शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, December 29, 2023

झमक घिमिरेका तीन कविता

 वाइन र सेक्स

-झमक घिमिरे

तरुनो बताससँग सेक्स गरेँ वाइनको नसाजस्तै झम्म पार्यो अतृप्त बैंसालु मन त्यो नयाँ तन्नेरी तनको थियो नयाँ अनुभूतिको थियो र नयाँ उल्लासको थियो त्यो स्वर्णिम पल !

वाइनको नसाजस्तै यौवन पोखिएको कौमार्य चुहेको वाइनजस्तै पिएँ अतृप्त पल ! मैले तरुनो विचारसँग सेक्स गरेँ जीवनसँग स्वयमसँग अनि समयसँग र वाइनसँग फक्रिएको कौमार्य पिएर त्यसको थोपासँग स्वयम् आफूलाई निलेर बमन गर्न चाहन्छु एउटा परिवर्तन !

*********************

माया

धरतीमा बीउ छरे झैं अङ्कुराए झैं अङ्कुराउँदैन माया मौसमी याममा खेतका गराहरूमा बीउ छरे झैं छरिँदैन माया त्यो मनकै गराहरूमा उम्रिन्छ मनकै उर्वर धरातलमा फुल्छ, फल्छ यसको कुनै निश्चित आकार हुँदैन जसले जसरी अर्थ लाए पनि हुने यो आफैंमा अनन्त छ निश्चल, कोमल छ मायामा द्वेष हुँदैन वेदना र भेद हुँदैन ! एउटा मीठो समर्पण हुन्छ जहाँ आस्था विश्वास हुन्छ एउटा अनुभूति हो माया जसलाई भोगे अनुसारको अर्थ दिन सकिन्छ यसलाई जस्तो आकृति पनि दिन सकिन्छ चाहेजस्तो अर्थमा बुझ्न सकिन्छ ! मायाको एउटा रूप हुँदैन त्यो मनबाटै रूप धारण गर्न सक्छ यसको कुनै रङ्ग हुँदैन जुनसुकै रङ्ग हुन सक्छ !
*********************

आनन्द
घाम पूर्ण फक्रिएपछि रात शीत बनेर फूलको बोटमा ओर्लिन्छ त्यहाँ फूल हाँस्छ म हाँस्छु र घाम स्वयम् हाँस्छ अर्थात् जीवन हाँस्छ ! घाम ओइलाएर झरेपछि रातले मुख बाउँछ आँ... अर्थात् रातले उज्यालो क्वाप्प निल्छ र ओकल्छ निस्तब्धताभित्र एउटा जून ! जून आफू जन्मिन घाम सर्लक्कै निल्छ र ओकल्छ निलो आकाशमा तारा रातले घाम निलेपछि जून फूलको बोटमा ओर्लिन्छ त्यहाँ जून पूर्ण फुल्छ र जीवन पूर्ण फक्रिन्छ !
- धनकुटा

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com

1 comment:

  1. वाह! क्या दामी कविता! प्रिय कवि ज्यू।

    ReplyDelete