नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो
जीवनका तीन दशक बिताइसकेका रामजी घिमिरेको रामजी घिमिरेका १०१ गजलहरु नामक गजल सङ्ग्रह
२०७१ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका १०१ वटा गजलहरु
राखिएका छन् । यस कृतिभित्रको पहिलो गजलभित्र जुनी जुनी तिम्रो दिलमा बास देउ मलाई
सँगै बाँच्न तिम्रै आधी सास देउ मलाई भनिएको छ। गजलमा कविताको आवाज उतार्न सक्नु पर्छ
। गजलका सेरहरुमा मुक्तकीय प्रभाव दिन सक्नुपर्छ ।
कर्म खोटो भए पछि के को खुशी मिल्थ्यो
हजुर बल्ल बल्ल जुराएको भेट्ने मिति स-यो कठै घिमिरेले गजलमा लेखेका
छन् । गजल उत्कृष्ट र सुन्दर बन्नका लागि गजलको रुप पक्ष र भाव पक्ष दुबै सबल हुनु
आवश्यक छ । रुप पक्षका दृष्टिले सङ्ग्रहभित्रका सबै गजलहरु सुसज्जित छन् । मानविय संवेदना,
प्रेम, घात प्रतिघात, देशभक्ति र माटोप्रतिका प्रेम
र प्रकृतिचित्रणका कोमल भावहरु उनका गजलभित्र भेटिन्छन् । गजलकार घिमिरे सफल गीतकार
पनि हुन् । आफूले भोगेको र देखेको समयलाई आफ्नो
चेतना तथा अनुभवले महसुस गर्ने र त्यसको सजीव तस्बिर उतार्ने प्रयासको उपज हो यो गजलसङ्ग्रह। यसभित्रका गजलहरुले कही कतै कसैको मन छोयो भने त्यही नै पर्याप्त हुन्छ ।
बालापनको संगी साथी आज भेट हुँदा
नखोज्नुथ्यो त्यस्तो भाउ तिमीले भुल्यौ क्यारे ।
बन्धक राखि जेथो सबै सपना बोक्दै मुग्लान पसे कसरी म फर्कौ रित्तै साहुको कसम चुक्ने गरी घिमिरेले गजलमा भनेका छन् । घिमिरेका गजल भने अधिकांश कोमल भावका नै छन् । यिनका गजलमा जिन्दगीका विवशता, उमङ्ग–उत्साह,
कहाँ गएर माग्ने बास बस्ती बगे पछि
जताततै त्रासै त्रास बस्ती बगे पछि ।
नेपाली साहित्यमा गजल पचासको दशकदेखि निकै गरमा गरमको विषय बनेको छ । गजलका मञ्चहरु निकै सशक्त छन् । आज नयाँ पुस्ताका लेखकहरुको जन्म गजल विधाबाट हुन थालेको छ । गजलको सुरुवात श्रृङ्गारिकताबाट सुरु भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्दछ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिविम्वित हुनुपर्छ । जीवनका अनुभूतिहरु प्रेम विछोडका समसामयिक घटनाक्रमहरुलाई गजल लेखेर घिमिरेले चित्रण गरेका छन् । गजल लेखनको मेल यतिखेर मेची–महाकालीसम्म मात्र नभएर विदेशिएका नेपालीहरुले समेत चुर्लुम्म डुबेर सन्तोषका सुस्केराहरु पस्किएर आनन्दको अनुभूति गरिरहेका छन् । गजलको प्रयोग फारसी, अरबी र उर्दू हुँदै हिन्दीमा आएर समृद्धितर्फ उन्मुख भएको छ । फारसी वा उर्दूमा गजलले उच्च स्थान बनायो। हिन्दी जगत्मा पनि गजल निकै चम्कियो । घिमिरेका गजलहरुले समाज, देश, आफू, प्रेम, प्रणय, वियोग आदिलाई समेटेका भए पनि बढी मात्रामा मन नै छचल्किएको छ । हृदयपक्ष सवल भएर गजलमा गुनगुनाइरहेको देखिन्छ । तथापि उनका गजलहरुले जीवनका गहिराई खोज्ने प्रयास गरेका छन् । तिमी हिँड्ने मूल बाटोमा सबै काँडा पन्छाएर सयपत्री र मखमलीका फूलका बीउ छरिसके घिमिरेले गजलद्वारा प्रस्तुत गरेका छन् –
दुबै मिली सजाएको पिरतीको फूलबारीलाई
आगो लगाइ जलाएर नास्नु भन्दै गयौ तिमी ।
उनी गजलमा देश, जनता र समाज लेख्छन् । तिमीलाई शितल दिदा आफैलाई सुकाई सके यो कलिलो जिन्दगानी
बेकसुरमा दुखाइसके उनको गजलले बोलेको छ । गुराँसको गुच्छा बोकी कुर्दिन म दोबाटोमा
हृदयको चोखो माया अब नलाउ भन्छ्यौ भने घिमिरेले गजलमा लेखेका छन् । पेशाले सैनिक भए
पनि उनी कविताहरु कोरेर साथीभाइलाई सुनाउने गर्दथे । साँझ ढल्छ यादले छल्छ तब दियो
बाल्छु सधैँ तस्बिर तिम्रो हातमा लिदै अनि रुँन थाल्छु सधैँ गजलकार घिमिरेले भनेका
छन् । गजलकार रमाए आँगनीमा मखमली फुलेपछि बन्द भाको पिरतीको मूलबाटो खुलेपछि गजलमा
लेखिएको छ । पस्दिन म मुग्लान अब आफ्नै माटो जोत्छु हजुर यही माटोमा नङ्ग्रा खियाई
श्रमको मोल खोज्छु हजुर उनले गजलमा लेखेका छन् । आउँछन् पर्रा गोली र छर्रा टाउकामै
वर्षेझैँ त्यो बेला द्यौतालाई अछेताफूल छरेको सम्झन्छु उनी गजलमा भन्दछन् ।
गाउँमा अहिले बुढा र बुढी नपढ्ने बस्छन् रे
पढेका बढेका राजधानी सरे रुँदै छ मूलपानी ।
उनी गजलका विषयवस्तुमा व्यापकता छन् र आफूले प्रस्तुत गर्ने विषयमा स्पष्ट छन्
। आफ्ना सोच बिचारमा स्पष्ट र दृढ देखिने यी गजलकारले आफ्नो भन्नुलाई सोझो बाङ्गो किसिमले
व्यक्त गरेका छन् । उनको यो लेखाईले नयाँ पुस्ताका लेखकहरुलाई गजल लेख्ने ठूलो हौसला
अवश्य मिल्न सक्दछ भन्ने अपेक्षा गरेको छु । यस सङ्ग्रहको साथमा गजलकार रामजी घिमिरेको
गजल भण्डारमा ठूलो फलदायक मिल्नेछ ।
पुस्तकः रामजी घिमिरेका १०१ गजलहरु
प्रकाशकः श्रीमती सीता घिमिरे
प्रकाशन मितिः २०७१ माघ
पृष्ठः १११
मूल्यः रु.१७५।–
-सामाखुसी मार्ग, ९३५ / ५४, सरकारी धारा, काठमाडौं
No comments:
Post a Comment