ओ हिमाल
तिमीलाई हेर्दा मन भुल्छ,
हराउँछु तिम्रै विशाल काखमा।
शीतल हावा, शान्त प्रहर,
तिम्रो स्पर्शले बिझाउने घाउहरू पनि बिर्सन्छ।
तिमी उभिएका छौ,
अडिग, अटल, अमर।
तिम्रा चुचुराहरूले छुन खोज्छन् आकाश,
र मेरा सपनाहरूले खोज्छन् तिमीलाई।
कति हेर्ने तिमीलाई?
कति सम्झने?
तर, जति हेरें, जति महसुस गरें,
तिम्रो सौन्दर्यको प्यास कहिल्यै मेटिँदैन।
तिम्रा सेता हिमगिरी,
प्राकृतिक धरोहरका धनी,
तिमी प्रकृतिका शिखर कविता हौ।
तिमीप्रति मेरो अटुट श्रद्धा,
मेरो नमन, मेरो अभिवादन।
ओ हिमाल,
तिमीलाई गाऊँ,
तिमीलाई लेखूँ,
तिमीलाई जिउँ।*********************
प्रेम र जीवन
जीवनको पाना पल्टाउँदै,
खोज्छु एउटा अर्थ र अनेक अभिप्राय
मायाको गहिराइमा डुबेर, भेट्छु एउटा मर्म
माया, जो शीतल छायाँजस्तै जीवनभर सँगै चल्छ,
तर कहिलेकाहीँ आँधीजस्तो मनका डालीहरू हल्लिन्छ।
जीवन भनेको नदी हो, बगिरहने अनवरत,
माया भनेको छाल हो,
कहिले चञ्चल, कहिले शान्त
संसारका दौडधुपमा, कहिलेकाहीँ थाकिन्छ पनि
तर मायाको आँखा हेर्दा,
प्रेमको भाव देख्दा
हरेक दुःख बिर्सन्छु
बरु ऊर्जा भेट्छु
उल्लासले प्रफुल्लित हुन्छु
माया भनेको शब्द होइन रहेछ
यो आत्माको स्पर्श, अनुभूतिको गहिराइ
र, निःसार्थ सम्बन्धको प्रेमिल पल पो रहेछ
जीवन भनेको यात्रा हो,
समयको अविनाशी हर्ष
संगै हिँड्दा संघर्षमा, मायाले दिने शक्ति,
र, सपना बुन्दै हर बिहान,
जीवनले गरेको प्रेमको आराधना
माया बिना जीवन अधुरोजस्तो
खुशी कतै खोसिएजस्तो, लुटिएको जस्तो
मायाको यो यात्रामा, प्रेमिल स्पन्दनका आभासहरुले
हरेक क्षण अघाउँजी हुँदै बाँच्नु पो बाँच्नु हो
जीवनको गहिराइ बुझ्दै र बुझाउँदै
अमर प्रेमको कथा लेखौं, भोलिका लागि ।
*********************
आमाबाट शुरू, आमामा अन्त्य
आमाको काखमा खुलेको बिहान,
ममताको घामले नुहाएको संसार,
निश्छल मुस्कान, न्यानो अँगालो,
त्यहाँबाट शुरू हुन्छ जीवनको यात्रा।
बाबाको शरण, सुरक्षा र साथ,
बेरोजगार दिनमा उभिएको हात,
संघर्षका बाटाहरू देखाउँदै अघि,
छोरीको संसारलाई बनाउँछन् आधार।
पतिका खुसीका गल्लीहरूमा,
सपना बुनिन्छ मायाका धागोले,
समर्पणको कविता रचिन्छ जीवनमा,
अडिग रहन्छ सधैं आँधी र बतासले।
छोराछोरीका सपनाहरूको छानो,
आफ्ना सारा सपना विसर्जन गर्ने,
जीवनलाई अर्थ दिने त्यो खुसी,
आमाको रूप, त्यो अमर गान।
आमाबाट सुरू, आमामा अन्त्य,
कर्तव्यको कथा, ममताको कथा
सन्तानको मार्गदर्शक बनेर उभिन्छिन्,
त्यही हुन्छ एउटा चेलीको सम्पूर्ण यात्रा।-महालक्ष्मी नगरपालिका ५ टिकाथली, सिद्धार्थ टोल, ललितपुर
---------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment