शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, February 13, 2016

भुटानीकरण, सिक्किमीकरण र नेपाल

प्रदीप नेपाल

धेरै वर्षदेखि नेपालमा सिक्किमीकरणको मनोआतंकको लहर चलिरहेको छ । ‘भारतले नेपाल खान्छ अब,’ ‘इन्दिरा गान्धीको डिजाइन,’ ‘र प्रमुख काओको भनाइ,’ ‘भारतले सिक्किम खाँदाको अवस्था’ जस्ता टिप्पणीले नेपाली मनलाई कमजोर पार्नेबाहेक अरू कुनै काम गरेका छैनन् । यस्ता नचाहिँदा हल्लाले शान्तिपूर्ण रूपमा बाँच्न चाहने नेपालीलाई दुःख दिने काम भइरहेको थियो । यो मनोआतंक अहिले पनि जारी छ । यो असम्भव आतंक हो भन्ने कुरालाई प्रायः ध्यान दिएको देखिँदैन ।
या त बुझेका नेपाली वुद्धिजीवीहरू आफैँ डरले अलमलिएका छन् या उनीहरूमार्फत स्वयं दिल्लीले यो मनोआतंक फैलाउने काम गरिरहेको छ । तर, आकाश खसे पनि भारतले नेपाललाई सिक्किम बनाउँदैन । यो हावादारी निष्कर्ष होइन, यसका पछिल्तिर रहेका आधारहरूलाई तलका उदाहरणहरूबाट प्रस्ट्याउन सकिन्छ ।
पुँजीवाद विश्वको सबैभन्दा स्वार्थी, भ्रष्ट, क्रूर र आतंकी राज्य प्रणाली हो । दुइटा विश्वयुद्ध यसका उदाहरण हुन् । अहिले जति मेलजोल देखिए पनि यसको विस्फोटन अवश्यम्भावी छ । हात मिलाएर मुसुक्क मुस्कुराउँदैमा शान्ति आउने भए दोस्रो विश्वयुद्धपछि हतियारको होडबाजी बन्द हुनुपथ्र्यो । तर, त्यो त झनझन् हौसिएर अघि बढेको छ । रुस, सके एक्लै नसके एउटा मोर्चा बनाएर आफ्नो सोभियत संघवाला हैसियत प्राप्त गर्ने अभियानमा हिँडिरहेको छ । अमेरिका चीनलाई चौतर्फी घेराबन्दीमा पारेर पूर्वी एसियामा तनाव राखिरहन चाहन्छ । विलियम केरीसँग मुसुक्क मुस्कुराएर फोटो खिचाउने ली खच्याङ साँच्चै अमेरिकाको साथी भइदिएको भए उत्तर कोरियालाई चीनले सधैँ ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया’ भनिरहने थिएन ।
यस्तो अन्तर्राष्ट्रिय तानातानीलाई दक्षिण एसियाको राजनीतिसँग नजोड्नेहरूले राजनीति गर्न छोडिदिए हुन्छ । भारतले अरुणाञ्चल नामकरण गरी बनाएको प्रदेशका मुख्यमन्त्रीलाई चीनले भिसा दिएन । भिसा नदिनुको कारण ‘आफ्नै देशको नागरिकलाई भिसा दिन मिल्दैन भनी चीनले मुख्यमन्त्रीको अपमान गर्यो,’ भनी लेखिएको समाचार पंक्तिकारले भारतीय ई–पत्रिकामा पढेको हो । लद्दाख क्षेत्र र चीन–पाकिस्तान राजमार्गले भारत र चीनबिचको सम्बन्धको यथार्थलाई अभिव्यक्त गरिरहेका छन् । यसको अर्थ के हो भने भारत र चीनबिचको सम्बन्ध कुनै पनि समयमा विस्फोट हुने बिन्दुमा छ । अहिले दुवै पक्षले त्यसलाई टालटुल मात्र गरेका छन् । यो टालटुल तिक्त सम्बन्धको औषधि होइन । झगडा र युद्ध, यो पुँजीवादको अन्तिम सत्य हो ।
एउटा पनि छिमेकी मुलुकसँग भारतको राम्रो सम्बन्ध छैन । एकाघरका पाकिस्तान र भारत कहिल्यै नमिल्ने ठाउँमा छन् । बंगलादेशसँगको सम्बन्ध पनि सन्तुलित र स्थायी छैन । एउटा पार्टीको सरकार हुँदा न्यानो हुने अनि अर्को सरकार आउँदा चिसो हुने परिस्थिति भारत–बंगलादेशबिचको सम्बन्धको यथार्थ हो । श्रीलंकासँग पनि भारतको सम्बन्ध सुमधुर छैन । मोदी सरकार आएपछि भारत र नेपालबिचको सम्बन्ध झनै बिग्रिएको छ ।

यो अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्था हो । जति ठूलो हुंकार भरे पनि भारतका आईबी र आरएडब्ल्यु, कर्मचारीतन्त्र र राजनीतिक क्षेत्र यो संकटलाई गहि¥याउने पक्षमा हुँदैनन् । यति मात्र होइन, भारतको आन्तरिक अवस्था पनि शान्तिपूर्ण, सद्भाव र पारस्परिक विश्वासले भरिएको छैन । दर्जनभन्दा बढी राज्य अशान्त छन्, माओवादी विद्रोहका कारण । कास्मिर समस्याको समाधान दिन नसकेर दिल्लीले बर्सेनि सहिद खेती गरिरहेको छ । ममता बनर्जीले बंगाल राज्यको अगाडि ठोसिएको ‘पश्चिम’ भन्ने शब्दलाई हटाउन भगीरथ प्रयत्न गरेकै हुन् । आधा शताब्दीको लडाइँले तेलगुदेशम बनाइछाड्यो । लाइनमा उभिएका छन्, गोर्खाल्याण्ड र बोडोल्यान्डहरू ।
भारतभित्र यस्तो गन्जागोल अवस्था छैन, आन्तरिक रूपमा त्यो एकताबद्ध छ भन्ने नेपाली पण्डित भेटिएलान् तर भारतमा यति ठूलो झुट बोल्ने बुद्धिजीवी अहिलेसम्म भेटिएको छैन । अन्तर्राष्ट्रिय, क्षेत्रीय अनि आन्तरिक भुँवरीमा फँसेको भारत–नेपाल सम्बन्धको चर्चा पनि गरिहालौँ, अलिकति ।
नेपाल–भारतबिचको सम्बन्ध अविश्वासले भरिएको छ । नेपाल अघि बढेको हेर्न चाहँदैन दिल्ली भन्ने सबै नेपालीलाई थाहा हुनुपर्ने हो । माग्नेलाई रोटीको टुक्रो दिने हो । माग्नेलाई सिङ्गै रोटी पनि दिन सकिन्छ । तर जति दयालु भए पनि माग्नेलाई कसैले दलानमा स्थायी अड्डा जमाउन दिँदैन । दिल्लीले, साना ठूला गरी बिस, पच्चिस हजार नेपाली पालेको छ । कसैलाई दिल्लीमै पालेको छ । ठूलो संख्यामा पालिनेहरू राजधानी काठमाडौँमा छन् । यतिले दिल्लीलाई पुगिरहेको छ । प्रखर राष्ट्रवादी मानिएका राजा महेन्द्रका पालामा त्यसले उनान्चालीस हेक्टर क्षेत्रको कालापानी कब्जा ग¥यो । महेन्द्रको राष्ट्रवाद ट्वाँ मात्रै परेन, मुखमा बुजो लगाएर बसिदियो । ‘कालापानी भारतले कब्जा गरेको नेपाली भूभाग हो,’ भनेर नेपालीलाई बुझ्न तिस वर्षको समय लाग्यो । ०१८ सालमा भारतले कब्जा गरेको कालापानी क्षेत्रको सच्चाइ ०४८ मा मात्र समग्र नेपालको जानकारीमा आयो । राजापछि ठूला हुन्छन्, प्रधानमन्त्री । कोसीको पीडा नेपालीलाई बोकाउने कामको नेतृत्व मातृकाप्रसाद कोइरालाले गरेकै हुन् । उनी त्यतिबेला नेपालका प्रधानमन्त्री थिए । गण्डकीमा नेपाललाई रुवाउने र भारतलाई हँसाउने काम पनि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका पालामा भएको हो । टनकपुर पुगेको प्रत्येक नेपाली रोएको भेटेको छ, यस पंक्तिकारले । टनकपुर पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै भूमिदान थियो । त्यसपछि आउँछन्, मन्त्री र सचिवहरू । मन्त्री र सचिवमार्फत भएको विनाशलीलाका गम्भीर उदाहरण हुन्, जंगे पिलरको विस्थापन, लक्ष्मणपुर र रसियावाल खुर्दलोटनजस्ता नेपालको सीमासँग साटेर दिल्लीले बनाएका बाँधहरू ।
जब परबाट अलिकति चारो फ्याँकेकै भरमा राजा, प्रधानमन्त्री, मन्त्री र सचिव दाहिना हुन्छन् भने दिल्ली नेपाल नामको घाँडो किन बोक्छ ? सिक्किमीकरणको आतंक फैलाउनेलाई यो पहिलो प्रश्न । १ अर्ब रुपैयाँमा आफ्नो बनाउन पाइने सम्पत्तिलाई कसैले पनि १ खर्ब रुपैयाँ तिर्दैन । दिल्लीले नेपालका लागि खटाएका मानव संशाधनबाट अहिले जेजति प्राप्त गरेको छ, भोलि सिङ्गै देश निलेर पनि त्यसले अरू थप केही पाउने होइन । पहिले अनुमान हुन्थ्यो, पछिल्लो नाकाबन्दीमा त नाङ्गो नाच नै देखायो, दिल्लीले । स्वनामधन्यहरूको इँजार खोल्न लगाएर हाम्रो आँखा उघार्ने काम गर्यो दिल्लीले । यसका लागि दिल्लीलाई धन्यवाद दिँदा हुन्छ ।
दोस्रो मुद्दा त्यत्तिकै गम्भीर छ । दिल्लीका लागि नेपाली जात ‘ट्रान्सप्लान्ट’ गरिएको किड्नीजस्तो छ । हुन त भारतको स्वाधीनता आन्दोलनमा नेपाली नेताको महत्वपूर्ण योगदान रहेको छ । नेपालीहरू त्यो आन्दोलनमा सहिद भएका छन् । यति मात्र होइन, पूर्वोत्तर भारतको मणिपुर निर्माणमा सबैभन्दा ठूलो योगदान नेपालीकै रहेको छ । सिलोङ सहरको स्थापना नेपालीहरूले नै गरेका हुन् । यति हुँदाहुँदै पनि दिल्ली भारतीय नेपालीलाई भारतका सच्चा नागरिक मान्दैन । त्यसले अहिलेसम्म पनि नेपाली जातिलाई बाहिरिया नै ठान्छ । भारतको कुनै पनि स्थानमा एउटा मारबाडीले अपराध गर्यो भने त्यो व्यक्तिमा सीमित हुन्छ, नेपालीले त्यही तहको अपराध गर्दा त्यो जातीयतासँग जोडिन्छ । यो भारतीय नेपालीले सामना गर्नुपरिरहेको समस्या हो । भुटानबाट अन्यायपूर्वक लखेटिएका नेपाली मूलका भुटानी नागरिकलाई भारतले भुटानको सिमानाबाट टिप्दै मेची कटाउनुका पछिल्तिर पनि यो ‘ट्रान्सप्लान्टेड किड्नी’को सिद्धान्तले काम गरेको छ । १ लाख नेपालीले सातो खाएको दिल्ली अत्यन्तै मूर्ख भएर साढे २ करोड किड्नी स्वीकार गर्न कुनै हालतमा पनि सक्दैन ।
तेस्रो मुद्दा झनै बलियो छ । दिल्लीको राजनीति अनि कर्मचारीतन्त्रको मिलेमतोमा सिक्किम भारतको प्रान्त बन्यो । दार्जिलिङ पहिलेदेखि नै गोर्खाल्यान्ड थियो । भुटानको दक्षिणी क्षेत्रबाट नेपाली मूलका नागरिकलाई निर्वासनमा पठाउनुका पछिल्तिर यो भारतीय स्वार्थ पनि जोडिएको थियो । यो भनेको भारतको उत्तरी क्षेत्रमा नेपालीको धोती हो । आसामदेखि भुटान अनि गोर्खाल्यान्ड र सिक्किमलाई जोड्ने नेपाल, पश्चिम उत्तराखण्डको फराकिलो भूभागलाई जोडेर दिल्ली गोर्खाल्यान्डको अशान्तिलाई आफ्नो कोखैमा ल्याउन चाहँदैन । पूर्वको चर्को राजनीतिक जागरणको राँको अहिलेको उत्तराखण्ड र हिमाञ्चल प्रदेश पुग्नुहुँदैन भन्ने दिल्लीको धेरै पुरानो निष्कर्ष हो । जति आर्थिक, भौतिक सहयोग गरे पनि मेची–महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गलाई पूर्णता हुन नदिन त्यसले सबैखाले औजार प्रयोग गर्यो । पूर्व–पश्चिम राजमार्गको पूर्वी भागको निर्माणमा उत्साहका साथ लागेको दिल्लीले कर्णाली पुलपारिको भाग सम्पन्न हुन नदिन पनि त्यत्तिकै उत्साह देखायो । यो वा त्यो बहानामा त्यो भागमा ‘स्लो डाउन’को मन्द विष प्रयोग गरिरह्यो, भारतले । धन्न, नेपाल मेची–महाकाली जोडियो । मेची–महाकाली जोडिनु के थियो, दार्जिलिङ र देहरादूनको दुरी स्वाट्टै घट्यो ।
एउटा राजमार्ग जोड्न त कब्जियतको रोगी हुन तयार भएको दिल्लीले सिङ्गो नेपाल कब्जा गरेर ‘ग्रेटर नेपाल’को स्थापनामा सहयोग पुर्याउने काम गर्छ भनेर बुझ्नेले कल्पना पनि गर्न सक्दैन ।
जहाँसम्म भुटानीकरणको कुरो हो, त्योचाहिँ नेपाल भइसकेको छ । प्रखर राष्ट्रवादीहरूलाई झनक्क रिस उठ्ला तर भुटानीकरण नेपालको यथार्थ हो । पछिल्लो नाकाबन्दीले यो तीतो सच्चाइको पुष्टि गरेको छ । यस अवधिमा उत्तर नाका खोलिएन । किन ? दुवैतिर नाका खोलियोस् भनेर सामान्यजनले समेत हारगुहार गरे । सरकारको कान तातेन । किन ? किनभने नेपाललाई सम्पूर्ण रूपमा दिल्लीको आसमा बचाउने भारतीय मानव संशाधन अहिलेको नेपाली राजनीतिमा निर्णायक तत्व बनेको छ । त्यसैले, हाम्रो सार्वभौमिकता अतिक्रमित मात्र होइन, आक्रमित नै छ । हामी नेपाली सार्वभौम छौं तर हाम्रो प्रतिनिधि भएको सरकारले हाम्रो सार्वभौमिकताको रक्षा गर्दैन ।
के उज्यालो छैन कतै ? त्यस्तो त यो विश्वमा कहिल्यै हुनै सक्दैन । आवश्यकता छ, नेपाल हुनुको, नेपाली हुनुको गौरव महसुस गर्ने नेपालीको । सोच बलियो हुनुपर्छ, स्वाभिमानको । गर्ने हो भने नेपाल प्रतिव्यक्ति आयका हिसाबले संसारका दुई दर्जन देशभित्र पर्ने सम्भावना बोकेर उभिएको छ । तर, जति इच्छा गरे पनि भारत समृद्धिको त्यो बिन्दुमा सजिलै पुग्न सक्दैन ।
साभार: राजधानी दैनिक

No comments:

Post a Comment