शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, July 8, 2024

धर्मको परिभाषा विभिन्न विद्वानहरुको

-त्रिचन्द्र प्रतीक्षा

धर्मले मानव जातिलाई मानवोचित कर्म गर्न सिकाउँछ । मानव जातिको उत्पत्तिका साथसाथै यस संसारमा धर्मको प्रचलन भएको छ । सनातन कालदेखि चलिआएको हुँदा हिन्दू धर्म विश्वको सबैभन्दा पुरानो धर्म मानिन्छ।

नेपाली शब्दसागरका लेखक बसन्तकुमार शर्मा “नेपाल“ले आफ्नो शब्दकोषमा धर्मको व्याख्या यसरी गर्नुभएको छ- धर्म भनेको व्यक्ति वा वस्तुको मूल वृत्ति, प्रवृत्ति, प्रकृत्ति, स्वभाव, नियत, नीति, स्वाभाविक गुण, सहज वृत्ति, श्रेय, सुकृत, नियमित र निर्धारित काम वा व्यवहार, सुख र स्वर्ग प्राप्त हुने भन्ने लोक विश्वासको सुकर्म, पुण्यकर्म, लोकहितका लागि स्वीकारिने कर्तव्य, कर्म, सदाचार, सत्कर्म, इश्वरप्राप्ति वा सदेगतिका लागि शास्त्रनिहित कर्म, स्वधर्म, सामूहिक कर्तव्य, कुनै मान्यजन वा महापुरुष वा आचार्य वा ऋषि वा ग्रन्थनिर्दिष्ट परलोक सुखप्राप्ति हुने उत्तम कार्य आदि इत्यादि । त्यसैगरी A.S. Hornby  द्वारा लिखित Oxford Advance Learner’s Dictionary  अनुसार एउटा आस्था र विश्वास, जहाँ भगवानको अस्तित्वलाई स्वीकारिन्छ र सत्कर्मको माध्यमबाट नै मानिसले मुक्ति र प्रगति गर्न सक्छ । त्यसैगरी पं. बेचरदासका अनुसार प्रत्येक धर्म आफ्नो समयको बुद्धि विकासको प्रकाशन हो, चिन्तन र अनुभव हो । त्यसलाई सबै समयको समाजको बुद्धिमाथि लाद्नु आफैमा ठूलोभन्दा ठूलो अधर्म हो । अर्थात् उहाँका अनुसार धर्मको व्याख्या र विवेचना पनि बह्माण्डको विकास र प्रगतिसँगै गर्नुपर्ने हुन्छ ।  

त्रिचन्द्र प्रतीक्षा


॥ धृयते धार्यते सेव्यते इति धर्मः ॥

धर्म शब्द ”धृ” धातुले बनेको छ जसको अर्थ हुन्छ धारण गर्नु ।

ईश्वरको बचन (वेदको बचन)लाई आचरणमा धारण गरेर आफ्नो जीवनलाई सत्य, अहिंसा, त्याग, परोपकार सहितको जीवन बिताउनु र त्यहि अनुसार कर्म गर्नु लाई नै धर्म भनिन्छ ।

धर्म धारणा हो, देखावटीपन होइन । ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो, परिवर्तन गर्न मिल्दैन । धर्म जीवनको आधार हो आडम्बर होइन । अन्धविश्वास होइन ।

वैदिक धर्म अनुसार जीवन पद्धति अंगाल्ने आर्य शब्दले उत्तम अर्थात् सभ्य मानिएको एक प्राचीन जाति भन्ने जनाउँछ । धर्मको अर्थ ज्यादै विस्तृत छ । ठाउँ र अवस्था अनुसार सत्य, प्रकृति, स्वभाविक गुण, पुण्य, कर्म, भक्ति, असल आचरण, सदाचार, अनुशासन, नियम आदि सबै धर्मको घेराभित्र पर्दछन् ।

ब्रह्माण्ड र सम्पूर्ण जीवन जगतको सृष्टिका साथै आर्य धर्मको परम्परा चलिआएको छ, धर्मका बारेमा लिखित ग्रन्थ त धेरै पछि आएको हो । यस संसारमा पहिलो ग्रन्थ वेद मानिएको छ । वेदनै धर्मशास्त्र सम्बन्धी पहिलो ग्रन्थ हो । ईशापूर्व दुई हजार वर्ष भन्दा अघि वेद लेखिएको भनी विभिन्न विद्वानले तर्क दिएका छन् ।

 १९ औं शताब्दीका जर्मन लेखक-विचारक म्याक्स मुलर पूर्वीय धर्म-दर्शन खासगरी वैदिक साहित्यका ज्ञाता मानिन्छन् । धर्मको परिभाषा दिने क्रममा म्याक्स मुलर भन्छन्- धर्मको परिभाषा गर्नु सजिलो छैन, किनकि हजारौं वर्षमा यस शब्दको अर्थमा परिवर्तन भइरहेको छ । वास्तवमा यस शब्दको इतिहास हेरेमा ज्यादै व्यापक अर्थमा भएको देखिन्छ । ईश्वरीय सत्ता मान्ने हिन्दू तथा नमान्ने बौद्ध दुवै धर्म नै हुन् । यसैगरी पितृ पूजा र मृतकलाई आवश्यक वस्तु सहित जमिनमा गाड्ने परम्परा पनि धर्म हो । यसैले धर्म एक विश्वास हो ।

अर्का विद्वान इमानुएल कान्तले धर्मलाई नैतिकता भनी परिभाषित गरेका छन् । उनी भन्छन्- कर्तव्यलाई दैवी आदेशको रूपमा लिनुपर्छ । यस्तै दार्शनिक फिस्ट भन्छन्- धर्म मनलाई शुद्ध पार्ने र आफूलाई हेर्ने ज्ञान हो । अर्का दार्शनिक श्लेशमासेरले धर्मलाई मानिसको कुनै अदृश्य माथिको पूणर् निर्भरतासम्बन्धी चेतना भनेर परिभाषित गरेका छन्, तर हेगेलले त्यसको प्रत्युत्तरमा के भने भने यदि चेतनाबाटै धर्म ग्रहण गरिन्थ्यो भने प्राणीमध्येको बढी चेतनशील कुकुरमा बढी धर्म हुने थियो । यसैले हेगेलले धर्मलाई चेतनामात्र नमानेर धर्म एक पूणर् स्वतन्त्रता र दैवीशक्तिको रूपमा मानेका छन् । 

यसैक्रममा प्रसिद्ध फ्रेञ्च समाजशास्त्री एमिल दुर्खाएमले धर्मको परिभाषा यसरी गरेका छन्- धर्म पवित्र वस्तुहरूसित सापेक्षित विश्वास र व्यवहारहरूको एकीकृत खाल हो, जुन वस्तु पृथक र निषेध हुन्छन् जसले नैतिक समुदायलाई एकिकृत गर्छन् । रवर्ट बेल्ला भन्छन्- धर्म प्रतीकहरू एवं त्यस्ता क्रियाकलापको एक खाल हो, जसले मानिसलाई उसको अस्तित्वको अन्तिम अवस्थासित आवद्ध गर्दछ । जे. मिल्टन यिङ्गार भन्छन्- धर्म आस्था र व्यवहारको एक पद्धति हो, जसद्वारा मानिसको एक समूह मानव जीवनका अत्यावश्यक समस्यासित जुध्छ ।

अन्य विद्वानहरूको भनाईमा धर्मको परिभाषा यस्तो रहेको छ-

  • जस्तोसुकै विपत्तिमा पनि आफ्नो धर्म छोड्न हुँदैन । -श्रीमद्भागवत गीता । 
  • जहाँ मानवता हुन्छ त्यहाँ धर्म हुन्छ । -किशोरीदास
  • सत्यमा नै धर्म अडेको छ । -कार्मण्डेय पुराण
  • धर्मको विकासको नाम नै स्वतन्त्रता हो । -लोकमान्य तिलक
  • धर्म सदैव कल्याणकारी हुन्छ । -वेदव्यास
  • विज्ञान र हित धर्म अन्धो र धर्मरहित विज्ञान लङ्गडो हुन्छ । -आइन्स्टाइन
  • जीवनको सार धर्ममा छ र धर्म सेवा र सद्भावनामा आधारित छ । -सत्य श्रीसाईबाबा
  • धर्मले त वसुधैव कुटुम्बकमको उद्घोषण गर्दछ । -आचार्य केशवदेश
  • धर्म विना कुनै पनि राष्ट्रले प्रगति गर्न सक्दैन । -महात्मा गान्धी
  • मानिसको आँशु मानिसले पुछ्नु सबैको धर्म हो । -महाकवि लक्ष्मीप्रसाद देवकोटा
  • संसारमा धेरै धर्महरू छन्, तर त्यहाँ एउटा मात्र नैतिकता छ । -रस्किन
  • मन निर्मल नभएसम्म पूजापाठ आदि सबै धर्म कार्य बेकार छ । -देवी भागवत
  • भगवान् र मानबीचको प्रेम नै असल धर्म हो । -विलियम पेन्ना
  • सत्यभन्दा ठूलो कुनै धर्म छैन र अधर्मभन्दा ठूलो कुनै पाप छैन । -महाभारत
  • लोभले विचार शक्ति र इमान -धर्मलाई नष्ट पार्दछ । -वेदव्यवास
  • घरकोलागि जगको जस्तै जीवनको लागि धर्मको आवश्यकता पर्दछ । -जेनेन्द्रकुमार
  • धर्महीन मानिस बाँचेर पनि मरेतुल्य हो । -चाणक्य
  •  प्राणमा करूणा भरिएपछि धर्मले दर्शन लिन्छ । -दुर्गा भागवत् 
  •  सबै धर्म आफ्ना ठाउँमा सत्य छन् । -बर्टन
  •  धर्मज्ञ मानिस सत्यलाई परम धर्म मान्दछन् । -वाल्मीकि
  •  सबैलाई आफै समान देख्नुनै ठूलो धर्म हो । -आचराङ्ग
  •  जुन धर्म न्यायको अनुकूल हुन्छ त्योधर्म कहिले प्रतिकूल हुँदैन । -ग्लाइस्टोल


प्रहरी द्वैमासिक, कार्तिक मंसिर, २०७९ मा प्रकाशित

No comments:

Post a Comment