शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, February 2, 2024

डा. इन्दु प्रभा देवीका दुई कविता


आऊ एकछिन सँगै बसौँ

  डा. इन्दु प्रभा देवी

हावा त बग्छ नै जसरी पायो त्यसरी, बगोस् न
आऊ एकछिन सँगै बसौँ
पानीले फेर्छ नै रूप पात्र अनुसार, फेरोस् न
आऊ एकछिन सँगै बसौँ ।
मन पऱ्यो भन्दैमा पातबाट शीतको थोपो झर्दैन र
मन पऱ्यो भन्दैमा बसन्त स्थायी बसिदिन्छ र !
हाम्रो जीवन भनेकै एकमुठी नुनको कुरा न रहेछ
एकमुठी घामको कुरा न रहेछ
एकमुठी प्रेमको कुरा न रहेछ ।
नुनको कुरा गर्दागर्दै प्रेमको कुरा भुलिइसक्यौँ
(नुन त अन्त्यमा श्मशानमा पनि त हुनेछ आफ्नै भष्मको नाम लिएर ! )
उमेर ढलेको ढल्यै छ एकतमासले
आफ्नै एक्लो छायासितै !...
आऊ न एकछिन सँगै बसौँ
बिर्सिदिऊँ आजलाई कि
हामीले जुनेलीमा अझै खेलेकै छैनौ
आफ्नो कोरस अझै गाएकै छैनौ ।
बिर्सिदिऊँ आजलाई
तरेर आएका नदीका ती तीखा र चिप्ला ढुङ्गाका कुरा
भत्काएका पर्खालमा लागेका रगत र पसिनाका कुरा ।
मन नदुखाउ न !
तिम्राझैँ म पनि त जान्दछु,
टाउका नभएका बाटाले कम छक्याएका छैनन् हामीलाई
पर माथि एउटा लालटिनजस्तो पिलपिले झुठो घाम
पानी भरिएजस्तो रित्तो उडन्ते बादल
अनि रमाइलो देखिने झुठो क्षितिज र जूनकिरीजस्तो निस्तेज जून झुन्ड्याएर ।...
हो, म पनि त जान्दछु,
खपेर हजारौं प्रहरको टाउको दुखाइ
हजारौँ प्रहरको भोक र अनिँदो
जिममा राखेको साइकलजस्तो
कहिल्यै लक्ष्यसम्म नपुग्ने कुदाइ कुदेको कुद्यै छौँ
यी चसक्क बिझ्ने खिल भरिएका पैतालाले...
र पनि
लामो बाटाको त्यो भोगाइ बिर्सिएर
आज एकछिन सँगै बस्न मन छ ।
तिम्रा आँखाका झ्यालका दुई टुक्रा आकाश म हेर्नेछु
मेरा आँखाका झ्यालका दुई टुक्रा आकाश तिमी हेर ।
यिनै आकाशका टुक्रा न हुन्
जसमा हाम्रा केही चङ्गा उड़ाउन सक्छौँ निस्फिक्री
भोलिको दिनमा
आऊ न एकछिन त सँगै बसौँ ।
****************
आत्मकथा
अँध्यारोमा बिस्कुन सुकाउने मान्छे म
छामछुम पार्छु र गुलाब भनेर टिप्छु एकमुठी खरानी
बिहान दिउँसो साँझ र राति भिरिरहन्छु अनुहार पुछेको पुरानो टालो
पुछ्दापुछ्दै सकिएछ अनुहार पनि
छाम्छु-
खोइ मेरा आँखा
खोइ मेरा हातका चुराहरू
पैतालाका जराहरू
अँध्यारामा बिस्कुन सुकाउँछु र टिप्छु एकमुठी खरानी
नुनिलो..
एकदिन उनीहरूका सपनाले बोलाएको थियो मलाई
गएँ
फर्किएर आउँदा म मबाटै हराएँ
खोज्दै हिँड़ेँ कतैतिर कतै थिइनँ म
न मेरो सपनामा विपनामा
न उनीहरूको..
आफूलाई खोज्नुजस्तो जटिल के रहेछ र यहाँ
छाती खनेर छोप्नु पऱ्यो कति कुहिएका जूनहरू
कति तुहिएका भ्रूणहरू...
त्यसपछिदेखि त हो अँध्यारोमा बिस्कुन सुकाउँदै उठाउँदै गर्छु
र अनुभव गर्छु म बाँचेको कुरा
बाँचेको अनुभव नै नभए कसरी खोजौं आफैलाई ?
अहिले म
मेरै हराएको अनुहारभित्रै मलाई खोज्दैछु
खोज्दैछु
मेरै आँखाभित्रै उर्बर खेत
मेरै हातको स्पर्शले नै ठूलो आकाश
अनि मेरै पैतालाले जमीनमा गहिरो व्याप्ति ।
दुनियाँले एकदिन देख्नेछ मेरा बिस्कुनमा घाम ।

-गुवाहटी, असम

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment