टी–२० विश्वकपमा प्रवेश गरेर इतिहास रचेको छ नेपाली क्रिकेट
टोलीले । बलिङ र ब्याटिङ दुवैमा स्तरीय प्रदर्शन गरेर नेपाली टोलीले
बंगलादेश विश्वकपका लागि टिकट काटेको हो । युएईमा सम्पन्न छनोट
प्रतियोगितामा नेपालको सफलताको मुख्य रहस्य नै टिमवर्क थियो । सबै खेलाडीले
आ–आफ्नो भूमिकामा न्याय गर्ने प्रयास गरे । तथापि, सबैको प्रदर्शन एकरूपको
थिएन । छनोट प्रतियोगितामा खेल्न गएका १५ खेलाडीमध्ये महेश क्षेत्री र
राहुल विश्वकर्माले कुनै पनि म्याचमा अवसर पाएनन् । बाँकी खेलाडीले बलिङ
तथा ब्याटिङतर्फ गरेको प्रदर्शनको समीक्षा गर्ने प्रयास यहाँ गरिएको छ ।
साथै, १० लाई पूर्णांक मानेर प्रदर्शनको आधारमा प्राप्तांक पनि दिइएको छ ।
१. शरद भेषवाकर (८.५/१०) विस्फोटक फिनिसर
यो
प्रतियोगितामा नेपालले नयाँ हिरो पायो, शरद भेषवाकरका रूपमा । उनको सानदार
फिनिसिङ शैली प्रतियोगिताकै हाइलाइटका रूपमा रहेको छ । शरदले छनोट
प्रतियोगितामा आठपटक ब्याटिङ गर्ने अवसर पाए, जसमध्ये पाँचपटक उनी नटआउट
रहे । चारवटा म्याचमा नेपालको तर्फबाट विजयी रन प्रहार गरे । त्यसमा पनि
तीनवटा म्याचमा उनले गरेको प्रदर्शन नेपाली क्रिकेटकै लागि अविस्मरणीय
रहनेछ । केन्या, हङकङ र युएईविरुद्धको म्याचमा उनले अन्तिम ओभरमा क्रमश:
१७, ११ र १३ रन बनाएर नेपाललाई जित दिलाएका थिए । उनलाई युएईको एक
पत्रिकाले उत्कृष्ट फिनिसर मानिने भारतीय कप्तान महेन्द्रसिंह धोनीसित
तुलना गरेको छ ।
नेपाललाई विश्वकपमा पुर्याउने क्रममा हङकङविरुद्धको क्वाटरफाइनल खेलको
अन्तिम ओभरमा १३ रन चाहिएको थियो । स्ट्राइकमा रहेका शरदले पहिलो दुई बलमा
छक्का र चौका प्रहार गर्दै नेपाललाई जितको नजिक पुर्याए । अन्तिम बलमा एक
रन चाहिएको अवस्थामा पनि उनैले फिल्डरहरूको घेरा छेडेर नेपालको जित
सुनिश्चित गरेका थिए । यसअघि केन्याविरुद्धको म्याचमा शरदले आफ्नो विस्फोटक
ब्याटिङ क्षमताको उदाहरण देखाएका थिए । एक सय ८४ रन पछ्याइरहेको नेपाललाई
अन्तिम ओभरमा १७ रन चाहिएको वेला उनले पहिलो चार बलमा तीनवटा छक्का ठोकेर
सनसनीपूर्ण जित दिलाए । युएईविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा पनि
उनले अन्तिम ओभरमा लगातार दुई छक्का ठोके । प्रतियोगिताभर शरदले १४० रन
बटुल्दा १०८ बलको सामना गरेका थिए । उनले सात चौका र सात छक्का प्रहार गर्न
क्रिजमा १६५ मिनेट बिताए । शरदले केन्याविरुद्ध एक ओभर बलिङ गर्ने अवसर
पाउँदा ३० रन खर्चेका थिए ।
२. पारस खड्का (८/१०) सदाबहार नायक
पछिल्ला
हरेक प्रतियोगितामा झैँ युएईमा सम्पन्न विश्वकप छनोटमा पनि कप्तानले ‘लिडिङ
फ्रम दी फ्रन्ट’ लाई मूर्त रूप दिए । नेपाली क्रिकेटका सुपरस्टारको छवि
बनाइसकेका उनको ब्याटिङसँगै बलिङ पनि महत्त्वपूर्ण रह्यो । नेपालले खेलेका
दशवटै प्रतियोगितामा उनले बलिङ र ब्याटिङ गरेका थिए ।
अघिल्लो तीन अन्तर्राष्ट्रिय स्पर्धामा नेपाली टोलीकै सर्वाधिक रनकर्ता
पारस यसपटक भने दोस्रो बनेका छन् । उनले १० खेलमा २३२ रन बनाउँदा १९० बलको
सामना गरे । नेपाली टोलीबाट सर्वाधिक १२ छक्का प्रहार गरेका पारसले २४७
मिनेट क्रिजमा बिताउँदा ११ चौका ठोके । पहिलो म्याचमा डेनमार्कविरुद्ध
नेपाललाई जिताउन पारसको एकल योगदान थियो भने हङकङविरुद्धको सबैभन्दा
महत्त्वपूर्ण म्याचमा उनले कप्तानी इनिङ खेल्दै टिमलाई अविस्मरणीय जिततर्फ
अगाडि बढाएका थिए । यस्तै, केन्याविरुद्ध ठूलो लक्ष्य चेज गर्न पनि पारसको
विस्फोटक ब्याटिङ महत्त्वपूर्ण रह्यो ।
पारसले पूरै प्रतियोगिताभर ३०
ओभर बलिङ गर्दा २०० रन खर्चंदै ११ विकेट लिएका छन् । ब्याटिङझँै बलिङमा पनि
पारसको प्रदर्शन एकनासको रह्यो । उनको बलिङको विशेषता के थियो भने एउटै
म्याचमा उनले अवस्था हेरर मिडियम पेस र स्पिन बलिङ गरेका थिए । सेमिफाइनलमा
अफगानिस्तानबाहेक अन्य सबै खेलमा पारसले विकेट लिए । उनले कुल ३० ओभर
बलिङमा दुई रन खर्चेर सो विकेट हात पारेका हुन् ।
३. वसन्त रेग्मी (७.५/१०) स्पिन कमान्डर
नेपालका
नम्बर १ स्पिनर वसन्त रेग्मी सधँैझैँ यस प्रतियोगितामा पनि प्रभावशाली रहे
। तथापि, केही म्याचमा भने यसपटक अनपेक्षित रूपमा उनी महँगा साबित भए ।
‘विकेट टेकिङ बलर’को छवि बनाएका वसन्तले प्रतियोगिताभर २०३ रन खर्चेर १४
विकेट लिए । उनले आफ्नो उत्कृष्ट प्रदर्शन भने तेस्रो स्थानका लागि युएईसित
भएको अन्तिम खेलमा देखाएका थिए । सो म्याचमा चार ओभर बलिङ गर्दा केवल १६
रन खर्चेर उनले चार विकेट लिएका थिए । यो नै टी–२० मा नेपाली बलरको
सर्वोत्कृष्ट प्रदर्शन हो । यसअघि नेदरल्यान्डविरुद्ध पनि उनले केवल १२ रन
खर्चेर ३ विकेट लिएका थिए । लोकप्रिय क्रिकेट वेबसाइट क्रिकइन्फो डटकमले
आसन्न विश्वकपमा वसन्त नेपालका सबैभन्दा डरलाग्दा बलर हुन सक्ने भविष्यवाणी
गरेको छ ।
कुनै समय ब्याटिङ अलराउन्डरका रूपमा चिनिने वसन्तको ब्याटिङ क्षमता भने
लगातार खस्किरहेको छ । यसपटक पनि उनको ब्याटले कुनै कमाल देखाउन सकेन ।
शक्ति गौचनभन्दा अगाडि आठ नम्बरमा ब्याटिङ गर्न आउने वसन्तले प्रतियोगितामा
चारपटक ब्याट समाउने मौका पाएकोमा २४ रनमात्र जोड्न सके ।
४. सुभाष खकुरेल (७/१०) स्थिर ओपनर
नेपाली
टोलीका विकेटकिपर तथा ओपनर सुभाष खकुरेलको अन्तर्राष्ट्रिय क्रिकेटयात्रा
त्यति धेरै लामो छैन । राष्ट्रिय टोलीमा उनले स्थान बनाएको तीन वर्ष भयो ।
तर, ब्याटिङ र विकेटकिपिङ दुवैमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् ।
ओपनरको भूमिका सधैँ विशिष्ट र चुनौतीपूर्ण मानिन्छ । त्यसमा पनि टी–२० मा
पहिलो बलदेखि नै आक्रमणमा उत्रिनु सजिलो छैन । खकुरेलले आफूलाई आक्रामक
ओपनरका रूपमा भन्दा पनि एंकर भूमिकामा राख्न रुचाए । प्रतियोगितामा नेपालका
तर्फबाट पारस खड्कालाई पछि पार्दै सबैभन्दा बढी रनको रेकर्ड उनको नाममा
रह्यो । १० म्याचमा कुल २३४ रन बनाएका उनले आफ्नो स्ट्राइक रेटमा भने धेरै
सुधार गर्नुपर्ने देखिन्छ । टी–२० मा १०० भन्दा तलको स्ट्राइक रेट कमजोर
मानिन्छ, जब कि खकुरेलको ९३ मात्र रह्यो । तथापि, प्राय: म्याचमा नेपाललाई
स्थिर सुरुवात दिएर पछि आउने ब्याट्सम्यानका निम्ति प्लेटफर्म तयार गर्न
उनी सफल रहे । उनको विकेटकिपिङ पनि सधैँझैँ क्लिन रह्यो । केन्याविरुद्धको
हाइस्कोरिङ चेजमा सुभाषले ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
५. अविनाश कर्ण (७/१०) मौकामा चौका
यस
प्रतियोगितामा नेपालको फास्ट बलिङलाई कमजोर कडीका रूपमा लिइएको थियो ।
अनुभवी अमृत भट्टराई खराब फर्मबाट गुज्रिरहेका थिए भने जितेन्द्र मुखिया र
अविनाश कर्ण दुवै अनुभवहीन थिए । प्रतियोगिताका अघिल्ला म्याचहरूमा
अनुभवलाई प्राथमिकता दिँदै अविनाशलाई बेन्चमा राखी अमृतलाई खेलाइयो । तर,
उनी जम्न नसकेपछि अफगानिस्तानविरुद्धको म्याचमा अविनाशले मौका पाए । थोरै
म्याच खेलेर पनि अविनाश आफ्नो प्रतिभा र क्षमता उजागर गर्न सफल भएका छन् ।
टाइट लाइन र लेन्थमा बलिङ गरेका अविनाशले पाँच म्याचमा ६ विकेट लिए, जसका
लागि ८७ रन खर्चे । यदि बल फ्याँक्ने गतिमा सुधार गर्न सके भने उनी नेपालका
घातक फास्ट बलर बन्ने सम्भावना राख्छन् ।
६. ज्ञानेन्द्र मल्ल (७/१०) साख जोगाउन सफल
नेपालका
पूर्वकप्तान विनोद दासको नजरमा नेपाली टोलीमा टेक्निकल्ली सबैभन्दा
उत्कृष्ट ब्याट्सम्यान हुन् ज्ञानेन्द्र मल्ल । तेस्रो नम्बरमा नियमित
ब्याटिङ गर्ने ज्ञानेन्द्र विकेटको दुवैतर्फ आकर्षक सट खेल्न माहिर छन् ।
युएईमा उनको ब्याट राम्रै चल्यो । रिस्क नलिईकन क्लासिक सट खेल्न मन पराउने
ज्ञानेन्द्रले प्रतियोगितामा कुल २१० रन बनाए, जुन नेपाली
ब्याट्सम्यानमध्ये तेस्रो ठूलो स्कोर हो । अफगानिस्तान–विरुद्धको पहिलो
म्याचमा ९ बलमा २३ रन ठोकेर आफ्नो विस्फोटक क्षमता साबित गरेका
ज्ञानेन्द्रले अफगानिस्तानविरुद्धकै सेमिफाइनलमा भने १४ रन बनाउन २३ बल
खर्च गरे । नेपाली टोलीका उपकप्तानसमेत रहेका ज्ञानेन्द्रले आफूलाई टी–२०
शैलीमा ढाल्न अझै धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ ।
७. जितेन्द्र मुखिया (६.५/१०) निखारिँदै प्रतिभा
युएई
जानुअघि जितेन्द्र मुखियाको नाम कमैले सुनेका थिए । महत्त्वपूर्ण
प्रतियोगितामा राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका मुखियाले निराश
बनाएनन् । फास्ट बलिङका निम्ति सुहाउँदो शरीर नभएका मुखिया केही म्याचमा
फितलो बने पनि धेरै म्याचमा प्रभावकारी देखिए । ब्याट्सम्यानहरूलाई खुलेर
खेल्न नदिएका उनले १० म्याचमा ११ विकेट लिएका थिए । नेपालले खेलेका १० वटै
खेलमा बलिङ गरेका मुखियाको बर्मुडाविरुद्ध उत्कृष्ट प्रदर्शन रह्यो, जसमा
२० बलमा २५ रन खर्चेर ३ विकेट लिएका थिए । सामान्यतया लाइन र लेन्थमा
समस्या नभए पनि वेला–वेलामा लुज बल दिनाले उनको इकोनोमी राम्रो हुन सकेन ।
विश्वकपका लागि आफूलाई तयार पार्न उनले आफ्नो तौल घटाएर बलिङ स्पिड बढाउन
मिहिनेत गर्नुपर्नेछ । अन्यथा बलिया टोलीका निम्ति उनको बलिङ गुलियो
ललिपपजस्तो हुन सक्छ ।
८. विनोद भण्डारी (६.५/१०) हट एन्ड कोल्डविनोद
भण्डारीलाई टी–२० का विशेषज्ञ ब्याट्सम्यानका रूपमा लिइन्छ । आफ्नो बलियो
दिनमा विपक्षी टोलीलाई उनी कुनै मौका दिँदैनन् । युएईमा उनको ब्याटिङ ‘हट
एन्ड कोल्ड’ रह्यो । युएईको आइसिसी मैदान दुईले भने उनलाई सधैँ सम्झिरहनेछ ।
सो मैदानमा उनले लिगको चौथो खेलमा पपुवा न्युगिनीविरुद्ध २३ बलमै ५१ रनको
इनिङ खेले जुन नेपाली टी–२० इतिहासकै दोस्रो छिटो अर्धशतक थियो ।
कठिन अवस्थामा क्रिजमा आएका उनले ६ वटा आकर्षक छक्का प्रहार गरेर टिमलाई
जित दिलाएका थिए । विनोदले खुलेर खेलेको देखेपछि ननस्ट्राइकमा रहेका
कप्तान पारसले आफ्नो स्वाभाविक खेललाई पन्छाएर सहयोगी भूमिका निभाएका थिए ।
तथापि, प्रतियोगिताभर उनको ब्याटिङमा एकरूपता देखिएन । महत्त्वपूर्ण
म्याचहरूमा कठिन समयमा आफ्नो विकेट गुमाएर उनले टिमलाई समस्यामा पारेका थिए
। प्रतियोगितामा कुल १४९ रन बनाए जुन नेपाली टोलीको चौथो व्यक्तिगत ठूलो
स्कोर हो । उनले १०४ बलमा ९ चौका र १० छक्का प्रहार गरे ।
९. अनिल मण्डल (६/१०) स्थानको खोजीदायाँहाते
ब्याट्सम्यान अनिल मण्डलले यस प्रतियोगितामा धेरै मौका पाएनन् । क्रिजमा
सेट हुन समय लगाउने भएकाले उनलाई टी–२० म्याचका लागि कोच र कप्तानले प्राय:
प्राथमिकतामा राख्दैनन् । वान डेमा धेरैपटक नेपाली टोलीको ओपनिङ गरिसकेका
अनिललाई यस प्रतियोगितामा दुई खेल मात्र खेल्ने मौका मिल्यो ।
७ नम्बरमा
ब्याटिङ गर्न पठाइएका अनिलले स्कटल्यान्डविरुद्धको खेलमा ८ बलको सामना
गर्दै ८ बल नै बनाएर आउट भए । तर, युएईविरुद्धको अन्तिम खेलमा भने उनको
महत्त्वपूर्ण भूमिका रह्यो । शरद भेषवाकरलाई साथ दिने क्रममा उनले ८ बलमा २
चौकासहित बहुमूल्य १३ रन जोडे ।
१०. सागर पुन (४.५/१०) कामचलाउ ओपनरअलराउन्डरका
रूपमा टोलीमा स्थान बनाएका सागरले युएईमा आफूलाई प्रमाणित गर्न सकेनन् ।
प्रदीप ऐरीको असफलतापछि सागरलाई नेपालको ब्याटिङ ओपनिङ गर्ने चुनौती
आइपरेको थियो । उनले केही म्याचमा राम्रो सुरुवात गरे पनि ठूलो स्कोर बनाउन
असफल रहे । अफगानिस्तान र हङकङविरुद्ध बनाएको समान २२ रन नै उनको
व्यक्तिगत उच्च योगफल थियो । ९ खेलमा ब्याटिङ गर्न पाएका उनले कुल ११३ रन
मात्र जोड्न सके ।
बलिङमा सागर झनै असफल भए । उनको स्पिन बलिङले युएईमा
कुनै जादु देखाउन सकेन । आठ खेलमा १५ ओभर मात्र बलिङ गर्न पाएका उनले ३
विकेटका लागि १२८ रन खर्चे । पृथु बास्कोटा चोटमुक्त भइसकेको अवस्थामा
आगामी विश्वकपका निम्ति आफ्नो स्थान सुरक्षित गर्नु सागरका लागि
चुनौतीपूर्ण बनेको छ ।
११. शक्ति गौचन (२.५/१०) दुर्लभ असफलता
पछिल्लोपटकको
छनोट प्रतियोगितामा शक्ति गौचन बलिङमा निकै चम्केका थिए । सामान्यतया
ब्याट्सम्यानलाई खुलेर खेल्न नदिने र महत्त्वपूर्ण विकेट लिने उनको विशेषता
हो । यस प्रतियोगितामा भने शक्तिको बलिङ अनपेक्षित रूपमा असफल रह्यो । न
उनले रनको रफ्तार रोक्न सके न नियमित विकेट लिन सफल भए । नौ खेलमा बलिङ
गरेका उनले जम्मा तीन विकेटका लागि २०८ रन खर्चे । ब्याटिङमा शक्तिलाई खासै
प्रयोग गरिएन । ढिला गतिमा जोखिमरहित ब्याटिङ गर्ने शैलीका कारण टी–२० मा
उनलाई ९–१० नम्बरमा खेलाउने गरिएको छ । टोलीका महत्त्वपूर्ण सदस्य शक्तिले
बंगलादेश जानुपूर्व आफ्नो गुमेको फर्म फिर्ता गर्नु नेपाली टोलीका निम्ति
अति आवश्यक छ ।
१२. प्रदीप ऐरी (२.५/१०) हिट एन्ड मिस
प्राय:
ब्याट्सम्यानले आफ्नो भूमिकामा न्याय गरेको प्रतियोगितामा प्रदीप ऐरी भने
दयनीय फर्मबाट गुज्रे । सुभाष खकुरेलसित उनको ओपनिङ जोडी जम्ने अनुमान
गरिएको थियो, तर युएईमा अभ्यास म्याचदेखि नै उनको ब्याट मौन रह्यो ।
आक्रामक ब्याटिङका लागि चिनिने प्रदीप आफ्नो भूमिकामा खरो उत्रिन सकेनन् ।
लगातार असफलताका कारण उनलाई ओपनिङबाट हटाइएको थियो । प्रतियोगिताभर खेलेका
पाँच म्याचमध्ये उनले दुईपटक ओपनिङ गरे भने एकपटक तीन नम्बर र दुईपटक सात
नम्बरमा ब्याटिङ गरे । तर, कुनै पनि स्थानमा उनले प्रभाव देखाउन सकेनन् ।
आफूले खेलेका पाँच म्याचमा केवल ४३ रन जोडे । बर्मुडाविरुद्ध बनाएको २२ रन
उनको उच्च व्यक्तिगत
स्कोर थियो ।
१३. अमृत भट्टराई (२.५/१०) निरन्तर खस्किएको धार
पहिलो
रोजाइका फास्ट बलर अमृत भट्टराईको बलिङ केही समययता निरन्तर खस्किरहेको छ ।
युएईमा पनि उनको बलिङ धारिलो हुन सकेन । नेपालले खेलेका पाँच म्याचमा
लगातार मौका पाएका अमृतले कुनै छाप छोड्न नसकेपछि उनको स्थान अविनाश कर्णले
खोसेका थिए । जम्मा १४ ओभर बलिङ गर्दा उनले १०३ रन खर्चे भने २ विकेट
मात्र हात पारे । पपुवा न्युगिनीसित बाहेकका चार म्याचमा अमृत विकेटविहिन
रहे । विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गर्नु अमृतका लागि निकै कठिन
देखिन्छ ।
- चिरञ्जीवी पौडेल/श्रीलोचन राजोपाध्याय
-नयाँ पत्रिका मसीर ,२०७० |
No comments:
Post a Comment