शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, November 14, 2015

बिपी, इन्दिरा र मोदी (विचारात्मक लेख)

डा. पूर्णकान्त अधिकारी
२०३१ फागुनको अन्त्यतिर बिपीले 'दिल्लीमा भेट्न आउनू, शैलजा पनि त्यही हुन्छिन्' भन्नुभएकाले उहाँको निवासस्थान पुगेँ। त्यस क्रममा भन्नुभयो– तपाईँ बसेको होटलको नाम, टेलिफोन, सडकको नाम र कोठा नम्बर सबै खुलाएर दिनु, भोलि राति १२ बजे म नचिनिने भेषमा आउँछु, एउटा महत्वपूर्ण कुरा गर्नु छ। त्यो कागज खल्तीमा राखेर भन्नुभयो– भोलि दिउँसोको खाना खान यहीँ आउनू। 

नभन्दै भोलिपल्ट बिपीले भनेअनुसार खाना खान गएँ। खाइसकेपछि उहाँले भन्नुभयो– अब म तपाईँकहाँ आउन्न, त्यहाँ गर्नुपर्ने कुरा यहीँ भन्छु, त्यो के भने तपाईँ बेलायत गएर बस्नुपर्योआ र हाम्रो क्रान्तिलाई सहयोग जुटाउनुपर्योय। म पैसा दिन सक्दिन त्यहाँको आफ्नो खर्च धान्न तपाईँ आफँैले काम खोज्नुपर्छ। सम्पर्क गर्न केहीलाई चिठी लेख्नसम्म सक्छु। मैले भनेँ– म धेरै पश्चिमा मुलुकमा बसेर थाकेर फर्केको हुँ, त्यसैले बेलायत जाने चाहना छैन तर मुलुक र पार्टीका लागि आवश्यक परे त जानै पर्यो नि। उहाँले भन्नुभयो– तपाईँले युरोप, अमेरिका, अफ्रिका र दक्षिण अमेरिकामा जुन अनुभव गर्नुभएको छ, तपाईँले चाहे यो काम गर्न सक्नुहुन्छ भन्ने मलाई पूरा विश्वास छ। के काम होला?– सोधेँ। 'अरु होइन, हतियार ल्याइदिनुपर्योक। यो काम योगेन्द्रमान शेरचनलाई अराउन लागेको थिएँ, उनलाई मारिदिए। विश्वासको अर्को व्यक्ति पाएको छैन।'

सात समुद्रपारिबाट मैले पठाएका चिठी र मेरोबारे उहाँलाई शैलजाले बारम्बार वेलिविस्तार गर्दिरहिछिन्। त्यस कारण मेरो विचार र गतिविधिबारे उहाँले पुरै हेक्का र अनुगमन गर्नुभएको रहेछ। त्यतिखेर संसारको कुनै पनि मुलुक जान पाउनेखालको राहदानी बोक्ने कांग्रेसी ममात्र थिएँ शायद। २००७ सालको क्रान्तिमा बर्माबाट नेपाली कांग्रेसले हतियार ल्याएको सुनेको थिएँ। प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको क्रान्तिका लागि हतियार आवश्यक परे ल्याउन सकिने मुलुकको हेक्का मैले गरिसकेको पनि थिएँ। बनारसमा भेट्दा एक पटक गिरिजाबाबुले 'लिवियाबाट हतियार ल्याउँदा कस्तो होला? भनेरे सोध्दा मैले 'हुँदैन' भनेको थिएँ। किनभने त्यसो गर्दा पश्चिमा मुलुकहरुसँग हाम्रो सम्बन्ध बिग्रने सम्भावना व्यक्त गरेको थिएँ।

बिपीको आग्रहपछि मैले सोधेँ– 'हतियार कहाँबाट ल्याउने? 'भारत, चीन, सोभियत युनियन र अमेरिकाबाहेक जुनसुकै मुलुकबाट ल्याए पनि हुन्छ' भन्नुभयो। मैले सोधेँ– ल्याएर कहाँ खसाल्ने? उहाँको जवाफ थियो– 'मैले चार ट्रक हतियार तस्करहरुसँग किनेको थिएँ। दुई ट्रक बंगलादेशी मुक्ति बाहिनीलाई दिएँ। बाँकी इन्दिराले खोसिदिइन्। समस्या इन्दिरासँग छ। पछि कुरा गर्न खोज्दा ४० किलोमिटरको बन्देज लगाई जोरी खोजे सुदूर दक्षिण रामेश्वरम्मा सीमित गरी राखिदिने धम्की पठाइन्।' अनि मैले सोधेँ– आखिर जहाँबाटै ल्याए पनि त्यस मुलुकको सरकारको सहयोगबिना यो काम हुनै सक्दैन। दिल्लीमा संसारका सबै मुलुकका दूतावास छन्। उनीहरु कसैसँग कुरा भएको छैन? उहाँको जवाफ थियो– कतिपयसँग कुरा गरेको हो तर उनीहरु हाम्रो संघर्षबारे शुभेच्छा र सहानुभूति छ भन्छन् अनि भारतलाई फड्केर केही पनि गर्न सक्दैनाँै भन्छन्। स्वीडेनका राजदूतले त तपाईँलाई भएको पीडा हामीलाई राम्रो हेक्का छ भन्दै बरु उतै बसोबास मिलाउन उत्सुक रहेको तर भारतमा भने केही गर्न नसक्ने बताए।'

मैले सोधेँ– आखिर इन्दिरा गान्धी तपाईँसँग यति धेरै किन रिसाएकी होलिन्? उहाँको जवाफ थियो– 'हुन त नेहरुको पालादेखि नै अलिअलि समस्या त भएको हो, मेरो यहाँका समाजवादी नेताहरुसँगको हिमचिम उहाँलाई मन परेको होइन। जयप्रकाश नारायणसँगको मित्रता पनि इन्दिरालाई सह्य थिएन। कारण उनीहरुबीच कटुता थियो। अर्को कुरा त उनले मलाई एकपटक भनेकी थिइन् कि अफगानिस्तानमाथि सोभियत कब्जा र कम्बोडियामाथिको भियतनामी कब्जालाई भारतले समर्थन गरेको थियो। संयुक्त राष्ट्र संघले तिनलाई मान्यता दिएको थिएन र नेपालले पनि गरेको थिएन। यसमा उनले मेरो समर्थनको अपेक्षा राखिन् जुन कुरा मैले ठाडै अस्वीकार गर्दैै भनेको थिएँ कि यो कुरा स्वीकारेको खण्डमा त्यसरी नै तपार्इँहरुले नेपालमाथि कब्जा गरे मैले पनि समर्थन गर्नुपर्ने स्थिति हुन आउँछ। जुन मेरो लासमाथि मात्र सम्भव होला। यसपछि इन्दिरा गान्धीसँग सबै सञ्चार बन्द भए। सतहबाट हेर्दा यहाँ मलाई भारतीयहरुले धेरै सुविधा र इज्जत दिएको देखिन्छ। वास्तविकता बेग्लै छ। यहाँको भान्छे, कामदार, गार्ड, ड्राइभरहरु सबै जासुस हुन्। मसँग भेटेर निस्किएकाहरुलाई बेलाबेलामा दुःख दिएका घटना छन्। कोठामा पनि जासुसी काममा सुक्ष्म औजार जोडेको हुन्छ कि भन्ने शंका लाग्छ। त्यसै कारण म भरे राति १२ बजे पर्खाल नाघेर, रिक्सा चढेर नचिन्ने भेषमा तपाईँलाई भेट्न आउँछु भनेको हो।'


मेरो अर्को प्रश्न थियो– त्यसो भए के बंगलादेश विकल्प हुन सक्छ? बिपीको जवाफ थियो– 'अहँ! त्यो विकल्प हुन सक्दैन। मैले दुई ट्रक हतियार उनीहरुको स्वतन्त्रता संग्राममा दिँदा सो पुर्यापउन चक्र, शैलजा, सुशील नै गएका हुन्। आज शेखमुजिवसँग कुरा गर्न पनि डराउँछन्। उनी इन्दिराको यति धेरै पिछलग्गु भएका छन् कि उनका दिनगिन्तीमै परिसकेका छन् र कुनै पनि दिन उनी सखाप हुन सक्छन्।' त्यसो भए चीनसँग कुरा मिलाउने हो त?– सोधेँ। उहाँको उत्तर थियो– अहँ! चीनले हाम्रो विद्रोहलाई सघाउदैन। हामी सत्तामा आएपछि सघाउन सक्छ तर विद्रोहमा गर्दैन। अनि भनेँ– कि इन्दिरालाई आफ्नो पक्षमा ल्याउनुहोस् कि बेग्लै रणनीति तय गर्नुहोस्। यसरी भारतमा बसिराख्ने कामै छैन। मेरो आवश्यकता पर्नासाथ एक महिनाभित्र आइपुग्न सक्छु भन्दै म इरानको प्रधान मन्त्री कार्यालयको एउटा क्षेत्रीय विकास कार्यक्रममा प्राविधिक सल्लाहकारका रूपमा तेहरान पुगे।

