शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, December 1, 2013

मनिषा कोइराला-'म योद्धा हुँ, योद्धा'

क्यान्सरसँग लड्न सक्षम भएँ म। त्यसैले अहिले नयाँ जीवन बाँचिरहेकी छु। मलाई पाठेघरको क्यान्सर भएको थियो। अस्पतालको बेडमा मैले लामो समय बिताएँ। त्यतिबेला मैले जीवन र मृत्युलाई धेरै नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएँ। मैले हरेस खाइनँ। सबैको सहयोग र आफ्नो आत्मबलले म क्यान्सरमाथि विजय पाउन सफल भएँ। अब म क्यान्सरविरुद्धको अभियानमा लाग्नेछु र भन्नेछु– 'क्यान्सर आफैँमा ठूलो रोग होइन।' धेरै मानिसमा क्यान्सर भन्नेबित्तिकै मृत्युको भय प्रकट भइहाल्छ। म यो भ्रम चिर्न चाहन्छु। समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सत्य फैलाउनेछु। क्यान्सरसँग लडेर विजयस्वरूप जीवन पाएकी छु। धेरैले मलाई 'क्यान्सर सरभाइभर' भन्छन्। तर, मलाई यसो भनेको मन पर्दैन। म त क्यान्सर क्रुसेडर हुँ। अर्थात्, म क्यान्सरसँग लडेकी योद्धा हुँ।  यति बेला क्यान्सरसँगको युद्धमा विजयी भएर म तपाईंहरूमाझ आएकी छु। मेरो आत्मबल, परिवार तथा साथीभाइका सहयोग र चिकित्सकहरूको मेहनतले मेरो मन सदा बलियो रह्यो। क्यान्सरमाथि विजय प्राप्त गर्न दृढ थिएँ म। र, अन्ततः सफल पनि भएँ। मैले मृत्युलाई जितेँ।  अहिले म बाहिरबाट हेर्दा स्वस्थ देखिन्छु तर पनि शरीरका भित्री भाग अझै बलिया भइसकेका छैनन्। त्यसकारण मलाई अझै पाँच–सात महिना आरामको आवश्यकता छ। यो समयमा मैले आफ्नो स्वास्थ्यप्रति बढी ध्यान दिनुपर्छ। अहिले मेरो दैनिकी पनि धेरै फेरिएको छ। बिहान उठ्नेबित्तिकै ध्यान गर्छु। बुवासँग मर्निङ वाकमा जान्छु। योग गर्छु, प्राणायाम गर्छु। क्यान्सरमात्र होइन, धेरै रोग अस्वस्थ जीवनशैली र जथाभावी खानपानका कारण हुने गर्छन्। राम्रो रहनसहन भएका मानिस निरोगी हुन्छन् भन्ने कुरा आयुर्वेदमा पनि उल्लेखित छ। अहिले मैले आफ्नो खानपानमा पनि परिवर्तन गरेकी छु। अर्ग्यानिक खानेकुरा खान थालेकी छु। मेरो परिवारै यो अभियानमा लागेको छ। पहिला–पहिला खानेकुरामा अहिलेको जस्तो विषादि राखेको हुँदैनथ्यो। साह्रै स्वस्थकर हुन्थे खानेकुरा। त्यही भएर बुढापाका पनि स्वस्थ हुन्थे। तर, आजभोलि खानेकुरा नै रोगका घर भएका छन्।  युवा पुस्ता म्याक डोनाल्ड, पिज्जा हट, कोका कोलालगायत खानेकुरामा भुल्ने गरेका छन्। तर, यी सबैले स्वास्थ्यलाई हानि पुर्या उँछन्। यो सत्य हो। मानिसहरूलाई म जीवनशैली र खानपान स्वस्थ बनाउन सुझाव दिन्छु। क्यान्सरले मलाई धेरै कुरा सिकायो। त्यही भएर चेतना जगाउने काम गर्न खोजिरहेको छु। समाजप्रति उत्तरदायी भएर काम गर्नेछु। सबैलाई सकारात्मक सोच र विनिङ एट्टिट्युड राख्न आग्रह गर्नेछु।  (विख्यात अभिनेत्री तथा 'क्यान्सर क्रुसेडर' मनीषा कोइरालाले एक कार्यक्रममा दिएको स्पिचको सम्पादित अंश)
प्रस्तुतिः प्रवीण ढकाल
साभार: शुक्रबार पत्रिका

No comments:

Post a Comment