शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, April 19, 2015

अमेरिकामा नेपाली रक्तदाताको कीर्तिमान

) त्रिचन्द्र प्रतीक्षा

आफ्नो राष्ट्र र समाजको लागि केही गरौँ भन्ने भावना राख्नेमध्ये अर्जुनप्रसाद मैनाली पनि एक हुनुहुन्छ । रक्तदानजीवनदान भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै उनी अगाडि बढिरहनुभएको छ । यस क्षेत्रमा लागेकालाई समेत उहाँले हौसला र प्रेरणा दिनमा कुनै कञ्जुस्याइँ गर्नुभएको छैन । सन् २०१४ सम्ममा १३३ पटक रक्तदान गरेका उहाँ विश्वभर चर्चित हुनुहुन्छ ।

वासिङ्गन, डीसीस्थित अमेरिकन रेडक्रसद्वारा आयोजित रक्तदान कार्यक्रममा उहाँले १३३ औं पटक रक्तदान गर्नुभयो । सन् २०१४ मा मात्रै उहाँले १९ पटक रक्तदान गर्नुभयो । अमेरिका, क्यानाडा, बेलायत, बर्मूडा, मकाउ र आयरल्याण्डमा छ पटक होल ब्लड र न्युयोर्कमा १३ पटक प्लेट्लेट्स सहित १९ पटकमा आठ हजार ४१० एम. एल. रक्तदान गर्नुभएका उहाँ वर्षमा सबैभन्दा बढी रक्तदान गर्ने नेपाली मूलका अमेरिकन बन्न सफल भए ।

सन् २०१४ मा अमेरिकी नेपाली समुदायमा असल काम गर्ने सयौंमध्ये नेपालीपाटी डट कमले सार्वजनिक गरेको १० नाममा उहाँ सबैभन्दा बढी रक्तदान गर्नेमा हुनुहुन्छ ।

सन् १९६७ जून २० मा काभ्रेपलाञ्चोकको सिपालीमा जन्मनुभएका मैनालीको बाल्यकाल गाउँमै बित्यो । सात कक्षादेखि काठमाडौंको पद्मोदय मा. वि. मा पढ्नुभएका उहाँले सन् १९८५ मा एसएलसी उत्तीर्ण गर्नुभयो । नेपाल कमर्श क्याम्पसमा अध्ययन गर्नुभएका उहाँले डिल्लीबजारस्थित इलाका हुलाक कार्यालयमा अस्थायी रुपमा काम पनि गर्नुभयो ।

अङ्ग्रेजी पाठ्यपुस्तकमा दि ब्लड डोनरभन्ने एउटा पाठबाट आफूमा पनि रक्तदान गर्ने इच्छा जागृत भएको बताउनुहुने मैनालीले घुम्दै जाँदा काठमाडौंस्थित विशाल बजार लायन्स क्लबले आयोजना गरेको एक रक्तदान कार्यक्रम देखेर त्यहाँनै उनले पहिलो पल्ट रक्तदान गरेको बताउनुहुन्छ । त्यो सन् १९८७ अगस्ट २० को घटना थियो । एंव रीतले आजको दिनसम्म सेवालाई उहाँले निरन्तरता दिंदै आइरहनुभएको छ ।
हुलाकको अस्थायी जागिर छोडेर सन् १९८९ जुनमा लायन्स क्लब इन्टनेशनल डिस्ट्रीक्ट ३२५, विशालबजारमा कार्यालय सहायकको रुपमा काम थालेपछि उहाँको रक्तदानको चाहना पनि विस्तार पुरा हुन थाल्यो । त्यसको ठीक वर्षदिन पछि सन् १९९० मा रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरुको सामुहिक प्रयासमा ब्लड डोनर्स क्लबको स्थापना भयो । हाल यो संस्था ब्लड डोनर्स एसोसिएसन अफ नेपाल नामले परिचित छ । त्यसबेला नेपालमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जागिसकेको थिएन । रक्तदान गर्ने उत्प्रेरणा जगाउन उहाँले सन् १९९० मेदेखि सन् १९९१ फेब्रुअरीसम्म साइकल यात्रा समेत गर्नुभयोे ।

सन् २००० नोभेम्बर २ मा अमेरिकन एसोसियसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनमा भाग लिन मैनाली वासिङ्टन डि.सी. पुग्नुभयो । त्यसपछि अमेरिकामा बसोबास गरेका उहाँले रक्तदान पटकपटक गरिरहनुभयो ।

साधारणतया स्वस्थ मानिसले तिनतिन महिनामा अर्थात् वर्षको चार पटक रक्तदान गर्ने मान्यता विपरीत वर्षदिनमा १९ पटक कसरी सम्भव भयो त? उहाँका अनुसार, रक्तदान सामान्यतया दुई किसिमबाट गर्न सकिन्छ । पहिलो हो, परम्परागत शैली होल ब्लड डोनेसन । यो शैलीमा १५÷२० मिनेटमा एक प्रिन्ट रगत निकालिन्छ र पछि प्रयोगशामा लगेर रगतमा भएको तत्वलाई छुट्टाइन्छ । रगतमा सामान्यतया चार तत्वहरु हुन्छन्राता रक्तकोष, सेता रक्तकोष, प्लाज्मा र प्लेट्लेट्स ।

होम ब्लड डोनेसन गर्दा यी सबै तत्वहरु जान्छ जुन त्यति आवश्यक हुँदैनन् । प्लेट्लेट्सलाई एक विशेष उपकरणको सहयोगबाट डबल रेड सेल रगत लिइन्छ र रगतलाई सुरुमै छुट्टाएर प्लाज्मालाई फेरी शरीरमा नै फिर्ता पठाईदिन्छ । प्लाज्मामा ९२ प्रतिशत पानी र सात प्रतिशत प्रोटिन हुन्छ । यसरी रगत निकाल्दा दुई प्रिन्ट रगत एकैपटक दान गर्न सकिन्छ र त्यो रगत तुरुन्तै लगेर प्रयोग गर्न पनि सकिन्छ । सो विशेष प्रविधिद्वारा निकालेको रगतलाई नै प्लेट्लेटस भनिन्छ ।

विदेशमा बस्ने आम नेपालीहरुको भन्दा भिन्दै स्वभाव र रुचि भएका उहाँकोे पहिचान पनि विशिष्ट नै छ । उहाँले अमेरिकी नेपाली समुदायहरुसँगको सहकार्यमा सन् २००९ जुन १७ मा ब्लड डोनर्स अफ अमेरिकाको स्थापना गरेर रक्तदानलाई अझ व्यापक र विस्तृत पार्नुभएको छ । सन् २०१४ मा सो संस्थामार्फत् अमेरिकामा एक हजार ९६ जना नेपालीले रक्तदान गरे ।

मैनालीले रक्तदान यात्रालाई अमेरिकामा मात्र सीमित नराखी विश्वव्यापी गर्ने उद्देश्यले सन् २०१४ जनवरी १९ मा इन्टरनेशनल नेप्लिज ब्लड डोनर्ससंस्थाको गठन गर्नुभयो । जसले १९ देशमा रक्तदान गरेर मानवीय सेवा गरिरहेको छ ।

मैनालीलाई उहाँको सेवाभावलाई कदर गर्दै नेपालभित्र विभिन्न संस्था र अमेरिकामा पनि विभिन्न नेपाली संस्थालगायत अमेरिकन रेडक्रम, सेनेटर, कांग्रेसम्यान, टाउन बोर्ड, न्युयोर्क स्टेट विधायक, अमेरिकाको प्रेसिन्टेटियल भोलियन्टर सर्भिस अवार्ड, लायन्स क्लब इन्टरनेशनलबाट लियो अफ द एअर अवार्ड जस्ता थुपै्र सम्मानबाट सम्मानित गरिसकेको छ ।



सम्मान पाउनेक्रममा जीवनमा बिर्सनै नसक्ने घटना सुनाउँदै उहाँ भन्नुहुन्छ– ‘‘सन् २०११ अगष्ट ८ मा न्युयोर्कको बेसबल टिम मेट्सको रंगशालामा मेट्स टिम र क्यालिफोर्निया सान् डिएगोको बेसबल टिम पाड्रेसको खेल हेर्न मेरो सपरिवारलाई निम्ता आएको थियो । सो खेल बारे हामी त्यति परिचित थिएनौं । बेलुकाको कार्यक्रम भएकाले केटाकेटी र श्रीमतीले हेर्न जाने आग्रह गरे । बेलुकाको छ बजेतिर खाना खाएर रंगशालातिर लाग्यौ । रंगशालामा दशौँ हजार दर्शकहरु खचाखच भरिसकेका थिए । खेलको दौरानमा रक्तदानमार्फत् मानवीय सहयोगमा यहाँको अतुलनीय योगदान र निरन्तरताको सम्मान गर्दै आजको मेट्स र पाड्रेसबीच खेलको ब्लडडोनर अफ द गेमघोषणा गरिन्छ’’ भन्दै मेरो नाम डिस्प्लेमा देखाइयो । उपस्थित दर्शकहरुले कर्तलध्वनिसाथ ताली बजाए । त्यस्तो हौसलाले मलाई अझ आफ्नो कार्यमा लागिरहन दृढ बनायो र हौसला प्राप्त भइरह्यो ।’’

उहाँ अमेरिकामा धेरै रक्तदान गर्ने व्यक्तिको रुपमा मात्र नभई दीनदुःखीहरुका लागि सहयोग गर्ने व्यक्तिका रुपमा समेत चिरपरिचित हुनुहुन्छ । अमेरिका र नेपालका विभिन्न संस्थालगायत अन्तर्राष्ट्रिय समस्यामा पनि उनले सहयोग गर्दै आउनुभएको छ । उहाँले अमेरिकालाई कर्मभूमि बनाए पनि जन्मभूमिलाई पनि उत्तिकै सक्दो सहयोग गरिरहनुभएको छ ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍==============================================================================================================================================================================================================
रक्तदानको इतिहास र नेपाल

विलियम हार्भर (बेलायत) ले सन् १६१६ तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने डा. रिचार्ड लोअर (बेलायत) ले सन् १६६५ मा एउटा कुकुरबाट अर्को कुकुरमा सफलतापूर्वक रक्तसञ्चार गराए ।

सन् १८१८ मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत सञ्चार गराउने प्रयास गरे तर सफल भएन । सन् १९०० मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C  रक्त समूह हुन्छ भन्ने कुरा पत्ता लगाए भने सन् १९१४ मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए ।

सन् १९३० को भौतिक शास्त्रको नोबेल पुरस्कार समेत प्राप्त गरेका कार्ल लेन्डस्टेनर (जन्म १४ जून १८६८ मृत्यु २६ जून १९४३) विख्यात अष्ट्रेलियाली जीव विज्ञान र भौतिकविद्को स्मरणमा उनको जन्मदिनको अवसरलाई रक्तदान दिवसजून १४ घोषणा गरिएको हो, भने पहिलो रक्तसञ्चार केन्द्र सन् १९१३ मा स्पेनको वार्सिलोनामा स्थापना भएको थियो ।

यस्तै, नेपालमा वि.सं. २०२३ साउन १२ गते वीर अस्पतालको हातमा लक्ष्मी ब्लड बैंकको नामबाट नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा सञ्चालन गरेको थियो । पछि त्यसको नाम परिवर्तन भएर केन्द्रीय रक्तसञ्चार केन्द्र भयो । वि.सं. २०३७ सालमा नेपाल रेडक्रस सोसाइटीले आफ्नै भवन प्रदर्शनी मार्गमा रक्तसञ्चार सेवा केन्द्रको नाममा स्थापना ग¥यो र हाल त्यसको संयोजन, रेखदेख नेपाल रेडक्रम सोसाइटीले गर्छ ।

हरेक व्यक्तिले थाहा पाउनुपर्छ कि मानिसको शरीरमा रगत बन्ने प्रक्रिया सधैं निरन्तर चलिरहन्छ र रक्तदान गर्दा पनि कुनै नोक्सान हानि हुँदैन । तर यो ठूलो कल्याणकारी कार्य जस्लाई जहिले पनि अवसर पाउना साथ दिन सकिन्छ । रक्तदानको बारेमा चिकित्सा विज्ञान भन्छकुनैपनि स्वास्थ्य व्यक्ति जसका उमेर १६ देखि ६० वर्ष बीचको छ र ४५ किलोग्राम भन्दा बढी तौल छ, जसलाई एच.आई.भी., हेपाटाइटिस बीया सीजस्ता बिमारी नभएका व्यक्तिले रक्तदान निर्धक्क साथ गर्न सकिन्छ । एक पल्टमा १ प्रिन्ट अर्थात ३ सय ५० एम.एल. रगत दिने गरिन्छ । सोको पूर्ति शरीरमा चौबिस घण्टाभित्र हुने गर्दछ । प्रत्येक स्वस्थ व्यक्तिले ३ महिनामा एक पल्ट रक्तदान गर्न सकिन्छ ।

नेपालमा पहिलो रक्तदान गर्ने व्यक्ति समाजसेवी दयावीर सिंह कंसाकार हुन् भने हालसम्म सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति प्रेमसागर कर्माचार्य हुन् । उनले २०७१ पुससम्म १५० पल्ट रक्तदान गरिसकेका छन् । प्रत्येक एक प्रिन्टको ३ सय ५० एम. एल. को हिसाबले पनि उनले दान गरेको मात्रा जोड्ने हो भने ५२.५ लिटर पुगिसक्यो । रक्तदानबारे उनले भनेका छन्– ‘म पानीमात्र खाएर पनि रक्तदान गर्छु । त्यसका लागि अघि वा पछि विशेष तयारी गर्नुपर्दैन मलाई ।रक्तदान गर्दा कमजोर होइन्छ भन्ने भ्रम निवारण गर्दै अगाडि उनी भन्छन्– ‘बरु दिएपछि नयाँ रगत बन्छ र व्यक्ति स्वस्थ हुन्छ । १६ वर्ष हुँदा सुरु गरेका उनले त्यसयता नियमितजसो रक्तदान गर्दै आएका छन् । तीनतीन महिनामा रक्तदान गर्नु नियमित कार्य हो । यसलाई सबैले पालना गर्ने हो भने रगत नपाएर कोही मर्दैन, उनी भन्छन् ।
युवामन्च मासिकमा प्रकाशित