शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, June 24, 2011

कौडीको नालीबेली - त्रिचन्द्र प्रतीक्षा



त्रिचन्द्र प्रतीक्षा
कौडीका अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । तर प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । यो हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ । यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने श्रृंगार पनि गर्ने गरिन्छ । परन्तु यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सुलभ यानीकि सजिलो बनाउनका लागि गर्ने गरियो । यहि कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन् भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।
प्राचीन कालदेखि नै कौडी सिक्काको रूपमा चलिरह्यो । एक समय यस्तो थियो, जब विनिमयको लागि मुद्राको रूपमा कौडीनै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्व थियो । त्यस समयमा पुरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरह्यो । अफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औं शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा 'क्युरियामा' को वार्षिक आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आफ्नो जमीन एक अफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र साढे २ दर्जन (३० गोटा) केरा पाइन्थ्यो । त्यहाँका 'इभ' जनजातिका मानिसहरू मरेको लाशलाई माटोमा गाड्दा साथ-साथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको कर्ज भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिस्रमा मृतक लाशको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिस्रबासीहरूको विश्वास छकि मृतक लाशको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।


मिश्र, ग्रीस आदि देशहरूमा पूजा, प्रसाधन र श्रृंगारका कार्यहरूमा कौडीको प्रयोग बढी मात्रामा हुने गर्दछ । यहाँ विशेषगरी धार्मिक अनुष्ठानहरू एवं जादू टुनामुना आदिमा प्रयोग हुने गर्दछ । साइप्रसमा कामदेवता 'एफ्रोडाइट' को मन्दिरमा कौडीलाई नै पूजा गर्ने गरिदै आइरहेका छन् ।  सुडानका आइमाईहरू धेरै सन्तान पाउने इच्छाले कम्मरमा कौडीको जोडी बाँध्ने चलन रहिआएको छ ।
युगाण्डामा सन् १९२१ सम्म एक हजार कौडीहरू २ रूपैयाँ बराबर हुन्दथे । अफ्रिकामा दुई हजार कौडीहरू एक अमेरिकी डलर बराबर हुन्दथे । वेष्ट इण्डिजको एक चर्च निर्माणमा लगभग ३ करोड ६० लाख कौडीहरू मजदुरीलाई ज्याला स्वरूप बाँडिएको थियो । इंगल्याण्डमा एक हजार कौडीहरू एक शिलिंग बराबर हुन्दथे ।
मार्कोपोलोले चीनमा मुद्राको रूपमा कौडीहरूको चलन चलाएको पाइएको थियो । एक समय थियो, जब चीनमा धातुको सिक्का कौडी सँग मिल्दोजुल्दो बन्दथे । दोहा, कतारमा सन् १९३० सम्म कौडीको नै सिक्का चल्दथ्यो । सन् १९३१ सम्म सुडानका 'लेबी' जनजातिमा सम्पूर्ण कारोवार यहि कौडीहरूमा नै चल्दथ्यो ।
नेपालमा कौडीको चलनचल्ति धेरै नभएतापनि जुवा खेल्नका लागि कौडी प्रयोग गरेको पाइन्छ, यो चलन परापूर्वकालदेखि नै खेल्दै आइरहको पाइन्छ, भने तराईका थारू समुदायका महिलाहरूले गहनाको रुपमा कौडीको माला बनाएर लगाउने चलन पनि रहिआएको छ । 

आखिर कौडी के हो ?
कौडी वस्तुतः एक समुद्री कीराको 'अस्तिकोष' हो । यो जल-जीव 'मोलस्का' वर्गको सबैभन्दा ठूलो उपवर्ग 'ग्यास्ट्रोपोडा' मा आउँदछ । विज्ञानको भाषामा कौडीलाई 'साइप्रिया' भनिन्छ । अंग्रेजीमा यसलाई 'काउरी' (Cowrie), फ्रेन्च जर्मनी र रुसी भाषामा यसलाई 'कुरडी' भनिन्छ । हाम्रो यहाँ प्रचलित नाम 'कौडी' नै हो ।
यो गहुँको दानाको आकारदेखि लिएर हाम्रो हत्केलाको मुठ्ठी आकारसम्मको हुने गर्दछ ।
कौडी हिन्द महासागरको धेरैजसो क्षेत्रमा पाइन्छ भने उत्तरमा जापानदेखि लिएर दक्षिणमा न्यू साउथ वेल्ससम्म देख्न सकिन्छ । कौडी भू-मध्यसागर र अमेरिकाको दुवै तटहरूमा धेरै किसिमका कौडी पाइने गर्दछ । यसको केही जातिहरू समशीतोष्ण सागरहरू र महासागरहरूमा पनि पाइन्छ । समशीतोष्ण सागरहरूमा पाइने कौडी सानो हुन्छ भने त्यति राम्रो मानिदैंन । इंग्ल्याण्डको सागर तटहरूमा पनि यस्तै कौडी पाइन्छ ।
विशेषज्ञहरूका अनुसार आज विश्वभरमा १६५ प्रकारका कौडीहरू उपलब्ध छ । यसमध्येमा- प्रिन्स, ल्युकोट्रोन गट्टाटा, कुल्टन्स, वाक्लेस, ब्रोडरिया, युरेनियम र रबीज नामका कौडीहरू श्रेष्ठ मानिन्छ । यस श्रेष्ठ कौडीहरूमा सर्वाधिक श्रेष्ठ हुन्- प्रिन्स कौडी । केही अन्य किसिमका कौडीहरूको नाम यसप्रकार छः चीतल कौडी, चालना कौडी, मोल कौडी, मैव कौडी, क्यालिफोर्निया कौडी, काफब्रीन कौडी, ओविक कौडी, टाइगर कौडी, डान कौडी, गोल्डेन कौडी, शटल कौडी, हनी कौडी इत्यादि ।

