बागमती विष्णुमती ...
प्रकृति स्वच्छ राखौ जुटौ आजै सङ्कल्प बोकेर मनमा बागमती विष्णुमती सफा रहे पवित्र हुन्छ घर आँगन हे ! कान्तिपुरी नगरी तिम्रा पवित्र जल धारहरू हुन् यिनै तिम्रा सुन्दर कल कल गर्ने मोतीका हारहरू हुन् यिनै यिनैका जलले हाम्रो प्राण सञ्चार गराउँछन् आराध्यदेव भगवान् यिनै नदीहरूमा नुहाउँछन् यस्ता पवित्र तिर्थस्थल नदीहरूमा मलमूत्र बगिरहेछ छि छि कस्तो लाज मर्नु भो हामीलाई धिक्कार छ देवर्षी महर्षी ज्ञानीहरूले तपस्या गरे यहाँ कति कति लिए अखण्ड भक्ति ज्ञान यिनै नदीहरूका तीरमा बसी लागौं अब सरसफाईतिर कत्ति पनि ढिला नगरी हाम्रा लागि यिनै नदीहरू हुन् गंगा यमुना काबेरी आजीवन हामीले बागमती विष्णुमतीको गाथा गाउँ अन्त्यमा ब्रह्मनालमा सुत्दा यिनैको जल पिउन पाउँ हाम्रो निश्चल निस्कपट आस्था श्रद्धा छ मनभरि स्वर्गभन्दा पनि पवित्र छ हाम्रो कान्तिपुरी नगरी यिनैका छेउमा रोपौं फलफूल बिरुवा खाली ठाउँ नराखी कतै अनि बाचौं हासौं स्वस्थ भई स्वच्छ वातावरणमा मजासितै नदी र नगर प्रदूषित बन्दा वातावरण र मन स्वच्छ हुन्न यसैको परिणाम, हामी सबैको दीर्घरोगी बन्दछ जीवन सत्कर्मले मानिस महान बन्दछ बागमती विष्णुमती राखौं मनमा अनिमात्र सत्य धर्म-संस्कृति सु-संस्कार भित्रिन्छ हाम्रो घर-आँगनमा यी जलाशय जननी बागमती, विष्णुमती, सरिता, सुधा, लतामती यिनैका निर्मल आशिर्वादले स्वस्थ्य सम्बृद्धि बन्दछन् हाम्रा सन्तति ...!!! ***************
रवि  र  कवि
हे रवि !
तिमी माथि आकाशमा छौ
म, तल पृथ्वीमा
तिमी जे देख्छौ म देख्दिन
म, जे देख्छु तिमी देख्दैनौ 
देख्नुपर्छ तिमीले जे म देख्छु
देख्नुपर्छ मैले पनि जे तिमी देख्छौ
रवि !
तिम्रो उषाकालीन लालिमामय किरणमा
अन्ध आँखा, बन्द विवेक भएका जनमनहरू
जहाँ अन्धविश्वासका अँधेरा आँखा छन्
विवेकहीनताका डरलाग्दा खाल्डा छन्
विषम र विभेदका 
कहालीलाग्दा लक्ष्मणरेखाहरू छन्
यिनलाई छातीमा टाँसेर
तकमा भिर्न इच्छुक अनेकौ कंसहरू 
जो महिनावारीका नाममा
चेलीचित्कार
गोठगोठमै मारिरहेछन्
भोका पेट
सारङ्गी रेटिएका असङ्ख्य आर्तहरूलाई
बारुदको आगोमा जलाइरहेछन्
हे रवि !
आऊ, तिमी र म एउटै यात्रा गरौँ
अन्धविश्वास विरुद्धको यात्रा
भोका पेट विरुद्धको यात्रा
देश विरुद्ध लाग्ने विरुद्धको यात्रा
चेतना चमत्कारयुक्त यात्रा
जसमा म जे देख्छु
तिमी त्यही देख्नेछौ
तिमी जे देख्छौ
म, त्यही देख्नेछु
त्यो सुन्दर समय चेलीहरू 
प्राकृतिक नियमानुसार घरमै
आरामको निद सुतेर आँखा उघार्छन्
भोका पेट चारो टम्म भरेर
जीवन रथ-पाङ्ग्रा चलाउँछन्
अन्धविश्वासका आँखाहरू 
अँधेरो पर्दामै छोपिन्छन्
तिमी, ममा र
म, तिमीमा एकीभूत हुनासाथ
सुन्दर सगरमाथा शिर बन्छ
शीतल हिउँ मन बन्छ
यस पवित्रताको पटाङ्गिनीमा
न कोही रुन्छ
न कोही रुवाउँछ
समताको सौन्दर्य फिँजाएर अनन्त हिड्न
आऊ, तिमी चेतना फैलाऊ
म, श्रमका हात उचालेर
पर्वत ओर्लन्छु तराईतिर
तराई, उक्लन्छु पहाडतिर !!!
***************
सुखानुभूति ...
तब, 
हृदयभरि 
तिमी नै तिमी 
मायालु भाव बोकेर 
गुन्जिन थाल्छौ
अनि,
यो मानस पटलमा
केबल तिम्रो विम्बले 
साम्राज्य जमाउँदा
तिम्रो मुटुको हर धड्कनमा
म धड्किएको आभाष हुन्छ 
सायद,
यही कारण होला
मेरा हर बाणीमा 
हर शब्दमा 
तिमी बगिदिन्छौ
घरि मायालु बनेर 
घरि दुःख सुखको
सहयात्री बनेर
मेरा गुनासा 
हाँसी हाँसी आत्मसाथ गर्छौ
जिन्दगीको भोगाईमा
मेरा पाईला बनी 
दुःख सुखको साक्षी बन्छौ
सुखमा साथ दिन्छौ
दुःखमा हात दिन्छौ
भन  प्रिय !
तिमी बिनाको जीवन
जीवन रहला र ? 
तिम्रो साथ बिनाका 
मेरा पाइलाहरू गन्तब्यमा
पुग्ला र ? 
अहँ तिमी बिनाको एकपल
जीउनुको त्रासदी 
म खप्न सक्दिन 
प्रिय !
धड्कनबिना 
मुटु चल्न सक्छ र ?
हो तिमी बिनाको जीवन
कल्पना गर्न सक्दिन म 
नङ र मासु
हेर त कति आत्मियतका साथ
एकअर्कामा 
समाहित भएका छन्  
तिमी मेरा हृदयका फाँटमा
दुःखमा खुसी 
पल्लवित गर
म तिम्रा हृदयका फाँटहरूमा 
मसँग जीवन जिउनुको
सार्थकताको बीज 
पल्लवित गर्छु 
तिमी ममा अनि म तिमीमा
त्यसैको छहारिमा
जीवनभर 
एकअर्कामा 
समाहित भैरहन सकूँ ....!!!
- सामाखुशी, काठमाडौँ
 
 




 
No comments:
Post a Comment