शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, November 29, 2024

लता के.सी. का तीन लघुकथा


 राजनीति



"साँप, साँप !" भुराहरू पोखरीमा छट्पटाएर हारगुहार गर्न थाले। उनीहरूको जीवनलीला समाप्त हुँदै थियो । आफ्ना सन्तानहरू नासिएको देखेर वयस्क माछाहरू ठूलो चिन्तामा परे । एउटाले सुझायो, "ठूलो माछालाई खबर गरौँ ? आखिर हामी सबैको रक्षक उनी नै हुन् ।" कसै गरेर उनीहरू ठुुलो माछाकोमा पुगे । ऊ शानसँग सत्ताको कुर्सीमा बिराजमान थियो । उनीहरूले समस्या राखे । सुन्नासाथ ऊ तात्तियो, ``पोखरीमा सुरक्षाका सबै तरिकाहरू अपनाइएको छ तर सर्पहरू कसरी छिरे ?" वयस्कहरू निरीहझैँ चूपचाप बसे । उसले हुकुमी पाराले आदेश गर्यो, "जाओ, पत्ता लगाओ ।" उनीहरु सुराक पत्ता लगाउन त खटिए तर सफल भएनन् । ठूलो माछा रन्किएर उनीहरुको झाँको झार्दै भन्यो, "यत्ति सानो काम गर्न सक्दैनौ ? भोलि मेरो अवसानपछि पोखरीमा शासन कसरी गर्छौ ?"
ठूलो माछा आफै मैदानमा उत्रियो । केही बेरमै साँपहरू पोखरीबाट गायब भए । भुरा र वयस्क सबै माछाहरू खुसी भए । सङ्कट मोचन गरेकोमा उनीहरुले जयजयकार गरे । ठूलो माछा भने मुसुमुसु हाँसिरहेको थियो ।
ठूलो माछाको सबै क्रियाकलाप हेरिरहेको एउटा माझीले सोच्यो, "सत्ता बचाइराख्न प्रतिद्वन्दीसँग कसरी मेलमिलाप गर्नु पर्छ भन्ने कुरा यी आलाकाँचाहरूलाई के थाहा ?"
आचरण
"रमा र राधा ! हिजो तिमीहरू विद्यालय किन आएनौ ?" कक्षामा पढाउँदै गर्दा अचानक मीना गुरुमाले सोधेपछि उनीहरू झस्किए । गुरूमाले सम्झाउँदै भन्नु भयो, "तिमीहरू कक्षा १० का विद्यार्थी हौ । मिहिनेत गर्ने बेलामा विद्यालय छाडेर चलचित्र हेर्न गएर हुन्छ त ? भविष्यसँग खेलवाड नगर है !" उनीहरू केही नबोलेर घोसे मुण्टो लाइरहे । गुरुमाले अनुशासन र नैतिक चरित्रको बारेमा लामै व्याख्या गर्नु भयो । स्वतन्त्रता र स्वच्छन्दता बीचको फरक बताउनु भयो । अव उप्रान्त यस्तो भएमा कडा सजाय हुन सक्ने चेतावनी दिनु भयो । रमा र राधा खुबै मिल्ने साथी थिए । उनीहरूबीच कुनै कुरा लुक्दैनथ्यो । आफ्ना असन्तोष र पीरमर्का एक अर्कामा साटासाट गर्थे । विद्यालय छुट्टी भएपछि उनीहरू सरासर घर गएनन् । खाजा खान रेस्टुरेन्ट पसे । रमाले असन्तोष प्रकट गर्दै भनी, "हामी सिनेमा हल गा´को बुढीले कसरी थाहा पाइछे नि ?" राधाले बेपर्वाहसँग भनी, "छाड् दे न यार ! जताबाट थाहा पाए पनि के फरक पर्छ र ? हाम्रो व्यक्तिगत जीवन, हाम्रो स्वतन्त्रता ! त्यसलाई के मतलब ? बरू भोक लागेको बेला तात्तातो म: म: खा !" दिनभरिको आक्रोस पोखिएपछि उनीहरू काउन्टरमा पैसा तिर्न उभिएका थिए । रमाले कानमा सुटुक्क भनी, "ऊ त्यो कुनामा हेर त !" राधाले नजर लगाउँदै बड्बडाउन थाली , "आदर्शका प्रतिमूर्ति मीना गुरुमा ! हिरोसँग बसेर रातै नपरी ठाडो घाँटी लगाउन पो मस्त !"
द्वन्द्व
"बुहारीको घर फर्किने समय यही हो ? छोरा भोकै छ ।" दैलो टेक्न नपाउँदै सासूको विस्फोट सुन्नु पर्यो । "तिमीहरूका हात गोडा मैले बोकेर गएकी थिएँ र ? कहिलेकाहीँ आमा-छोराले पकाएर खाए हुन्थ्यो त !" मैले नि ठाडै जवाफ दिएँ। अलि अलि वनभोजको धङधङी बाँकी थियो । बेजोडको थकान थियो । रातिको १० बजिसकेकोले सिधै कोठामा गएँ । निदाउने प्रयास गरेँ तर निद परेन। आँखाभरि अतीत सलबलाउन थाल्यो। "यस्तो प्रतिभाशाली कलाकार बिहे गरेपछि के भयो ? कत्ति घरमा मात्र समय दिन्छेस् ।" सबै साथीहरूले मलाई यस्तै भन्थे । म उनीहरूसँग बिरोधको भाषा बोल्थेँ, "पारिवारिक सुख, शान्ति र मायाप्रेम त्यसै कहाँ पाउँछ र ?" उनीहरू कर गर्दै भन्थे, "तँ राष्ट्रको सम्पत्ति बन्न सक्छेस् ।" उनीहरूका कुराले मेरो मन क्रमश: प्रभावित हुँदै गयो । घरायसी कामको समय चोरेर म चित्र बनाउन तल्लीन हुन थालेँ । चित्र बिक्री हुन थाल्यो । यसै क्रममा म बाहिर घुमफिर गर्न थालेँ । आर्थिक सम्पन्नता, सम्मान र परिचय प्राप्त गरेँ तर मेरो स्वतन्त्रताले मेरा आफन्तलाई घोच्न थालेछ । बाहिर सासूले मूल ढोका लगाउँदै कराउनु भयो , "यस्तो पाराले घरमा शान्ति हुँदेेन है, छोरा ! बेलैमा सोच ।" म झसङ्ग भएँ । यता उता हेरेँ । ऊ मस्त निद्रामा थियो । मलाई भने पटक्कै निन्द्रा लागेन । मनले भन्यो, "बढी महत्वाकाँक्षी हुँदै गर्दा कतै आफ्नाको माया त गुमाएकी छैनस् ?" मष्तिष्कले भन्यो , "माया नै गुमाएपछि पहिचानको मात्र के मूल्य ?" यसै द्वन्द्वको बीचमा बुबाले भनेको सम्झिएँ, "समस्या परेको बेला मेरी छोरी विचलित हुँन्न बरू विवेकले समाधान खोज्छे ।"

-तीनकुने , काठमाडौँ


.‍..‍.‍.‍साथ सहयोगको खाँचो

No comments:

Post a Comment