शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, December 29, 2023

रामजी घिमिरेको गीत


 1                     

आयो तिहार परदेशीलाई सम्झनाले छुन थाल्यो गाउँको यादले सताएर भित्री मन रुन थाल्यो । बादल पारी छितिजमा हिमशिखर खुले होलान् टारी गैरी लहलह पहेंलै धान झुले होलान् । दिदीबहिनी माला उन्दै मेरै बाटो हेर्दै होलान् आँगनीमा बत्तीबाली परदेशीलाई कुर्दे होलान् ।।

आफ्नै संस्कार सम्झिएर बरबर आँसु चुहन थाल्यो गाउँको यादले सताएर भित्री मन रुन थाल्यो । आँगनी छेउ मखमली सयपत्री फुले होलान् दाजुभाइ देउसी खेल्दै गाउँ गाउँ डुले होलान् । रमाएर नाच्दै होलान् खुसी भई हास्दै होलान् परदेशीको माया मोह सम्झनामा साच्दै होलान् ।। किन आज यति धेरै यो मन विह्वल हुन थाल्यो गाउँको यादले सताएर भित्री मन रुन थाल्यो ।

 2                     

कोपिला मै चुँडी माया ढकमक्क फुल भन्यौ हाँगाबाट भुईंमा झारी डाली डाली डुल भन्यौ । निभाई दियौ प्रीतको दीप हावा हुरी चलाएर छाडिदियौ मूलबाटोमा सारा सपना जलाएर । आफू गयौ प्रभात बोकी मलाई रातमा खुल भन्यौ हाँगाबाट भुईंमा झारी डाली डाली डुल भन्यौ ।। आफै चोट दिने पनि आफै खोट लाउने पनि छली मलाई पराईको फूलबारीमा धाउने पनि । गाँसी नाता पराईसँग आखिर मलाई भुल भन्यौ हाँगाबाट भुईमा झारी डाली डाली डुल भन्यौ ।।

 3                     

रातदिनै तिम्रो सम्झना आउँदा भित्री मन रोईराछ विरह चली यो छाती पोल्दा कहाँ देखू भईराछ । विदेशमा सधैँ हराउँदा तिमी हितैको दौतरी बर बिना यता एक्ली छ पिपल शुन्य छ चौतारी । कस्तो छ तिमीलाई बिसन्चो सन्चो, विदेशी माटोमा महलमा बसी सयलमा छौ कि रोईराछौ बाटोमा ।। आगोले बन, खाए झै मन, रातदिन नै खाईराछ विरह चली यो छाती पोल्दा कहाँ देखूँ भईराछ । जुन तस्वीर हेरी बुझाउँथे मन त्यो पनि फाटी गो छुनेर गयो आशाको चङ्गा नौ डाँडा काटी गो । कसरी पठाऊ ईमेलमा लेखी यो मनको भावना सपना भरी तिमीलाई देखूँ यही छ चाहना ।। यी आँखा भरी बर्षेर झरी पछेउरी धोईरहेछ विरह चली यो छाती पोल्दा कहाँ देखूँ भईराछ ।

 4                     

माटोले मागे म बलि चढ्न सदैव तयार छु यो देशको लागि म युद्ध लडन सदैव तयार छु । नेपाली सन्तान वीरको रगत कहिलै सुक्दैन पारेर खण्ड फाले नि देह कहिलै झुक्तैन । नहटी पछि किल्ला मै अड्न सदैव तयार छु यो देशको लागि म बलि चढन सदैव तयार छु ।। एक मुठी माटो यो मेरो देशको चुडेको सहन्न म फिर्ता गर्छु चुँडेको माटो बरु म रहन्न । किल्लामै अड्न किल्लामै सड्न सदैव तयार छु यो देशको लागि म बलि चढन सदैव तयार छु ।।

 5                     

मुटुभित्र नेपालको अमिट माया साँचौ हामी जहाँ जता बसे पनि नेपाली भई बाँचौ हामी । सिमानामा बैरी घुसे, सबै मिली छेक्नु पर्छ हिमालमा चिसो बढे, तराईले सेक्नु पर्छ । पहाडको अनिकाललाई मधेशले टार्नु पर्छ पर्नसक्ने संकटलाई एकजुट भई बार्नु पर्छ ।। चारै जातको फूल उनेर एउटै माला गाँसौ हामी जहां जता बसे पनि नेपाली भई बाँचौ हामी । मन फाटे सिउनु पर्छ, हाँसी खुसी जिउनु पर्छ हिमचुलीको मूलको पानी सबै बाँडी पिउनु पर्छ । भाई फुटे गँवार लुट्छ अटल हिमाल झुक्न सक्छ आफू आफू लड्यौ आफ्नै देश चुक्न सक्छ ।। मनको मैलो धुलाएर सदभाव छर्दै हाँसौ हामी विश्वसामु स्वभिमानी नेपाली भई बाँचौ हामी । -धोबीघाट, ललितपुर

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com

No comments:

Post a Comment