कठै म आँसु
हरेकको भावना र मर्ममा डुबेर
पीडाको रुप बनि म झरिदिन्छु,
निर्दोष प्राणीको दुई आँखाभित्र
रसिलो बनि म यसै रसाई दिन्छु ।
असह्य बनिदिन्छु चित्त दुखाइमा
रोदन अनि गहिरो पीरव्यथामा,
बिछोडमा विष्मात म भइदिन्छु
मिलनमा हर्षाश्रु खसालिदिन्छु ।
अदृश्य अनुभूतिको भावनामा
दृश्यको अश्रुधारा म पोखिदिन्छु,
तप्प तप्प गर्दै न्यानो थोपामा
मोतीको दाना झैँ बाहिरिदिन्छु ।
कठै म आँसु हृदयदेखि निस्केर,
सबैको मन हलुको बनाइदिन्छु ।
*******
समय चक्र
रुप यो शरीरको कलकलाउँदो थियो,
उडेर रङ्ग आज कठै बेरङ्गमा बदलियो ।
उफ्रदै रमाई खेलेका बलिष्ठ हातपाउ,
चल्न नसकी आज शिथिल हुँदै गयो ।
फ़ुर्तिलो शरीर उमेरमा खुब रमाउथ्यो,
कान्तियुक्त देह आज कान्तिहीन बन्यो ।
आफैंमा त्यो स्वस्फूर्त सुन्दर शरीर थियो,
समयचक्र सँगै जिन्दगी ढल्केर गयो ।
सद्भाव देखाउने कुटुम्बजनको स्नेह,
निष्ठुरी बन्दै पन्छिएर आज दूर भयो ।
रहेनछ आखिर केही नश्वर देह हाम्रो,
हिजो शोभित थियो आज जर्जर भयो ।
मानवीय ऊर्जा
हुर्कन सिकायो प्रकृतिले
प्रकृति सँगै रमाऔँ,
बाँच्न सिकायो व्यबहारले
शिष्ट व्यबहारक बनौँ ।
सभ्यता चिनायो इतिहासले
इतिहासको महत्त्व बुझौँ,
विज्ञान उदायो ज्ञानले
ज्ञानमा गर्व गरौँ ।
कर्मनिष्ठ बनायो धर्मले
धर्मको रक्षा गरौँ,
चल्न सिकायो समयले
समयको ख्याल गरौँ ।
- चाबहिल- ७, काठमाडौँ
No comments:
Post a Comment