वैशाख २२ गते । वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको नियात्रासङ्ग्रह ‘जहाँ छचल्किए भावना’ लोकार्पण गरिएको छ । सोमबार आयोजित समारोहमा साहित्यिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू प्रतीक ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. भरतकुमार भट्टराई लगायतले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरिएको हो । समारोहमा पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष एवं वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा तथा नियात्राकारका सम्बन्धमा प्रकाश पार्नुभयो ।
यस्तै कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. भट्टराईले कृति सुन्दर र सुललित बनेको बताए ।उनले कृतिभित्र २०७१ देखि २०८२ सम्म लेखिएका २८ वटा नियात्रा समेटिएको चर्चा गर्दै आचार्यको लेखनमा वर्णनको चातुर्यता रहेको उल्लेख गरे । भने, प्रतीक ढकालले उहाँले यात्रा गर्नुलाई विश्वविद्यालयको शिक्षाभन्दा बढी ज्ञानवर्धक मान्दै आचार्यको कृतिले पाठकलाई सूचनाको सुगन्धमार्फत तृप्ति दिने बताउनुभयो। यस्तै, नियात्राकार ‘रोदन’ले नियात्राको शक्ति भनेको त्यसले पाठकलाई घुमाउन सक्नुपर्छ भन्दै कृतिकारले पाठकलाई ठाउँठाउँ घुमाउने चर्चा गरे ।
कृतिकारको भनाइ कृतिकार निर्मलकुमार आचार्यले साथीभाइ र शुभेच्छुकहरूको निरन्तर प्रोत्साहनले नै यो कृति सम्भव भएको बताउनुभयो। नियात्राकार आचार्य गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक हुनुहुन्छ । उहाँका यसअघि प्रथम नेपाली महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन, सहलेखन), सांस्कृतिक सेरोफेरो (निबन्धसङ्ग्रह), मनको ओखती (गीतसङ्ग्रह), १०१ प्रथम नेपाली महिला (पूरक खण्ड), मेदिनीस्मृति (योग, ज्ञान र ओखतीमूलो), अग्रणी महिला, सांस्कृतिक सौरभ (सह–सम्पादन), बिर्सनै नहुने कृष्णप्रसाद, प्रथम नेपाली महिला प्रकाशित भइसकेका छन् ।


No comments:
Post a Comment