शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, January 29, 2019

सहिदको परिभाषाभित्र चार सहिदको सम्झना



–त्रिचन्द्र प्रतीक्षा
त्रिचन्द्र प्रतीक्षा

हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए,
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ।

जबजब सहिद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी पंक्ति सबैले सम्झन्छन् । सहिद भनेको के हो ? राष्ट्र र जनताको हित संरक्षण गर्न ज्यानको बाजी लगाएर सङ्घर्ष गर्ने, प्राण आहुति गर्ने वीर पु्रुष वा वीर वीराङ्गनालाई उर्दू भाषामा ’सहिद’ भनिन्छ, यी आयातीत शब्दलाई नेपाली शब्दकोशमा सहिद शब्दलाई ’कुनै पनि शुभ–परिणामको निम्ति लाग्दालाग्दै प्राण गुमाउने व्यक्ति, देश–जाति र जनताको सुखको निम्ति सङ्घर्ष गर्दा मरेको व्यक्ति’ भनेर परिभाषित गरिएको छ ।

वि. सं. १९०३ सालदेखि नेपालमा जहाँनिया राणा शासनको उदय भयो । तत्कालिन राजपरिवारभित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जङ्गबहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने । लामो समयसम्म जनतालाई दास बनाइ जरा गाडेर बसेको राणा शासनका विरुद्ध आवाज उठाउँदा तत्कालिन राणा शासकहरुले शुक्रराज जोशी (शास्त्री), धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई झुण्ड्याएर मारे । नेपालमा एकतन्त्री शासनको विरुद्ध सङ्घर्ष गरेर प्राण आहुति गर्ने सहिदहरुको नामावली नेपालको इतिहासमा धेरै पाइन्छ । तर पनि सहिदलाई सम्झने वित्तिकै जो कोहीले त्यस्तो नाम उच्चारण गर्छ, जसले जहानियाँ राणा शासनको विरुद्ध हाँसी हाँसी ज्यान दिए । ती शुक्रराज शास्त्री, गङ्गालाल, धर्मभक्त र दशरथचन्दको नाम नेपालीको सहिदहरुको इतिहासमा अग्रपङ्क्तिमा आउने नामहरु हुन् ।


वि.सं. २०१२ सालदेखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गतेका दिन सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सहिद दिवसको रुपमा मनाउँदै आइरहेका छौँ । छोटकरीमा चार सहिदको

जीवनीः

शुक्रराज जोशी (शास्त्री) (१९५० – १९९७)
वि. सं. १९५० सालमा पिता माधवराज जोशी र माता रत्नकुमारीको कोखबाट भारतको बनारसमा शुक्रराज जोशी (शास्त्री) को जन्म भएको थियो । आर्यसमाजको प्रचारप्रसार गरेवापत राणाशासकहरुले देशनिकाला गरेपछि उनका सबै परिवारले भारतमा निर्वासित जीवन बिताउन बाध्य हुनुपरेको थियो । त्यसैले शुक्रराजको जन्म बनारसमा भयो । संस्कृत साहित्यमा शास्त्री उतीर्ण गरेकाले उनलाई पछि शास्त्री भन्न थालिएको हो । आर्य समाजका एक सक्रिय सदस्य शुक्रराजको विवाह अर्का सहिद धर्मभक्त माथेमाकी बहिनीसँग भएको थियो । नेपाल भाषाका साहित्यकारको रुपमा समेत परिचित शुक्रराजका विभिन्न भाषामा पुस्तकहरु समेत प्रकाशित छन् ।

भारतको पञ्जाव विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेपछि नेपाल आएका शुक्रराजको काठमाडौँमा क्रान्तिकारीहरुसँग सम्पर्क भयो । १९९३ सालदेखि उनी राणा शासन विरोधी अभियानमा लागे । महात्मा गान्धीसँग भेटेको आरोपमा उनलाई राणा सरकारले नजरबन्द समेत गरेको थियो । १९९५ माघ १३ गते काठमाडौँको इन्द्रचोकमा सबैभन्दा पहिलो आमसभा गरी उनले सार्वजनिक रुपमा जनतालाई राणा शासनको विरुद्ध एकजुट हुन आह्वान गर्दै सम्बोधन गरे । लगत्तै राजद्रोहको अभियोग लगाएर पक्राउ गरियो र तीन वर्षकैद सुनाइयो । आठवटा झुटा मुद्दामा लगाएर राणा शासनले सर्वस्व हरण सहित १९९७ माघ ६ गते फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गतेको मध्यराती टेकुको पचलीको एक रुखमा झुण्डाएर मारियो ।

दशरथ चन्द (१९६० – १९९७)
वि. सं. १९६० साल असार १७ गते बैतडीको बस्कोटमा जन्मिएका दशरथ चन्द परिवारका माइला छोरा हुन् । उनलाई सहिद माइला पनि भन्ने गरिन्छ । मानविकी तथा समाजशास्त्रमा भारतको बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका चन्दले बनारसमा पढ्दा नै महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा सक्रिय सहभागिता जनाएका थिए । १९९० मा बारा जिल्लाको मौवादहमामा दशरथ चन्दको नेता टङ्कप्रसाद आचार्यसँग पहिलो भेटपछि उनको क्रान्ति चेतना झन बढ्यो । त्यसपछि टड्ढप्रसाद आचार्य र दशरथ चन्दलगायत अन्य साथीहरु मिली १९९३ सालमा नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाएर राणा शासन विरुद्ध आन्दोलन गर्न नेपाल प्रजापरिषद् नामक प्रजातन्त्रवादी संस्थाको स्थापन गरियो । जनतालाई जागृत गराउन उनले सेवासिंह छद्मनामबाट राणा विरोधी लेखरचना समेत प्रकाशित गरे ।

वि.सं. १९९७ को जनआन्दोलनताका दशरथ चन्द र गङ्गालाल श्रेष्ठ समाएर सेन्टर जेलको एउटै कोठामा लगी थुनियो । तत्कालीन राणा सरकारले उनलाई १९९७ माघ १५ गते दुवै जनालाई काठमाडौँको शोभा भगवती मन्दिर अगाडि लगेर गोली हानी हत्या गरे । गोली हान्नुअघि जनरल नरशमशेरले उनलाई ‘माफी माग, माफी माग्यौ भने मारिने छैनौ’ भन्दा राणाहरुसँग झुक्नुभन्दा देशका निम्ति मर्नु वेश सम्झी पूर्णरुपमा अस्वीकार गरे । उनको विवाह राणा खानदान कै एक युवतीसँग तय भएको थियो तर दुईपटकसम्म जन्ती लिएर जाँदा पनि परिवारमा जुठो परेपछि उनको विवाह रोकिएको थियो । अन्ततः उहाँ अविवाहित नै सहिद हुनुप-यो ।

धर्मभक्त माथेमा (१९६६ – १९९७)
वि. सं. १९६६ असोज ९ गते काठमाडौँको ओमबहाल (झोँछे)मा पिता आदिभक्त माथेमा र माता चन्द्रकुमारीको कोखबाट जन्मेका थिए । धर्मभक्त माथेमाका पिता आदिभक्त माथेमा राणा शासनमा सुब्बा तहको सरकारी कर्मचारी हुन् । भारतको दार्जिलिङबाट शिक्षा आर्जन गरेको हुनाले भारत स्वतन्त्रताका सङ्ग्राम परिषद्बाट उनी प्रभावित हुनु स्वाभाविकै हो । धर्मभक्त माथेमा राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत थिए । अध्ययन र राजनीतिसँगै उहाँले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडि बढाए ।

माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक प्रोफेसनल बडी बिल्डर समेत थिए । उनले नेपालमा पहिलो पटक आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याएको थियो । बाल्यकालमा निकै दुब्लो र पातलो भएकै कारण उनलाई साथीहरु निकै गिज्याउँथे । माथेमा कलकत्तामा पढ्नबस्दा शरीर बनाउन जिमखानासमेत जान्थे भने कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा भाग लिएर जित हासिल गरी बङ्गाल च्याम्पिएन समेत बनेका थिए । काठमाडौँ फर्केर ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना समेत स्थापना गरे । उनको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे । एकपटक घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा उनको शारीरिक तन्दुरुस्ती र प्रदशर्नबाट राजा त्रिभुवन निकै प्रभावित हुनुभयो । पछि त्रिभुवनले उनलाई आफ्नो क्याममा प्रशिक्षकमा नियुक्त गर्नुभयो । राणा शासनको आतङ्कबाट जनतालाई मुक्त गर्न धर्मभक्तले वि. सं. १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषद्को स्थापना गरे । राजा त्रिभुवनको उपस्थितिमा काठमाडौँको लैनचौरमा प्रजा परिषद्को गोप्य बैठक बसिरहेका बेला उनी लगायत धैरैजनालाई पक्राउ गरियो । अन्तमा राणाहरुले वि. सं. १९९७ माघ १३ गते राति सिफलमा बकैनाको रुखमा झुण्डाएर मारे ।

गङ्गालाल श्रेष्ठ (१९७५ – १९९७)
वि.सं. १९७५ को फागुपूर्णिमाका दिन रामेछापको भँगेरीमा पिता भक्तलाल र माता तुलसादेवीको घरमा गङ्गालाल श्रेष्ठको जन्म भएको थियो । वि. सं. १९९४ मा दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका गङ्गालाल त्रि–चन्द्र कलेजबाट आईएस्सी अध्ययन गर्दागर्दै उच्च शिक्षाका लागि भनेर आफ्नै काका शङ्करलालसँग भारत परे । कलाकारितामा निकै रुचि राख्ने गङ्गालाल राणा विरोधी संस्था महावीरका कार्यकर्ता समेत भए । महावीर संस्थाले राणा शासन विरुद्ध जनचेतना जगाउन राणाविरोधी प्रवचन र क्रियाकलापहरुमा व्यस्त भए ।

काठमाडौँमा वि.सं. १९९४ सालमा नेपाली नागरिक अधिकार समिति गठन भइसकेको थियो । वि.सं. १९९५ सालमा काठमाडौँको असन र इन्द्रचोकमा राणा विरोधी सभाहरुको आयोजना भएको थियो । त्यसै साल बनारसबाट आई त्यस सभामा गङ्गालाल श्रेष्ठलगायत धेरैले सम्बोधन गरेका थिए । त्यही सभामा भाषण गरेबापत उनलाई पक्राउ गरेपनि तत्कालै छुटेपनि ।

त्यसपछि दशरथ चन्दको सङ्गतबाट प्रजापरिषद्को सदस्यता लिई उनी राणा शासन विरोधी गतिविधिमा सक्रिय सहभागी हुन पुगे । राणा बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा उनलाई वि.सं. १९९७ साल कात्तिक २ गते पक्राउ गरियो । त्यही वर्ष माघ १५ गते दशरथ चन्दसँगै केन्द्रीय कारागारबाट उनलाई लगेर बिष्णुमतीको किनार शोभाभगवतीको मन्दिरअगाडि लगेर गोली हानी मारियो ।

यसरी देशका निम्ति आफ्नो जीवनको आहुति दिने महान् चारैजना सहिदहरुको सम्झना र सम्मानमा चारैजनाको चित्र एकसाथ राखी हुलाक सेवा विभागले वि.सं. २०२२ साल असार २७ गतेका दिन १५ पैसा अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।

trichandra.shrestha@gmail.com
https://www.facebook.com/trichandra.shrestha

No comments:

Post a Comment