कौडी मुद्राको रूपमा
कौडीको आफ्नो परिचय हुन्दछ । नक्कली कौडी बनाउन सक्दैन । यसलाई एक स्थानबाट अर्को स्थानसम्म सजिलै सँग लैजान सक्दछ । साथै गन्ती गर्न पनि निकै सजिलो पर्छ । यसै गुणहरूको कारण प्राचीन समयमा कौडीलाई मुद्राको रूपमा छानिएको हो । कौडीको ठाउँमा आज धातुहरूको सिक्काले लिएको छ ।
सबै प्रकारको कौडीहरूको प्रयोग मुद्राको रूपमा गरिदैंन । १६५ किसिमको कौडीहरू मध्ये केवल दुई प्रकारको कौडीहरू मात्र मुद्राको रूपमा प्रचलित रहेको पाइन्छ । यो हो- 'मनी कौडी' (साइप्रिया मोनेटा) र 'रिंग कौडी' (साइप्रिया अनेसल) यी दुवै प्रकारको कौडीहरू सानो, चिल्लो र मोटो किनार भएको हुन्छ । मनी कौडी पहेंलो रंगको हुन्छ भने तौलमा अन्य कौडीहरू भन्दा केही गह्रौ हुन्दछ । रिंग कौडीको रंग हल्का सोतो हुन्छ । यसको पीठमा सुन्तला रंगको गोलो हुने गर्दछ, यसैले यस कौडीको नाम रिंग कौडी भएको हो ।

मूल्यवान कौडीहरू
कौडीहरू मूल्यवान पनि हुन्दछ । यसको मूल्य यसको आकृतिको आधारमा तय गर्ने गरिन्छ । कौडीहरूको मूल्य आज केही पैसादेखि लिएर एक करोडसम्म पर्छ । 'प्रिन्स' नामक कौडी विश्वभरमा केवल एउटै मात्रै छ, जुन ब्रिटिश संग्रहालयमा संग्रहित छ । सन् १९६१ मा यसको मूल्य ४५ हजार रूपैयाँ थियो भने आज यसको मूल्य लगभग २ करोड ५० लाख रूपैयाँ आंकिएको छ । 'ल्युकोट्रोन' नामक कौडी सन् १८२८ सम्म एउटै थियो । सन् १८६० मा एउटाबाट बढेर दुईवटा पुग्यो र सन् १८६५ सम्म ल्युकोट्रोन कौडीको संख्या बढेर सात सम्म पुग्यो ।
'गट्टाटा' नामक कौडीको संख्या आज विश्वभरीमा लभगग २५ देखि ३० वटा रहेको अनुमान छ । वर्तमान समयमा एउटा गट्टाटा कौडीको मूल्य २० हजार रूपैयाँ भन्दा बढी छ । 'रबीज' नामक कौडीको मूल्य ५ हजार रूपैयाँ छ । 'युरेनियम' नामक कौडीको मूल्य अमेरिकामा लगभग २ हजार अमेरिकी डलर छ र 'मिडवे सायनसिम' नामक कौडीको मूल्य जापानामा लगभग दुई हजार अमेरिकी डलर सम्म पर्छ ।
आज कैडीको आर्थिक महत्व त त्यति धेरै छैन, तर समृद्धि र लक्ष्मीको प्रतीकको रूपमा आज पनि यसलाई पूजा गर्ने गरिन्छ ।
गोरखापत्र शनिबार मंसीर २५, २०६७ मा प्रकाशित

No comments:

Post a Comment