शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, July 5, 2024

दिव्य गिरीका दुई कविता

 

 

बाटो र माटो

म त्यही बाटो हिँडिरहेँ
जुन बाटो पुर्खाहरूले हिँडेथे
म त्यही माटोमा खेलिरहेँ
जुन माटोमा पुर्खाहरूले खेलेथे
बाटो पनि जहीँको तहीँ छ
माटो पनि जहीँको तहीँ छ,
बाटो बदलिएको छैन
माटो बदलिएको छैन
केवल म बदलिएको छु
मेरो सोच बदलिएको छ ।

पुर्खाले देशको निम्ति
रगत र पसिना बगाए
म त्यही वीरको सन्तान
आज बिर्सेर पुर्खाको बाटो
आज बिर्सेर देशको माटो
म परदेशको बाटो हिँडिरहेछु
म परदेशको माटो रोजिरहेछु
अनगिन्ती सपनाहरू काखी च्यापेर
म परदेशमा रगत पसिना बगाइरहेछु
मेरो यो बाध्यता र विवशताको लागि
म आफै जिम्मेवार छैन
छातीमा हात राखेर भन्छु
म कदापी बेइमान होइन
यसको मुख्य कारक भनेकै
तिमी हौ, केवल तिमी हौ
जो आफूलाई सरकार भन्छौ ।

***********************

ऐना र तानाशाह

ऐनामा जब हेरिन्छ
ऐनाले पनि हेर्न थाल्छ
धमिलो ऐनामा -
सफा अनुहार पनि धमिलो देखिन्छ
सफा ऐनामा -
धमिलो अनुहार पनि सफा देखिन्छ

ऐना सफा भएर मात्र हुँदैन
अनुहार सफा हुनुपर्छ
अनुहारभित्रको मान्छे सफा हुनुपर्छ
मैले यो कुनै सत्य उद्घाटन गरेको होइन,
जब कसैले ऐनामा आफूलाई हेर्छ
उसले आफ्नो अनुहार मात्र देख्दैन
उसले आफ्नो कर्म र धर्म पनि देख्छ
तर कर्म पाप भरिएको पनि हुनसक्छ
तर धर्म अधर्म पनि हुनसक्छ ।
मान्छे झुठ बोल्न सक्छ
तर ऐना कहिले झुठ बोल्दैन
जस्ताको तस्तै देखाउनु
ऐनाको विशिष्ट धर्म हो
त्यो नै उसको सनातन धर्म हो
महासय,
तपाईंलाई थाहा छ ?
तानाशाहहरू कहिले ऐना हेर्दैनन् ।

- इमाडोल, ल पु


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

..साथ सहयोगको खाँचो

No comments:

Post a Comment