मुग्लान
केही समय सानो सपना पुरा गर्दै मुग्लानको हावामा रमाउँदैं पाउमा अल्झेका बुँदहरू पसिनाले पखाल्दैँ कर्मभूमीको युद्धमा जब सुन्दर संसारको अवतरण भयो मेरी परी ओझेल भइन मलाई छली मेरो खोजीको आयामहरूमा । हरेक दिनको उनको पूजा निराहार बन्दै गएको उनको समय कहाँ थियो र ममा भगवान् दिव्य शक्ति दिनलाई उनीमा सालको पातको स्वाद लिई उकाली र ओरालीमा नाम्लोको दाम क्षितिजले लम्ब्याएको रातहरूमा निरन्तर ओझेल परेको न्यानो माया मुग्लानको चिसोमा कठाङ्ग्रीदै थियो । थिएन सुपारीको बोट निर्बाङ्ग मेरो वरपरका काल्लाहरूमा थिएन ! निर्भरका सखुवाँ, मेरो साथमा निर्छलो आत्मा बीच निर्दयी बन्दै गरेको जिन्दगी काकाँकुवाँको शब्द बीच निस्तब्ध बनेका बिस्तार बीच मेरो रमरमको संसारले तालगाँठी मिल्दैथ्यो । कलिलो मुना दैवको सूत भुईचरीको आँगन उराठ बनेछ छितिजको ध्वजा फरफराएसँगै मनको चरी उढेर गएछ । गर्मीको छहारी तिर्खाको झरी गंगा बगेछ सहरदमा काँधको छैला मनको मैला कस्तुरी थिएन आँगनमा बेरीतको काँच मनको ऐना टुटेछ मुग्लानको जवानीमा ।
मेरी माया
माया !
म लेख्दैछु आज एउटा कथा
सेतो पानामा तिम्रो श्रृङ्गार भरेर
ओठको लाली जस्तै रातो धोती
केशजस्तै अग्लो शरीरमा बेरेर
चौबन्दी चोलीमा मनभरिको सितारा भरेर
तिमी हुर्कंदै थियौ पूर्णिमाको जून जस्तै ।
झपक्क परेको रूखमा आँपको दाना फलेझैँ
टिपिक्क परी तिमी चम्कदै थियौ ।
म वसन्तको झरी बनी
तिम्रै तिर झर्दै थिएँ
खै ! के भएछ रूखको पातहरूलाई
जसले तिमीलाई ढाकी राख्न सकेन ।
म हेर्दै थिएँ उजाड रूखलाई
म सम्झदै थिएँ --
सर्पले काचुँली फेर्दा च्यातिएका वस्त्र
जहाँबाट तिमी लुप्त थियौ
हरायौ मेरो कथाबाट औँसीको जूनझैँ ।।
जुन नाम आज कोर्दैछु म !
सेतो पानामा
मेरी माया ।कस्तो होला त्यो स्वर्ग
दिनपछिको कालो बादल
चिथोर्दै मेरोमा नै झर्ने गर्छ
आकाशको तारामा अतितका सम्झना बटुलेर
धरतीको माटोलाई
आफ्नै समाधि सम्झेर
दुख्दैन कतै मुटु आज
रस तपाईंमा चढाइसकेकी छु
सिरिफ तपाईंको अनुमतिमा छु
त्यो स्वर्गको भूमी हेर्न
निर्णायक तपाईंको शब्दहरू ।
कस्तो होला त्यो स्वर्ग
सम्झनाको पहाड जस्तै
कस्तो बिरानो मन हजुरको
आफ्नै संसारमा एकलै भुलेजस्तै
मनको उकालो बादलबीच बरालिदैंछ
मनले चाहेको स्पर्श
दिनपछि रातमा भौतारी रहेछ
समयको उकाली र ओरालीमा ।
ती दिनका झझल्कोहरू
मनमा गाँठो बन्दैछ !
चटक्क ढाकाटोपीमा सजेर
फर्काइमा मुस्कानहरू छरेर
ओठको विम्बले चस्केको मन
आकाशझैँ उदाङ्गिएको बेला
संसार प्रेमी मुहारहरू
नौनी सरी पग्लने गर्थ्यो ।
आज मुजा मुजा परिसकेका
शरीरका यथार्थ छाला
कतै स्वागत गर्ला कि नगर्ला
मेरो गुन्यूचोली र फूलबुट्टे सारी
पिठ्युँमा ओढेका रातो पछ्यौरी हराउँदै गर्दा ।
म अवला नारीलाई
तपाईंले चिन्ला कि नचिन्ला ?
तपाईंको रमरम बीच
तपाईंको अयोध्यामा
मेरो उपस्थिति -
त्यो स्वर्गको संसारमा ।।--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment