शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 24, 2024

कमला खड्काका तीन कविता

 


उपहार


नओइलिने फूल टिेपेर

नमेटिने रङ्ले पोतेर
ननासिने प्रेमभावनाले सजाएर
एउटा छुट्टै नौलो र फरक
उपहार दिन आतुर छु
म तिमीलाई ।

 

गोधूलि साँझमा
देउराली साक्षी राखेर
उपहारको 'गुच्छा' तिम्रो पोल्टामा राखेर
गुराँस टिप्न जानेछु,
तिमी रमाइहनू,
तिमी हेरिरहनू,
म फर्की आउने बाटो
म आएर चुम्नेछु
ही उपहारमा दिएको
हाम्रो संयुक्त नओइलिने
सृष्टि फूललाई
उपहारको 'गुच्छा' लाई !

*************

 जाडोको मौसम

 

अकस्मात नै आएको जाडो
निम्तो विना नै आएको कुनै
पाहुनाजस्तै  –
घामको तेजलाई निस्तेज पार्दै
तिमीलाई याद गर्दैछु यतिबेला
न्यानो न्यानो लुगाले सजिएर
तातो तातो स्पर्शको रहर गर्दै
त्यो ज्यानलाई कस्तो कुन्नि
कोठामा त्यता पसेको जूनको ज्योतिले
जिस्काउँछ घरिघरि रातको प्रहरमा मलाई
अनि अनायास सम्झिन्छु तिमीलाई मुटुभित्रैबाट ...

 

मनमा तरङ्ग आउँछ
मुटुमा उल्लास छाउँछ
निदाउनै लागेको बेलामा तस्वीर
आँखाको अगाडि झल्किन्छ,
तिम्रै अनुपस्थित रोमाञ्चक अनुहार
विपनामै सपना हो जस्तो लाग्छ,
साँच्चीकै यो जाडो मौसम
लागिरहेछ मलाई कस्तोकस्तो ??

 **************

शीत

 

चउरको सुकोमल दुवोहरूमा
हरित पातका टुप्पोहरूमा
तिम्रो मेरो प्रेमको निशानी
शीतका थोपाहरू
पर्खिरहेछन् कोमल हातको
औंलाका स्पर्शहरू
प्रत्येक शीतका थोपाहरू टिप्छु
तिमी पनि आफ्ना अधरहरूले टिपिरहनू
शीतका थोपाहरू
कमरमा श्वेत घडा बोकेर
तिमी सामु मुस्कुराइरहनेछु
पातबाट झरेका शीतहरू
थापिरहनेछु घैलामा
क्रमशः क्रमशः तिमी आफ्ना ओठले चुम्दै
टिपिरहनू शीतका थोपाहरू
कहिल्यै नओइलिने प्रेमको बिन्दू
मेरो घडामा भरिरहनू

सधैं शीत उभाएर
घैला भर्न तयार छु !
आऊ हामी शीत उभाएर घैला भरौं
आऊ हामी शीत उभाएर घैला भरौं !


- बत्तीसपुतली, काठमाडौँ


 यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  

 

 

 


No comments:

Post a Comment