शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, December 27, 2024

अम्बिका धितालका तीन लघुकथा


 फूल


कुसुम विद्यालयबाट घरमा आइपुग्दा आमाको अवस्था देखेर छक्क परिन् । किन आमाले औँसीको रातझैँ चेहरा बनाएर बस्नुभएको होला । “अरूदिन म आइपुग्ने बित्तिकै उज्यालो मुहारमा मेरो पोसाक परिवर्तन गरिदिने, हातगोडा धोइदिने र खाजा खानदिने गर्नुहुन्थ्यो” सोच्दै आमाको अनुहार पुन: नियालिन् ।

आज आमाले कुसुमलाई "लुगा फेरेर टेबुलको खाजा खाऊ" मात्र भन्नुभयो । न आमा हँसिलो हुनुहुन्थ्यो न बोलीमा मिठास नै ।

आमा यस्तो परिवर्तन हुनुभएको देखेर कुसुमलाई कौतूहलता जाग्यो। उनले निकै मिठास बोलीमा सोधिन्, "आमा, हजुरलाई के भयो आज? मलाई त हजुरको हातले हाँस्दै दिएको खाजा मात्र मिठो लाग्छ । हजुर आज किन रिसाउनुको भन्नुहोस् न ।”

आमा कड्किदै बोल्नुभयो, "अब तिमी ठुली भइसक्यौ आफैं झिकेर खाऊ । म सक्दिन तिमीहरू बाउछोरीको नोकर हुन ।जति काम गरेपनि यस्तै हो, म दिक्क भइसकेँ । कति बस्नु यो जेलमा काम गरेर मात्र ।"

कुसुम हत्त न पत्त बोलिन्, "ल ल आमा आज म हजुरलाई घुमाउन लान्छु । म अब सात वर्षकी ठुली भइसकेँ ।” भन्दै लुगा फेरिन् र आमाको हात तानेर घर नजिकैको बगैंचामा पुगिन्। आमाको मुखमा भने अझै घाम लागेको थिएन ।

कुसुमले बगैंचामा हाँस्दै फुलिरहेका रङ्गीचङ्गी फूल देखाउँदै भनिन्, "आमा यी फूलहरू कति राम्रा है?"

"अँ राम्रा छन्।" आमा मलिन स्वरमा बोल्नुभयो । कुसुमले पुन: थपिन्, "यी फूल सधैँ आफ्नै ठाउँमा बस्छन्, फूलेर छिट्टै झर्छन् । फेरि यिनीहरूले घाम, पानी, हावाहुरी, असिना सबै सहन्छन् तर पनि कत्ति राम्रा है, यी फूलहरू‌। किन कहिल्यैँ पनि नरिसाएका भन्नुहोस् न आमा ?"
पैसा


“मैँले तिमीहरूकै खुसीका लागि यो सब गरेँ । आज फेरि तिमीहरूको इच्छालाई पुरा गरिदिएँ।" 
बुबाको कुरा सुनेर जेठो छोरो बोल्यो, ”खै के गर्नुभएको छ र अरूका बाबुले छोराले कमाउनै नपर्ने गरेर कमाइदिएका छन् । छोडिदिनुस् यी सब कुरा । बरू अब नगदको पनि बाँडफाँड सक्ने होइन र ?" कान्छो छोराले थप्यो, "सबै भाग लगाइसकेपछि यो पनि सक्नु पर्छ किन बाँकी राख्ने?" बुबा बोल्नुभयो, "मैंँले त्यसको व्यवस्थापन गरिसकेँ। तिमीहरु ढुक्क भएर बस।" बुबाको कुरा सकिन नपाउँदै कान्छो बोलिहाल्यो, "कहाँ व्यवस्थापन गर्नुभयो? तपाईलाई हाम्रो कुन बैङ्कको खाता नम्बर थाहा थियो र?" जेठो उत्साहित हुँदै बोल्यो, "किन नयाँ खाता खोल्दिरहनु पर्थ्यो र बुबा, हामी नै राखिहाल्थ्यौँ नि । कतिकति  रकम आयो त हाम्रो भागमा?" बुबा बोल्नुभयो, “तिमीहरुलाई करोडौँ पर्ने घर, खेतबारी अन्नपात सबै दिइसकेको छु बाबु हो। किन भएको जम्मा दुई लाख रूपैयाँको चिन्ता गर्छौ, वृद्ध भएको यो बुढो छालाको तिमीहरूलाई कुनै चिन्ता छैन है ? त्यो पैसा अबको बाँकी जीवनका लागि मैंँले वृद्धाश्रममा बुझाएर आएँ।"
प्रश्न


हजारौँ मानिस आशा बोकेर आएका थिए । 
झलकले भाषणमा भने, "हेर्नुहोस्, तपाईंहरू सबैलाई थाहा नै छ । हाम्रो पालिकामा यति राम्रा र सुन्दर  ठाउँहरू छन् । अलिकति प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकको मन जितेर राम्रो आम्दानी गर्न सकिन्छ । लोभ लाग्दो झलल बलेको पालिका बनाउन सकिन्छ। यहाँ भएको आम्दानी यही पालिकाले खर्च गर्ने हो । त्यो आम्दानीको सजिलो एकमात्र स्रोत भनेको दूरबिनसहितको  भ्यूटावर हो । त्यसैले आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू तपाईँहरू सबैजना यो नयाँ गठन भएको छेपारे पार्टीमा आउनुहोस् । छेपारोमा  भोट हाल्नुहोस् र सम्पन्न पालिकाको सम्पन्न नागरिकका लागि निश्चिन्त हुनुहोस् । यस पार्टीले रोग, भोक र शोक सबै देख्नेछ ।" यी कुरा सुनिरहेका मानिसहरू मध्येबाट अग्र पङ्क्तिमा रहेका एक युवकले हात उठाउँदै भने, "यो छेपारे पार्टी र उसले बनाउने भ्यूटावरबाट तल बसेका भुइँमान्छे, लाखौँ खर्चिएर डिग्री पास गरी आफ्नो प्रमाणपत्र सिरानीमुनि थन्क्याएर खाडी मुलुकमा राडी बुन्ने हाम्रा साथीहरू, पसिनाको आशा गर्दै बसेका नाङ्गा खेतबारीहरू, पातले वनमा उम्रिरहेका हजारौँ जातका जडिबुटीहरू, बलात्कारको सिकार भएका गाउँका सानीहरू र न्यायको भिख माग्दै दौडिरहेका आमाबुबाहरू सबै देखिन्छ भन्ने आधार के छ? हामी जनताले कसरी विश्वास गर्ने ?” झलकले सबैलाई शान्त पार्दै उत्तर दिए, “हेर्नुहोस् न प्रतिबद्धतापत्र र घोषणापत्र।”
अर्का एक व्यक्ति उठेर भने, “सधैँ जनतालाई हात्ती आयो हाती आयो फुस्सा भइरहेको छ । कतै यो छेपारे पार्टीले तलबाट देखिने मानिसलाई भ्युटावरको दुरबिनबाट हेर्दा कमिलामात्र देख्ने त होइन ?"
-कमलविनायक भक्तपुर


.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment