शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, June 7, 2016

अस्तायो एउटा तारा

फोटो: अनलाइन खबर

काठमाडौं: राष्ट्रगानका संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा अघिल्लो शनिबार भर्ना गरिएका गुरुङको बिहान दुई बजेर ३७ मिनेट जाँदा निधन भएको हो ।
 
उनको निधनले सम्पूर्ण नेपाली शोकाकुल बनेका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अस्पतालबाट कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठान लगिएको थियो । मंगलबार दिउँसो सवा ११ बजे गुरुङको पार्थिव शरीर जब प्रज्ञाप्रतिष्ठान परिसर पुर्‌याइयो त्यहाँ उपस्थित कसैले मन थाम्न सकेनन् । उनलाई श्रद्धाञ्जली दिन पुष्पगुच्छा लिएर बसेका हजारौंका आँखा रसाए ।

उनलाई श्रद्धाञ्जली दिन मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, कर्मचारी, कलाकार, साहित्यकार, व्यवसायी, विद्यार्थी एवं सर्वसाधारणको बाक्लो उपस्थिति थियो । गुरुङलाई श्रद्धाञ्जली दिएपछि उपराष्ट्रपति नन्दबहादुर पुनले भने, ‘राष्ट्रभक्तिका बारेमा हामीले अम्बर गुरुङबाट धेरै कुरा सिक्नुपर्छ ।'
 
गुरुङको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनको अन्त्येष्टि हिन्दु र बौद्ध दुवै विधिअनुसार गरिएको हो । उनको पार्थिव शरीरमा जेठा छोरा किशोर गुरुङले दागबत्ती दिएका थिए । अन्तिम संस्कारमा बौद्ध लामाले मन्त्रोच्चारण गरेका थिए । नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए । रावलले नेपाल र नेपालीका लागि अम्बर गुरुङले ठूलो गुन लगाएको उल्लेख गर्दै यस्ता महान् व्यक्तिलाई सरकारले दिने सबै सम्मान दिने जानकारी गराए ।
 
अत्येष्टिका क्रममा नेपाली सेना र नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । उनलाई श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री सीपी मैनाली पनि आर्यघाट पुगेका थिए । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाका मानार्थ महासेनानी अम्बरको निधनले राष्ट्रलाई नै क्षति पुगेको बताए । क्षेत्री प्रज्ञाप्रतिष्ठानबाट आर्यघाटसम्मै पुगेका थिए ।
 
गुरुङद्वारा संगीतबद्ध ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो' बोलको गीतलाई नेपाली सेनाले ‘सेनाको गीत' का रूपमा लिएको छ । त्यसको कदरस्वरूप २०६८ सालमा सेनाले गुरुङलाई मानार्थ महासेनानी पद दिएको थियो ।
 
कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ महान् संगीतकार भएको बताए । ‘नेपालका लागि उहाँ अमूल्य निधि हुनुहुन्थ्यो । उहाँले नेपाललाई चिनाउनुभएको छ । संगीतका माध्यमबाट नेपाल र नेपालीलाई एक बनाउनुभएको छ', देउवाले भने ।
 
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गुरुङ आफ्नो क्षेत्रबाट देशको श्रीवृद्धिमा आजीवन निरन्तर लागिरहेका उच्च कोटीका प्रतिभा भएको बताए । गुरुङलाई श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता ईश्वर पोखरेल, गृहमन्त्री शक्ति बस्नेतलगायत प्रज्ञाप्रतिष्ठान पुगेका थिए ।
 
नेपाली मूलका भारतीयले भोग्नुपरेको पीडालाई समेटेर अगमसिंह गिरीले रचना गरेको ‘नौ लाख तारा उदाए' बोलको गीतमा पहिलोपटक संगीत तथा स्वर भरी नेपाली सांगीतिक क्षेत्रमा उदाएका अम्बरले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
 
राजाको प्रत्यक्ष शासन, प्रजातन्त्रको उदय हुँदै गणतन्त्र स्थापना हुँदासम्म तीनै व्यवस्थामा उत्तिकै चम्किएका गुरुङले नेपाल प्रज्ञाप्रतिष्ठानमा लामो समय काम गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्रथम कुलपति उनले मुलुक गणतन्त्रमा प्रवेश गरेपछि राष्ट्रगानको संगीत भर्ने मौका पाए ।
न्यूज: अन्नपूर्ण दैनिक, फोटो: अनलाइन खबर

No comments:

Post a Comment