सकार्छु यो ऋण
देश देशान्तरका
परिवर्तनका सङ्गीन कथाहरू,
सामाजिक र आर्थिक क्रान्तिहरू,
राजनीतिक उथलपुथलका कथाहरू,
वैभव र दरिद्रताका कथाहरू,
रावण, भस्मासुर, देवता र दानवका कथाहरू,
पढ्दै आएको छु, सुन्दै आएको छु,
क्रान्ति, मुक्ति र परिवर्तनका कथाहरू ।
लुटपाट, आगजनी र निर्मम हत्याहरु देखेको छु,
निर्दोषको चित्कार सुनेको छु,
बलत्कारीको अट्टहास सुनेको छु,
मान्छेहरू भोक भोकै मरेको देखेको छु ।
आँधी, बाढी, पहिरो र आगलागी भोग्दै आएको छु ।
विकास र समृद्धिको नाउँमा
देश देशान्तरबाट ऋण लिएको छु ।
खाली कागजमा दस्तखत गरेको छु,,
विकासको साक्षी बनेर ।
मेरो थाप्लाभरी ऋणको भारी बोकाएर
बैँसको उन्मत्त राजनीति अब बुढो भैसकेको छ,
म निःशब्द सकार्छु यो ऋण
र भावी सन्ततिमा सार्दै जान्छु ।
समृद्धि
तिम्रो प्रतीक्षामा
मैले के गरिन,
घरहरुमा आगो झोसिन कि,
रातविरात मानिसका छातीमा बन्दुक ठोकिन कि,
जङ्गलभित्र काँढाघारीमा कुदिन कि,
हिमालमुनि हिउँमा सुतिन कि,
आशै आशामा मैले के गरिन !
नदी तरेँ, एउटा डाँडाबाट अर्को पाखामा हाम फालेँ,
तर तिमी कहिल्यै भेटिइनौ,
तिम्रा लागि
मैले लाठी खाएँ, लात्ती खाएँ र कोर्रा खाएँ
जति सङ्घर्ष गरे पनि युद्धमा हारेको सिपाही झैँ भाग्नु पर्यो,
भोक भोकै भागिरहनु पर्यो ।
तिम्रै कारण घर झगडा भयो, भैरह्यो,
मैले टुलुटुलु हेरिरहनु पर्यो
त्यसपछि पनि तिमी भागिरह्यौ ।
तिमीलाई पाउन मैले आन्दोलन गरेँ,
पटक-पटक विद्रोह गरें,
यो अन्तिम विद्रोह भनेँ,
यो सम्वृद्धिको निम्ति विद्रोह भने,
समानताको विद्रोह भने,
तर तिमी आइनौ, आउँदै आइनौ ।
No comments:
Post a Comment