भारतको सिक्किम हडप्ने क्रियाकलाप नजिकबाट हेक्का राखेका बिपीले नेपाली लेन्डुप दोर्जेको पनि भारतीयहरुले खोजी गरिराखेको वस्तुस्थितिमाथि विवेचना गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर आफ्नो ज्यानको बाजी राखी नेपाल फर्कनुभयो। २०३५ सालमा उहाँसँग काठमाडौँमा भेट हुँदा भन्नुभयो– 'अब विदेश बसिराख्ने बेला होइन, नेपाल फर्कनुहोस् र आफ्नो एउटा क्षेत्र बनाउनुहोस्।' हुन पनि विदेशका सबै मौका छाडेर साना बालबच्चासहित २०३६ मा म सदाका लागि नेपाल फर्किएँ। उहाँका पछिल्ला तीन वर्ष जति प्रत्येक दिनजसो नेपालको राजनीति र विकासबारे गहन वार्ता गर्ने मौका मैले पाएको थिएँ। जीवनको विडम्बना पनि यस्तै रहेछ, नेपालको रूपान्तरणमा विशिष्ट सोच र धोको बोकेका बिपीले राजतन्त्रसँग जतिसुकै घाँटी जोड्न खोजे पनि राजाहरुले नै उहाँलाई काम गर्ने मौकै दिएनन्।

२०४१ सालमा म दिल्ली पुग्दा एसडी मुनीको घरमा खाना खाइयो। छलफलको दौरानमा बिपीका पक्ष/विपक्षबारे निकै कुरा गरेपछि मैले उनलाई सोधेको थिएँ– 'भन्नुहोस् नेपालमा भारतको सच्चा मित्र को छ?' उनको जवाफ थियो– 'साँच्चै भन्ने हो भने नेपालमा हामीलाई कुनै मित्र राख्नु छैन। नेपाल हामीसँग यति धेरै निर्भर छ कि काठमाडांैमा जुनसुकै शक्ति सत्तामा आए पनि हामीसँग नमिली सुखै छैन। त्यसैले कसैलाई विशेष मित्र बनाइराख्नु आवश्यकता नै छैन। विशेष मित्र राख्दाको जिम्मेवारी ठूलो हुन्छ। यथार्थमा त्यो बोझ किन बाोकिराख्ने? नेपालले चिनिया कार्ड खेल्यो भनेदेखि मात्र हामीलाई असर पर्छ। अरु केहीले पनि फरक पार्दैन।' नेपाल –भारत सम्बन्धको यो तीतो सत्य हो कि जबसम्म हामी उनीहरुप्रति निर्भर रहिरहन्छौँ तबसम्म उनीहरुको हेपाहा प्रवृत्तिबाट कहिले पनि मुक्त हुन सक्दैनौँ। यो सच्चा वास्तविकता मलाई त्यतिखेरदेखि नै उजागर भइआएको हो।

२०६२/६३ सालको जनआन्दोलनको लक्ष्य राजतन्त्र उन्मूलनमा नभए पनि भारतीय संस्थापनको पक्षचाहिँ सो उन्मूलन गर्नेतर्फ गइसकेको स्थिति यिनै एसडी मुनीबाटै मैले २०६४ कात्तिकमा दिल्लीमा भेट्दा बुझ्न पाएको हुँ। भारतमा जन्मेका, भारतमै हुर्केका, भारतकै स्वतन्त्रता संग्राममा होमिएका र आफ्नै जस्तो राजनीतिक सोच राख्ने बिपीमाथि त भारतीय सत्ता पक्ष त्यति धेरै अनुदार हुन सक्छ भने एकदमै विपरित राजनीतिक सोच बोक्ने नेपाली माओवादीलाई १२ वर्ष पालिराख्न उदार कसरी हुन सक्छ? जबकि आफ्नै मुलुकमा माओवादीले राष्ट्रिय सुरक्षाको खतरा पैदा गरेको छ भन्ने भारतीय प्रधान मन्त्री मनमोहन सिंहको भनाइ सर्वविदितै छ। राजा भइन्जेल नेपालमा सुक्ष्म व्यवस्था गर्न असहजमा परेको भारतको सत्ता पक्ष त्यसपछिका दिनमा उनका क्रिायाकलापबाट सर्वविदितै भएको परिस्थिति जो छ। उनीहरुको सहयोगबिना उतातिर भोजभतेर गरी दशगजाबाट नेपालतिर ढुङ्गा बर्साएर कुनै पनि मापदण्डअनुसार 'अपराध' मानिने नाकाबन्द गर्ने गतिविधि गरिराख्न कसरी सम्भव हुन्छ? साथै कुनै आन्दोलन नभएका नाकाबाट पनि इन्धन तथा अन्य सामग्रीको आपूर्तिमा 'उपरका आदेश' नाममा सहज नहुँदाखेेरी भारतीय राजदूत रञ्जित रेका 'मधेसीका आन्दोलनमा हाम्रो समर्थन छैन' भन्ने भनाईलाई नेपालीले पत्याउन सकेका छैनन्।

नेपाल–भारत सम्बन्धमा एक पक्षबाट अहंकारी हैकमवादी र अर्कोतिरबाट अक्षम भावावेशी प्रवृत्तिहरु व्यक्त हुँदै आउने गरेकाले परस्परमा सार्थक वार्ता हुन नसक्ने स्थिति हुँदै आएको हो। आपराधिक किसिमबाट जसरी सीमा नाकाबन्द गरी इन्धन र अन्य सामग्री आपूर्तिको रोकावट हुन आई भूकम्पले मार खाइआएका लेकका बस्तीका अत्यन्त जोखिम स्थितिमा पुगेका केटाकेटी तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको कुरामा कुनै मानवीय भावना नै नभएको व्यवहार र भारतीय सीमा अधिकारीहरु आन्दोलनकारीबाट देखिएको छ। यस्तो मानवीय संकट पहाडमा मात्र होइन तराई मधेसमा पनि उत्पन्न हुन पुगेको छ। यस्तो व्यवहारले नेपालका सच्चा भूमिपुत्र मधेसी समुदायसहित सबै नेपालीलाई अत्यन्त दुःख पुर्यायएको छ। कसैको पनि अमानवीय दबाबमा कुनै पनि नेपालीले घुँडा टेक्ने अनुमान गर्न पनि सकिँदैन। त्यत्तिकैमा घुँडा टेक्ने प्रवृत्ति भएको भए विशाल भारत वि्रटिसको गुलामीमा परेको बेला नेपालले आफ्नो अस्तित्व राख्न सक्ने थिएन होला। यति धेरै असजिलो पर्दा पनि सबै एकमत भई जसरी नेपाली समाजले भारतीय सत्ताको हैकमवादविरुद्ध प्रतिरोध प्रदर्शन गरेको छ त्यसलाई विवेकशील भारतीय जनतासहित विश्वले उच्च मूल्यांकन गरेकै छन् र गरिरहने छन्।

एक वर्षअगाडि संविधान सभामा भारतीय प्रधान मन्त्री मोदीले जे/जस्ता कुरा व्यक्त गरे, त्यो एउटा असल भारतीय नागरिक र नेेताले गर्ने व्यवहार भएकाले नेपालीको मन जितेको थियो। उनले साँच्चै नै अगाडिका भारतीय सत्ताधारीको भन्दा पृथक व्यवहार गर्ने लक्षण देखाएकाले नेपालीहरु अत्यन्त हौसिएका थिए। केही वर्षअगाडि भारतका पूर्वराजदूत श्यामशरणले व्यक्तिगत छलफलमा मसँग भनेका थिए कि 'कोही पनि नेपाली भारत विरोधी छैन र हुनै सक्दैन।' त्यस्तै कुनै पनि भारतीय नेपाल विरोधी हुन सक्दैनन् भन्नेमा म पनि विश्वस्त भइआएको छु। त्यो कुरालाई मोदीका भनाइले राम्ररी पुष्ट्याई गरेको आभाष भएको थियो। तर जसरी सात वर्षभन्दा बढीको रस्साकस्सीबाट सात दशकअगाडि देखिको नेपाली संघर्षबाट प्राप्त संविधान प्राप्त भयो त्यसमाथि भारतीय हैकमवाद जसरी प्रहार हुन आयो त्यसले नेपालीलाई त दुःख दियो दियो, उनको साख पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै मात्रामा खस्कन गएको छ। यसबाट नेपालसँगको व्यापारमा भारतको जुन एकाधिकार थियो त्यो तोडिन पुगेको छ, उनका आफ्नै सत्ताका कर्मचारी र संयन्त्रबाट उनैलाई एम्बुसमा पारिएको भान हुन्छ।

यस्तो दुःखद् परिस्थितिबाट भारत र प्रधान मन्त्री मोदी कसरी बाहिर निस्कने हुन् यो त उनीहरुकै आफ्नो कुरा भयो। हामी नेपालीले सिक्नुपर्ने ठूलो पाठ भने भारतमाथिको एकोहोरो परनिर्भरता घटाई आत्मनिर्भरता बढाउनेतर्फ अत्यन्त मेहनतका साथ लाग्नुपर्ने हुन्छ अब। किनभने आजको विश्वमा कोही पनि एक्लै बाँच्न नसक्ने भएकाले यो संसारमा परस्परको निर्भरता र भाइचारामा मात्र साना ठूला सबै राष्ट्र आत्मसम्मानका साथ बाँच्न सकिन्छ ।

साभार: नागरिक दैनिक

No comments:

Post a Comment