–त्रिचन्द्र प्रतीक्षा
हरेक देशमा नयाँ वर्षको आफ्नै महत्व र विशेषता हुन्छ । जुन संस्कृतिसित जोडिएर आएको पाइन्छ । यसले त्यहाँको पहिचानलाई समेत झल्काइरहेको हुन्छ । निश्चय पनि यस्ता संस्कारहरुले सबैलाई एकबद्ध रहन टेवा पु¥याएको देखिन्छ । प्राचीन युनानमा २१ जुनपछि आउने पूर्णिमामा नयाँ वर्षको रुपमा मनाइन्छ भने रोमन सम्राट जुलियस सिजरभन्दा पूर्व रोमनमा १ मार्चमा नयाँवर्षको रुपमा मनाइन्छ ।
त्रिचन्द्र प्रतीक्षा |
विक्रम संवत्लाई चन्द्रशमशेरले ज्योतिषीहरुको सल्लाहमा तिथि र बारहरुमा तलमाथि नगरी विक्रम संवत् १९६० मेष संक्रान्ति वैशाख १ गतेदेखि प्रारम्भ गरी लेख्ने चलन चलाएका हुन् । यस्तै अर्को कथनअनुसार, नेपालको पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा विक्रमादित्य राजाको बारेमा किंवदन्तीहरु प्रस्तुत गरेको पाइन्छ । एकपटक बज्रयोगिनीबाट पारसमणी सहित आशिर्वाद प्राप्त गरेको नारायणहिटीको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरे । त्यहाँ जोडीधारा (हालको नारायणहिटी) बनाएर तीर्थ समेत चलायो । त्यसैबेलादेखि विक्रम संवत् प्रचलनमा आएको भन्ने उल्लेख छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँ साँखु बज्रयोगिनी मन्दिरमा उनकै टाउको रहेको छ र जसको युगौदेखि बज्राचार्यहरुले पूजा गरिदै आइरहेका छन् ।
इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्–΄’विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी–चौबीसी, मल्ल, शाह राजाहरुले विक्रम संवत् चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरुमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरुमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो । भक्तपुरमा नयाँ वर्ष प्रारम्भ हुँदा धुमधामसाथ बिस्केटजात्रा मनाइन्छ भने तराईमा थारुहरु वैशाख सुरु हुने दिनदेखि नैं सिरुवापर्व मनाउँछन् ।’
बिस्केटजात्राका दिन भक्तपुरमा चैत मसान्तमा गाडिएको विश्वध्वज नामक लिङ्गोलाई ढाल्ने गरिन्छ भने बोडेमा भोलिपल्ट जिब्रो छेड्ने जात्रा धुमधामका साथ मनाइन्छ । पुण्यरत्न बज्राचार्यद्वारा लिखित ‘हाम्रो चाडपर्व’ नामक पुस्तकका अनुसार काशीका विश्वनाथ कुनै कारणवश भक्तपुरमा आएको चाल पाए । त्यहाँका एक प्रसिद्ध तान्त्रिकले उनलाई यही रोक्ने प्रयास गरे । त्यो थाहा पाएर विश्वनाथले भैरवरुपधारण गरी भाग्न लागे । उनले तत्कालै तलवारद्वारा भैरवको टाउको काटेर त्यहाँ स्थापना गरे । पछि मल्ल राजाहरुले उनै विश्वनाथको अनुहार प्रदर्शनको रुपमा बिस्केटजात्राको परम्परा बसालेको अनुमान छ । यसै दिन टोखामा अवस्थित सपनतीर्थमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ रहेको जलकुण्डमा वैशाख १ गते नुहाएमा छाला सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ । बागमतीको उत्पत्ति बागद्वारबाट भएको मानिन्छ । यहाँ पनि चैत मसान्त र वैशाख सङ्क्रान्तिमा ठूलो मेला लाग्दछ । यो काठमाडौँ उपत्यकाको प्रमुख जल भण्डार पनि हो ।
पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने जाति (राजवंशी, गन्गाई, ताजपुरिया, धिमाल, चौधरी)ले वैशाख १ देखि तीन दिनसम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् । वर्षको पहिलो दिन पानी छ्यापा–छ्याप गरी ‘जल’ सिरुवा मनाउने गरिन्छ । वर्षभरी शितलता प्राप्त होस् भन्दै जल सिरुवा खेल्ने चलन छ । त्यस्तै दोस्रो दिन ‘काद’ सिरुवा मनाइन्छ । काद सिरुवामा हिलो छ्यापाछ्याप गर्ने चलन छ । सिरुवाको अन्तिम दिन ‘रंग’ सिरुवा मनाईने गरिन्छ । बर्षभरी आफूले इच्छाएका विभिन्न इच्छाहरु पूरा हो भन्ने कामनाका साथ एकआपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ ।
सिरुवा पर्व |
सहलेस फूल |
सिराहाको लाहानदेखि पाँच किलोमिटर पश्चिम, पूर्व–पश्चिम राजमार्गदेखि १ किलोमिटर दक्षिणमा पर्ने बगैंचामा वर्षको एकदिन मात्र फूल्ने सलहेश फूल फूल्दछ । जस्मा एउटै मात्र माला जस्तो लामो झ्याम्म परेको लटरम्म फूल हो । अचम्मको कुरा अघिल्लो दिन कोपिला लाग्ने बिस्तारै आकार दिंदै नयाँ वर्षको बिहान मालाको आकारमा फूल्दछ । बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिदै भोलिपल्ट झर्ने गर्छ । हरेक वर्ष यो चमत्कारी फूल हेर्नका लागि छिमेकी राष्ट्र भारतबाट हजारौं सङ्ख्यामा मानिसहरु नयाँ वर्षका दिन त्यहाँ पुग्ने गरिन्छ । हामीले यसलाई अलौकिक नै मान्नुपर्ने हुन्छ ।
नयाँ वर्ष सुखद् अवसर हो, यो सुखद् अवसरमा जीवनलाई सुखद् बनाउने कोसिस गरौँ । जीवन, सङ्गो नदीजस्तै सलल् बगोस् । फूलजस्तै फक्रक फूलोस् । पानी परेपछिको आकासजस्तै चङ्गा होस् । सुखद् अनुभूति आजै ल्याऔं, भोलिलाई नपर्खौ । हरेक दिनलाई असल दिन बनाऔँ । शुभ नयाँ वर्ष, शुभ नयाँ बिहानी ।
-युवामञ्च मासिक, २०७७ वैशाखमा प्रकाशित
No comments:
Post a Comment