1
खै ! के लेख्नु ?
खै ! के लेख्नु ? के सोंच्नु ? एक्लै कतै बस्न लाग्दा, मन मेरो छट्पटिन्छ त्यसै त्यसै, केही लेख्ने प्रयासहरूमा शब्दहरू अनायसै हराउन थाल्छन्, जसरी बिहानीको रक्तिम किरणले चिसो चिसो शीतको थोपालाई सुकाए जस्तो ।
प्रकृतिको मनोहर दृश्य हेर्छु, मन त्यसै रमाएर आउँछ भित्र-भित्रै आनन्दले पराकाष्ठा नाँघ्छ ।
यहाँ यस्तै हुन्छ बेला-कुबेला मन आफै हाँसिदिन्छ, रोइदिन्छ ।
आज कुन्नि किन मलाई मेरो मनको कविता लेख्न मन लाग्यो तिम्रो हाम्रो जीवनको रमाइलो कविता लेख्न मन लाग्यो ।
2
तिमी आउनू
प्रिये ! जब जात-पात, ठूलो-सानोमाझ भेदभाव समाप्त हुनेछ, जब धर्म-अधर्म, पाप-पुण्य मेटिएर प्रत्येक आत्मा एक हुनेछ, तब मात्रै तिमी भेट्न आऊ मलाई प्रिये त्यही जुनीमा । जब धनी-गरिबमाझको पर्खाल भत्किनेछ, तब मात्रै तिमी भेट्नू मलाई त्यही गोरेटोमा जसरी... हामी कहिले भेट्ने गर्थ्यौं ।
म एकपल्ट फेरि तिम्रो त्यहीँनेर प्रतीक्षा गर्नेछु त्यसरी नै जसरी अहिलेसम्म गरिरहेछु त्यतिखेर आउनू तिमी प्रिये त्यही माया बोकेर त्यही सुवास लिएर आफूसित ।
3
मेरी प्यारी आमा
आमा ! ओ मेरी प्यारी आमा !! न्यानो माया होइन मलाई तिम्रो साथ चाहियो आमा । नियम संस्कारका पाउजु नबाँध मेरा पाउमा म त उड़्नलाई पखेटा चाल्दैछु नसुनाऊ जाती, धर्म-कर्मका कुराहरू नसुनाऊ सीता र अहिल्याका कथाहरू म त क्रान्तिको उद्घोषणा गर्न चाहन्छु । टुक्रेर, फुटेर, हराएर इतिहास बन्न चाहन्न म म त ज्वाला बन्न चाहन्छु त्यसैले, आमा ! ओ मेरी प्यारी आमा !! न्यानो माया होइन मलाई तिम्रो साथ चाहियो आमा मात्रै तिम्रो साथ ।
-बैराती शाल जोत, न्यू रङ्गिया (दार्जिलिङ, भारत)
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment