विमोचन कार्यक्रम
साहित्यकार रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई लगेर देखायो र भूमिका लेख्न आग्रह गरेर आफ्नो कथा सङ्ग्रह प्रकाशित गर्यो अनि विमोचनको कार्यक्रममा उसको कृतिको चर्चाका लागि उसले एकजना मन्त्रीलाई गएर भेटेर भन्यो – “हजुरले मेरो कथासङ्ग्रहको प्रमुख अतिथि बनेर विमोचन गरिदिनु पर्यो !”
मन्त्रीले "म तपाईंहरू जस्तो कथा कविता लेख्ने साहित्यकार परिन तपाईंले आफ्नो कथा सङ्ग्रहको निम्ति वरिष्ठ साहित्यकारलाई भेटेर यो कुरा भन्नुभएमा धेरै राम्रो हुने थियो” भने ।
“हजुर मन्त्री हुनु भएकोले विमोचन गरिदिनु भयो भने विभिन्न ठाउँबाट टेलिभिजनहरू आएर हाम्रो कार्यक्रम खिंचेर समाचारमा देख्न पाइन्थ्यो” कृतिका लेखक रामप्रसादले भने ।
“तपाईंले वरिष्ठ साहित्यकारलाई आफ्नो पुस्तकको विमोचन गराउन बोलाउनु भयो भने पनि टेलिभिजन आएर खिंचिहाल्छन् नि !” मन्त्रीले भने ।
“अहिले राजनीतिक द्वन्द्व चलेको युगमा देशका राजनीतिक व्यक्तिहरूको कार्यक्रममा मात्र टेलिभिजनहरू पुगेको हामीले देखेका छौंं” कृतिका लेखक रामप्रसादले भने पछि मन्त्रीले विमोचन गर्न स्वीकार गरे । तर विमोचन कार्यक्रममा कार्यव्यस्तता भन्दै मन्त्री आएनन् र टेलिभिजन क्यामरा पनि देखिएनन् । विमोचन एक जना वृद्ध साहित्यकारका हातबाट नै भयो । यसको खबर कतै पनि प्रकाशित प्रचारित नभएको देखेर लेखक रामप्रसाद पुर्पुरोमा हात राखेर झोक्रिए !
स्थानिय बासिन्दा
सुख्खा मौसममा सबैको आ–आफ्नो घरमा जडान गरेको धाराबाट पानी नआउँदा मैले आफ्नो घरबाट एउटा ग्यालिन लिएर रानीबारीको ढुङ्गेधारामा एकदिन बिहान उठेर खानेपानी लिन पुगेको थिए । पानी लिन जाने सबैले आ–आफ्नो ग्यालिन, गाग्री र बाल्टीन लाइन बनाएर राखेका थिए । मैले आफ्नो ग्यालिन लाइनमा राख्दा करिब पाँच मिटर पछाडि परेको थियो ।
ढुङ्गे धारासँगै घर बनाएर बसेकी एकजना आइमाईले आफ्नो पानी थाप्ने गाग्री बोकेर ल्याइन् र लाइनमा नराखीकन धारा अगाडि लगेर आफ्नो गाग्रीमा पानी थाप्न थालिन् । मैले धारासँगै घर हुने आइमाईले आफ्नो गाग्री ल्याउने बित्तिकै पानी थापेको देखेर सोध्न पुगे “तपाईंले आफ्नो गाग्री लाइनमा नराखिकन कसरी पानी थाप्न पाउनु भयो नि ?”
“म यही धारा नजिकैको स्थानिय बासिन्दा भएकोले लाइनमा बस्नु नपरेको हो” ति आइमाईले भनिन् ।
“त्यसो भए हामीले पनि यहि धारा नजिकै आएर जग्गा किनेर घर बनाएर बस्नु पर्ने भयो, पानी थाप्न लाइनमा नबस्नको लागि” मैले भने ।
“यहाँ घरजग्गा बेच्ने कोही छैनन् त्यसैले तपाईंले यहाँ घर बनाएर बस्न पाउनु हुँदैन” ति आइमाईले भनिन् ।
राम्रो लुगा
दसैँ नजिक आइरहेको थियो । जानुकाले नयाँ लुगा किन्न रहर गरिन् र आफ्नो बुबासँग पैसा मागिन् ।
‘कति पैसा चाहियो छोरी ?’ बुबाले सोध्नुभयो ।
‘पाँच हजार । पाँच हजार भए मैले मेरो लागि सट, प्याण्ट र अन्य राम्रा लुगा किन्न सक्छु ।" जानुकाले भनिन् ।
‘ओहो ! पाँच हजार !’ बुबाले आश्चर्य माने । ‘छोरी मेरो महिनाको तलब नै दश हजार छ । आधा तिमीलाई दिएर बाँकी पाँच हजारले कसरी महिना दिन चलाउने त ?’ बुबाले सोधे ।
छोरी केही बोलिन । बुबाले नै भने— ‘पन्ध्र सय जति लैजाऊ न हुन्न ?’
‘पन्ध्र सय रुपैँयामा त मैले लगाउने एउटा राम्रो पाइन्ट मात्रै आउन सक्छ । अरू कपडा कसरी किन्ने नि ?’ जानुकाले भनिन् ।
‘सर्ट पाइन्ट नै किन किन्नु पर्यो र, कुर्था सुरुवाल किने हुँदैन ? बुबाले भने ।
“मलाई कुर्था सुरुवालभन्दा विदेशी टि-सर्ट र पाइन्ट लगाउँदा राम्रो देखिन्छ रे ! मेरा साथीहरू भन्छन् ।" जानुकाले भनिन् ।
“तिमीलाई सर्ट पाइण्ट होइन, कुर्था सुरुवाल लगाउँदा असाध्यै राम्रो देखिन्छ । तिम्रो ममी र मैले भनेको नि ।" मुसुक्क हाँस्दै बुबाले भने ।
"अँ बुबा पनि ।"
"घाँटी हेरेर हाड निल्नुपर्छ भनेको थाहा छैन तिमीलाई ।"
"त्यो त हो ।" जानुकाले सहमति जनाई ।
- बूढानीलकण्ठ–४, पासिकोट, काठमाडौं
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment