समयको पहरेदार
आज समय निकै बदलिसकेको छ । हुन त समय कसैको वशमा रहँदैन । यो जुगौं जुगदेखि यसरी नै आफ्नो गति र लयमा बहन्छ । आफ्नो धर्म निर्वाह गर्दछ । समयले काल र परिस्थितिलाई बदल्दै आएको छ । जसलाई अर्को शब्दमा कालचक्र पनि भनिन्छ । यसले कहिलेकाहीँ ठाउँ अनुसार बेला-बेलामा उग्ररुप देखाउने गरेको छ ।
समय भनेको परिवर्तनको सूचक हो । यसले हरेक ठाउँमा नयाँ चीज खोजिरहेको हुन्छ । अतः समयलाई परिवर्तित गर्न खोज्नेहरु अन्तमा आफै परिवर्तन भएका छन् । तसर्थ, आज हरेक क्षेत्रमा आमूल परिवर्तनका घटनाहरु विश्व रङ्गमञ्चमा देख्न पाउँछौ । हो, समय निकै बलवान् छ । यसलाई ढालेर आफैलाई शक्तिवान ठान्नेहरु आज को कता पुगेका छन् । त्यसको परिणाम जग जाहेर छ । समयमा नै हामीले गर्न नसकेर वा नजानेर भोगेका तीतो यथार्थ अझै छ ।
आज को कहाँ पुगिसक्यो । देशको ताल भने कछुवा गतिमा छ । खरायो हुने सपना देखेको पनि धेरै भइसक्यो । त्यो गति र लय समात्न अझै कति समय लाग्ने हो । भोलि भन्ने शब्द आज बन्न किन सकेन, के त्यो हाम्रा लागि आकाशको फल हो र ? हैन भने भोलिले हाम्रो भविष्यको रेखा मेट्दै लगेको छ ।
अन्त्यमा, कविता संसार यो चिसो र जाडोको बेला सबैको न्यानो पर्खेर बसेको छ । हामी कुहिरोको काग हुन चाहँदैनौं । कागले कान लाग्यो भन्दैमा आफ्नो कान नछामी हिड्ने पक्षमा हामी कदापि छैनौं । तसर्थ, हामी समयको आवाजसँगै संचेतनाको बिगुल फुक्न तम्तयार भएर बसेका छौं । त्यसमा तपाईंहरुको साथ सहयोगको खाँचो हामीलाई छ ।
अङ्क १६ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment