साँझ
एक साँझ डुब्दै गरेको घामले भन्यो केहिबेर चिसो महसुस होला तर म फेरि आउनेछु पृथ्वीलाई चुम्न त्यतिञ्जेल क्षितिजको सुन्दरतालाई हेरेर रमाउनु ।
एक साँझ उदाउँदै गरेको जूनले भन्यो जीवनमा जति नै अँध्यारो छावोस् आफ्नो समयमा म पक्कै आउनेछु त्यतिन्जेल हिम्मत कहिल्यै नहार्नु । एक साँझ माथि माथि उडिरहेका बादलहरू भन्छन् यतिबेला खडेरी लागिरहेको होला मनमा एक दिन झरी बनेर म बर्सन्छु त्यतिञ्जेल धरती बनेर पर्खी रहनु । एक साँझ जिन्दगीले कानमा खुसुक्क भन्यो तिमी जिउँदो छौ अब बाँच्न सिक्नु । त्यसैले होला...... हिजोआज हरेक साँझ प्रिय लाग्न थालेको छ ।
युद्धपछि
सानै छ उ
भर्खर नौ पुगेर दसमा टेक्दै गरेको
मानौ एउटा आकृति बन्दै गरेको
कमलो माटो
उसको कलिला पाइलाहरुले
कुनै आँटिलै कदम चाल्न खोज्दो हो सायद
त्यसैले त
छाती भित्र भयङ्कर ज्वालामुखी बोकेर हिँड्न सिक्दैछ उ
लाग्छ आफै भित्र एउटा अदृश्य लडाइँ लडिरहेछ
तर आँखामा भने सधैँ एउटा डर बोकेर हुर्कन्दैछ ।
हो,
उसलाई युद्धसँग डर लाग्छ
बाजेसँगै बसेर टेलिभिजनमा समाचार हेरिरहँदा
बाजेको पाखुरा कस्सिलो गरी पक्रिन्छ
कि बजैको फरिया पछाडि लुक्दै चिहाउँछ
टेलिभिजनले दिनरात फुकिरहेको
त्यो विश्वयुद्धको समाचारहरु ।
हो,
उसलाई युद्धदेखि डर लाग्छ
भर्खरै त हो
उसको हातमा केड्वरी थमाएर
जुरुक्क उचाल्दै उसको निधारमा म्वाइँ खाई
आशीर्वाद दिँदै पल्टन फर्केको
उसको बाउलाई
झण्डाले बेह्रेर घर ल्याइएको ।
बेहोस भएर लडिरहेकी उसको बजैलाई
एकछिन नियालेपछि
पसिना र नाक पुछ्दै
उसलाई छातीमा टाँसेर रोएको
बाजेको अनुहार जब सम्झिन्छ उ
अनि,
कानमा बजिरहन्छ बाजेको त्यो वाक्य
"तेरो बाबा युद्धमा सहिद भएछ...."
उसलाई युद्धसँग डर लाग्छ।
हिजै जस्तो लाग्छ उसलाई
छिमेकी काकाले उसको आमाको
कम्मर समातेर
जबर्जस्ती तानेको
उसको आमा कहालिन्दै रोएको
काका र आमाको त्यो झगडामा
सायद आमाको हार भएछ
त्यसैले त रातभरी उसको केश खेलाउँदै रोएकी आमा
सम्झन्छ र भुल्नै सक्दैन
अघिल्लो दिन
नेभारोको रुखमा तुर्लुङ झुण्डिरहेको आमाको
हारको बलिदान
उसलाई युद्धसँग डर लाग्छ ।
तर,
आमाको देहमा पनि देशको झण्डा ओढाउन चाहान्थ्यो उ
बाजे थला परेको बेला
घरछेउ पहिरो गएको बेला
घरमा रासन सकिएको बेला
गाउँघरमा शुभकार्य परेको बेला
बजैको
"तेरो पनि बाउ-आमा भएको भए"हरूले
उसलाई युद्ध मनै पर्दैन ।
एकरात आमाले सुनाएकी कथा सम्झिएर
बिहान एकजोड सेतो परेवाको खोजीमा निस्कन्छ
उ
विश्व शान्तिको भाकल उडाउनलाई
उसलाई विश्वास छ आमाको प्रेम र कथाहरूमा
उसले सम्मान गर्छ बाउको देशभक्ति र बलिदानलाई
आकाश र धरती दुवै हराएको
छानु र मानु गुमाएको
काख र न्यायो मास्सिएको
युद्ध पछिको
वास्तविकता
उ
टुहुरोलाई
साँच्चै
युद्धसँग डर लाग्छ ।
-दार्जिलिङ
No comments:
Post a Comment