प्रमाणबाट नागको महात्म्य बुझ्न सजिलो हुन्छ । भगवान् बुद्ध यस्तो प्राकृतिक पूजामा विश्वास नगर्ने भए तापनि वहाँले भन्नुभएको छ- "नागको पूजा वन्दना गर्नाले सर्पबाट हुने भय हुँदैन, सर्पको विषले असर गर्दैन ।"

नागपूजाको परम्परा वैदिककालदेखि चल्दै आइरहेको छ । यसको अतिरिक्त सूर्योपासनाको प्राचीन परम्पराबाट पनि सर्पपूजाको प्राचीनताको ऐतिहासिकता प्रष्ट हुन्छ । ऋग्वेदमा सूर्य अहिको रुपमा वर्णित छ त्यहि सर्पोपासनाको रुपमा विश्वव्याप्त हुन गयो । सूर्य प्रतीक सर्पहरुको उपासनाको प्रसार विदेशसम्म पनि पुगेको थियो । अश्विनी कुमारहरु जस्तै रोमवासीहरुमा एसकुलपिपस देववैद्य मानिन्छ । मिश्रवासीहरुको हार्मिस, बेबिलोनियाको बेल आदि सबै सर्पका प्रतीक मानेर पूजा गरिन्छ । भनिन्छ कि विश्वविजेता अलेक्जेण्डर नागवंशीय थिए । इजरायलका राज योथभले नागपूजाको लागि मन्दिरसमेत निर्माण गरेका थिए । एशिया माइनरका प्राचीन मुद्राहरुमा सर्पका आकृति अंकित गरिएका छन् । आठौं शताब्दि ई.पू. देखि प्राप्त भएका (पञ्चमार्कड) आहत मुद्राहरुमा सर्पाकार आकृतिहरु पाइन्छ । इशाईहरुको धर्मग्रन्थ बाइबलको आरम्भमै आदम र ईभको कथामा सृष्टि रचनाको समय एउटा सर्प रुखमा टाँसिराखेको देखाइएको छ । यसरी सर्पोपासना एशिया, यूरोप र दक्षिण अमेरिका देशहरुसम्म फैलिएको कुरा इतिहासमा पाइन्छ । 

वैज्ञानिक अध्ययन विश्लेषण गर्ने हो भने सर्पहरुबाट हामीले अप्रत्यक्षरुपमा भए पनि फाइदा लिइरहेका हुन्छौं । सर्पहरुलाई हानीकारक ठान्नुको कारण तिनीहरुको टोकाइको डरले नै हो तर सर्पले डस्ने कार्य सितिमिती गरी हाल्दैन । तिनीहरु आफ्नो सुरक्षाको निमित्त मात्र टोक्ने गर्दछन् । सर्पले डसी हालेको खण्डमा पनि सबै सर्प विषालु नहुने हुँदैनन् । विषालुभन्दा अति विषालु जातको सर्पको संख्या धेरै हुने नहुने हुँदा मृत्यु हुने सम्भावना पनि कम हुन्छ । यदि विषालु सर्प नै परेको खण्डमा पनि समयमै उपचार व्यवस्था हुन सकेमा बाँच्न सकिन्छ । विकसित देशहरुमा सर्पहरुलाई पूर्ण संरक्षण दिइएको पाइन्छ । 

धार्मिक र प्राकृतिक पर्यावरण बचाउनका लागि पनि सर्प मात्र होइन पृथ्वीमा भएका कुनै पनि जीवजन्तुहरुलाई संरक्षण गर्नु मानवजातिकै लागि चुनौतीको विषय भइसकेको छ । 

सन्दर्भ सामग्री

नेपाल राष्ट्रिय चाडपर्व - डा. ऋषिप्रसाद शर्मा
नेपालका चाडपर्वहरु - किरण पन्थी
नेपाः चित्रमय नखःचखःया देश - कल्याण मित्र
नेपालका सर्पहरु - करणबहादुर साह
हाम्रो संस्कृति - हरिराम जोशी
नेपाली विकिपीडिया र अन्य पत्रपत्रिकाहरु


गोरखापत्र दैनिक, साउन १३, २०७५ मा प्रकाशित


No comments:

Post a Comment