बिहानै,
एक झोक्का घाम खस्यो मेरो काखमा
र मुसुक्क मुस्कुरायो
मैले आज पनि त्यहि दिन सम्झिएँ
मेरो पहिलो रजस्वलाको दोश्रो दिन
लालिमा बोकेको कलिलो घाम
मेरो शरिरबाट निस्केको रगत जस्तै रातो थियो ।
मलाई उज्यालो थपेर
रक्तिम रङ्गको क्यानभासले पोतेर
घाम छिप्पिदै गएको थियो मध्यदिनमा
मैले कहिल्यै अनूभव नगरेको
मैले कहिल्यै थाहा नपाएको
खै ! कस्तो कस्तो अनौठो अनूभुतिले
उमङ्ग भरिरहेको थियो मलाई ।
अलिकति लाज र अलिकति धक
छातीभित्र आएर बसेको थियो
आमाले आफू महिनावारी हुँदा
चार दिन पर बसेको
चोखो भएको
पानी नछोएको....
म त्यसबेला पहिलो पटक अनूभव गर्दै थिए।
पहिलो पल्ट नछुने हुँदा सात दिन बार्नुपर्छ
बाबा र दाजुभाइलाई हेर्न हुँदैन
सकभर घर बाहिर निस्कनु हुँदैन
आमाले नयाँ सुतीको सारीलाई
च्यातेर रुमाल आकारमा पट्याउँदै भन्नु भएको थियो ।
मेरो रजस्वलाको त्यो पहिलो दिन
त्यसै त्यसै खट्पटीमा बितेको थियो
अलिकति डर सङ्कोच र कौतुहलमा बितेको थियो
तर आज दोश्रो दिन झ्यालबाट छिरेको त्यो घाम
मेरो जीवनको सारथी बनेर आए झैँ भएको थियो ।
आफ्नो शरिरको गुप्तअङ्गबाट
आफ्नै शरिरको अनावश्यक रगत
आफ्नै मर्जीले जाने प्रकृया हो रजस्वला
कसैकसैलाई पहिलो पटक गाह्रो हुन्छ
आमाले मेरो तल्लो पेटमा हात राखेर
सोध्नु भएको थियो -"छोरी तिम्रो पेट दुखेको छ?"
भर्खर तेह्र वर्ष पुगेको कलिलो शरिरमा
रगतनै कति हुन्छ र
'यो मासिक धर्म
मासि चक्र मात्र हैन रहेछ छोरी
जीवनचक्र रहेछ घुमिरहने
अब तिमी पनि म जस्तै जीवनहरु दिन काविल भयौ
यही नै हामी महिला हुनुको धर्म रहेछ.....
मलाई पनि पहिलो पटक सारै गाह्रो भएको थियो
तिम्री हजुरआमाले रात रातभर
केराको पातमा तोरीको तेल राखेर
भुङ्ग्रोमा सेकाउँदै मेरो तल्लो पेट माथि
न्यानो पारिदिनुहुन्थो
अनि बिस्तारै म निदाउँथे- आमाले मेरो
शिरमाथि हात राखेर
सुनाउँदै भन्नु भएको थियो
आफ्नो पहिलो रजस्वलाको कथा ।
आज झ्यालबाट छिरेको घाम पनि
ठ्याक्कै त्यस्तै थियो
खै ! किन हो यो करिव चार दशक
पुगेको उमेरमा त्यो क्षण सल्बलाइरहेको थियो
म स्मृतिमा हराउँदा हराँउदै
छोरी दौडिएर आएन र भनिन्
"मामु मलाई प्याड दिस्योन
म मिन्स भए !"
हँ....म झसङ्ग भए
छोरीको एघार वर्षको त्यो कलिलो मुहार हेरे
र हेरे फेरि एक पटक झ्याल बाहिरको घाम
ठ्याक्कै उस्तै मेरो पहिलो रजस्वला
को बिहानीको घाम जस्तै
रातो रङ्गिन ।घर भत्काउनु पर्यो,
एउटा इतिहास भत्काउनु पर्यो ।
बुवाको पसिना अनि आमाले चुलो बाल्दा
ध्वाँसो लागेको त्यो दलिन
हजुरआमाको आशिर्वाद र
हाम्रो मेहनत लागेको
बलो, बिम, कोरा र बत्तीहरु सबै ढालियो ।
बुवाको एउटा सपना थियो टाँडे घर बनाउने
जुन पच्चिस वर्ष अघि
आधा छाक खाएर जोगाएको पैसाले
दनुवार काकालाई मिस्त्री लगाएर पुरा गर्नु भो ।
अपसोच अहिले त्यहि घर भत्काउनु पर्यो -
यो संसारमा सवैको आयु उस्तै हुँदो रहेछ,
मेरा बाबाले काँधमा बोकेका
साल र करमका
साज, सिसौ र बुढीधङ्गेराका
त्यो घरलाई थेग्ने एक एक काठहरू बुढा हुँदै गए
उनीहरुलाई दम, मधुमेह र प्रेसरले चाप्न थाल्यो।
पुराना जस्ताहरू पानी नथेग्ने भए,
बिम र बलाहरुमा धमिरा र धुलिया लाग्न थाल्यो ।
हावा र हुरी आउँदा घरका गोडाहरू काप्न थाले -
एउटा इतिहास थियो त्यो घर
बहिनीलाई अन्माउन आँगन अगाडि जग्गे बनाइएको थियो त
केवल त्यहि घर अगाडि थियो,
मेरी दुलही अनि भाइकि बुहारी
भित्र्याउने सुन्दर गेट बनेको थियो त
त्यहि घर अगाडि थियो,
सप्ताह पुराण लगाउँदा उत्तर फर्केर
मुसुक्क हाँसेको थियो त्यो घर
आफूलाई पवित्र मानेर
तर, अहिले त्यो घर छैन -
बुवा त्यही घरको बरण्डामा मस्त निदाउनु हुन्थ्यो
सालको खुट्टेखाटमा पराले गुन्द्री माथि
आफ्ना थकाईहरू बिसाउँदै,
हजुर आमा प्रहर काट्नु हुन्थ्यो
पूर्व दक्षिणपट्टी कान चनाखा पारेर
अनि आमा बिसाउनु हुन्थ्यो पीडा माझ कोठामा -
त्यो घर, घर मात्र थिएन
आस्था थियो, विश्वास अनि भरोसा थियो
अझ बढी हाम्रा लागि त दरवार थियो...महल थियो
तर अहिले त्यो घर छैन -
म त्यही घरको मूल ढोकाबाट निस्केर
मूल बाटो हुँदै
भविष्यको मूल खोज्न हिडेको थिए,
भाइ त्यहि घरको मूल ढोकाबाट
मूल बाटो हुँदै
भविष्यको मूल खोज्न विदेशिएको थियो
हिंड्ने बेला
मूल ढोकाबाट निस्केर
मूल खाँबो हेर्दै
घर मूलीको
मलिनतासँग माफी माग्दै
मूल बाटै बाटो भविष्यको मूल खोज्न हिंडेको म
अस्ति त्यही घरको मूल खाँबो ढाल्दा सँगै भइन -
त्यसबेला हजुर आमा भन्नुहुन्थ्यो -
"बाबु यो हाम्रो घर हैन,
हाम्रो स्थायी घर त भगवानसँग छ
यो त तेरो मेरो गर्ने मोह र मायाजाल मात्र हो !"
हामी भ्रममा बाँचेका प्राणी हौ
तेरो मेरो, ठूलो सानो, झुपडी महल
भन्दा भन्दै अस्ताउँछौ....सकिन्छौ ।
अहिले कंक्रिट बालुवा र सिमेन्टले लिपेको घर छ
हेर्दा भने चिटिक्क र मजबुत
तर भित्र हामी शहरिया भएका निरशिला मान्छे जस्तै....निरस
छैनन् हातभरि फोका उठुञ्जेल
कमेरो र चुना लगाएका भित्ताहरू
सेन्टर बेरा लगाएर बनाइएका आकर्षक कोठाहरू
सालका तखतीहरू पटाई मारेका बरण्डाहरू
छन् त केवल
जाडोमा झन चिस्याउने ..अनि
गर्मीमा अझ तताउने रड र सिमेन्टका भण्डार -
बुवाले सपना देख्नु भएको
खरको छानो भएको टाँडे घर
अनि मैले सपना देखेको ढलान घर
यि दुईमा धेरै फरक छ
बेरा र भित्तामा माटो र पराल मिसाएर लिपेको
नरम चिल्लो कोमल भित्तो ...
ठ्याक्कै बुवाको मनजस्तै
आमाको मायाजस्तै
हजुरआमाको स्नेहजस्तै
तर सिमेन्ट लिपेर बनाइएको घर
कडा खस्रो र निर्मम वाल,
ठ्याक्कै हाम्रो कठोर मन जस्तै -
लाग्छ, अब त्यस्तै घर
घर अगाडिको आँगन
घरको मूल खाँवो सम्झना मात्र हुनेछ
थियो भन्ने इतिहास हुनेछ...
अरु घरहरू बन्नेछन
अनि हामी जस्ता हामीहरू
यो तेरो घर.....यो मेरो घर भनिरहने छौ-
अँ साँच्ची,
हाम्रा लागि भगवानले कस्तो घर बनाएका होलान् ?
त्यो स्थायी घरमा रड र सिमेन्ट छ कि छैन होला ?
अनि कस्तो रङ्ग पोतिएको होला त्यो घरमा ?
सेतो कि कालो ?
- नवदेव मार्ग, बेलबारी, लालभित्ती, मोरङ
No comments:
Post a Comment