आदिम आगोका जुलुसहरू
(पर्या कविता)
● राजबाबु श्रेष्ठ सागर
मुस्कुराइ रहेका सम्भावनाका
कलिला फूलहरूलाई आगोमा तिलाञ्जली दिएर
ऋतुराजले काँचुली फेर्नै लागेको बेला
बाह्रसिङेझैँ रूखलाई जरैदेखि सलाई कोरी धुनी बालेर
नौनीझैँ सुनलाई पगालेर
विश्वको नै सुन्दर पर्यावरणको कुन धरहरा
उभ्याउन खोजिरहेछन् हँ
ए ! आदिम आगोका जुलुसहरू ?
किन पग्लिरहेछन् अचेल
पाषाणका ती अग्ला-अग्ला पहाडहरू ?
किन बग्न छाडे अचेल
जीवनका ती सङ्गला नदीहरू ?
के रोपेका थियौ र गमलामा ?
जो टिप्न खोजिरहेछौ क्षितिजका फूलहरू
के छरेका थियौ र आफ्नै करेसाबारीमा ?
जो काट्न खोजिरहेछौ वातावरणका फसल
ए ! आदिम आगोका जुलुसहरू हो
किन उखेलिरहेछौ धुपी र सल्लाहरू ?
किन फालिरहेछौ ?
वातवरणको उद्यानमा विषाक्त रकेटझैँ
ती आगोका डल्लाहरू
किन रोपिरहेछौ हँ ?
गर्भिणी गाईको कोखामा निर्मम् ती तिखा भालाहरू?
हिमनदीलाई पुरेर कान्तिपुरको रङ्गिन फोहरले
किन मार्दैछौ हँ घाँटी दाबी ?
प्रकृतिका ती कलिला चल्लाहरू ।
म रित्तो कविताको झोला बोकेर
पर्या कविताको खोजीमा हिँडिरहेको बेला
बेवास्ताको ज्वालामुखीमा जलेर मरेका
हजारौँ पुतलीहरूसित कुरा गरिरहेको बेला
ठिक त्यसै बखत हो,
मुर्छा परी ढलेका पीपलका ती रुखहरूले
र रुँदै सुनाइरहेथे
आफ्ना आदिम रक्तिम कथाहरू ।
“ओ कवि ! भनिदेऊ –
“छरेर आगो हत्केलामा
लाग्दैन कहिल्यै पर्यवरणका हाँगाहरू
अझै भनिदिनू - घडियालको आँसुले
बग्दैन कहिल्यै अक्सिजनका ती नदीहरू ।’’
“ओ कवि भनिदेऊ !
आफ्ना प्यालाजत्रै हत्केलामा राख अलिकति
आफ्नै पैतलाले कुल्चिएको स्वाभिमानको माटो
चुहाउनू त्यसमा अलिकति विवेकको पसिना
र छर्नू ती माटोमा पर्यावरणको बिउ
अनि हेर्नू,
कसरी पलाउनेछन् वातवरणका हाँगाहरूमा
समृद्धिकाती कलिला पालुवाहरू ?”
ओ कवि,
साँच्चै भनूँ !
बिर्सनेछन् त्यसदिन मेरो देशले
चैनले काट्न नपाएका कयौँ अनिदा रातहरू
कवि,
लेख हाम्रा पीडाका कविताहरू
र सुनाइदिनू,
ती आदिम रक्तिम आगोका जुलुसहरूलाई
सम्झाइदिनू अझै,
आफ्नै घरमा आगो फुकेर
पिरुकामा बसी धुनी कहिल्यै नताप्नू ।
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com
No comments:
Post a Comment