कर्म गर्दछ मान्छेले फलको आशमा परी,
जिन्दगीभर घोटिन्छ दिन–रात मरी–मरी ।
झुन्डिएकै छ त्यै त्यान्द्रो समाएर सधैँभरि,
कस्तो यो जुनी मान्छेको बुझी नसक्नु क्यै गरी ॥
केही पायो कि ता मान्छे, गर्जिन्छ अभिमानमा,
प्राप्ति भएन ता मान्छे, दोष थोपर्छ भाग्यमा ।
दिनु कर्तव्य जान्दैन, लिनुमै मान्छे व्यस्त छ,
जति पाए नि पुग्दैन, लोभमा नै छ लम्पट ॥
अरूलाई पछारेर, अघि बढ्न ऊ खोज्दछ,
अरूलाई रुवाएर, आफू हाँस्न ऊ खोज्दछ ।
न उस्को धन सम्पत्ति, न उस्को जीवनै पनि,
तर बुझ्दैन यो मान्छे, हातमा छैन जिन्दगी ॥
न ल्यायो जन्मिदा केही, न मर्दा लान सक्दछ,
मर्नु पर्ला कि सोच्दैन, भोगमा मात्र मस्त छ ।
अरूको लागि बाँच्नेले, सधैँ बाँच्छ मरे पनि,
तर बुझ्दैन यो मान्छे, मरेकै छ जिए पनि ॥
कर्मको फलमा मात्र उसको अधिकार छ,
कर्म गर्दैन जो मान्छे गुलियो खान खोज्दछ ।
अरूको खुसीमा जल्छ, अनि खरानी बन्दछ,
के बाँच्नु जिन्दगी यस्तो, जुनी नै सब व्यर्थ छ ॥
धर्तीको सिनोमा थुक निल्छ आकाशमा उडी,
हुन सक्दैन त्यो मान्छे अरूको सुखमा सुखी ।
फेदमा नटेकी मान्छे टुप्पोमा पुग्न खोज्दछ,
क्षणको सुखका लागि जिन्दगी नै गुमाउँछ ॥
आहा ! सुनी रहूँ कस्तो यसको बोलीवचन,
व्यवहार पनि कस्तो शिष्ट, नम्र र शालीन ।
आत्म–प्रशंसा गर्दैन पर–सम्मान गर्दछ,
बनाउन सकूँ मैले यस्तै सुन्दर जीवन ॥
आफ्नै पौरखले आर्जी रमाऊँ म यसै गरी,
जान–अन्जानमा मैले नखोसूँ अरूको खुसी ।
सके बनाउनु पर्छ, नबिगारूँ म कुनै पनि,
जति जिउँछु म जिऊँ, हाँसी–खुसी यसै गरी ॥
म बाँच्छु जिन्दगी हाँसी
आफै शून्य भएकोले शून्यमा के डराउनु,
दुवै मुटु गुमाउनेले अरू नै के गुमाउनु ।
औँसीको रातमा चाँद देख्न सक्छ नियाल्नेले,
जिन्दगी भोगीले भोग्छ, रोई–रोई हँसाउनेले ॥
चटकी आफू हाँस्दैन अरूलाई हँसाउँछ,
मान्छे जो आफू बाँच्दैन अरूलाई बचाउँछ ।
पिएर दुःखका आँसु जस्ले खुसी उमार्दछ,
जिन्दगी त्यसले भोग्छ अरूमै जो रमाउँछ । ।
पीडा र दुःखको हिलो भित्र नै फुल्छ जीवन,
सुखको भुसमाआगो बेर लाग्दैन सल्कन ।
मादमा मात्तिई जस्ले मस्त भै बाँच्न खोज्दछ,
त्यही मान्छे जो पहिले धर्तीबाट हराउँछ ॥
जिन्दगी बाँच्नुमा हैन हाँस्नुमा नै छ उत्तम,
जो हाँसो दुःखको मूलबाट निस्केर बग्दछ ।
त्यही जिन्दगी हाँसोमा दहको चक्र बन्दछ,
नबुझे जिन्दगीआफ्नो आँसुमा डुब्न सक्दछ ॥
कहाँ फुलाउनु फूल बगैँचा नरहेपछि,
के गर्नु सुखको आशा सुख नै जो गुमेपछि ।
के गर्नु भरोसा अब आशा नै जो मरेपछि,
के देख्नु सपना मिठो निद्रा लाग्नै छोडेपछि ॥
तैपनि कल्पना मिठो आउँछ मनमा तर,
समाई मायाको त्यान्द्रो बाँचेको छु परी भर ।
टेक्नै छोडे पनि खुट्टा टेकाउलान् भनिकन,
म बाँच्छु जिन्दगी हाँसी अरूलाई हँसाउन ॥
उठ्न खोज्दै छु
तर्कीगए बिर्सी आफै सम्झिने त छँदै छु नि,
छोडिगए पनि कतै पर्खिने त छँदै छु नि ।
अग्निलाई साक्षी राखी आँचलमा बाँधिए नि,
चुँडाईगए पनि तिमी म त बाँधिएकै छु नि ॥
शिरको शोभा सिन्दूर नि अबिर सम्झि पुछेपछि,
मंगलसूत्र सौभाग्यनि घाँडो भई छिनेपछि ।
बाँध्न खोजेँ अँगालोमा फुत्की जान खोजेपछि,
सम्झि बस्नु पर्दोरैछ, आफ्नै टाढा भएपछि ॥
नआऊ भो अब प्रिय सम्झनामा घरीघरी,
साह्रै गाह्रो हुँदोरैछ बाँचेर नि मरीमरी ।
उडीउडी चारैतिर रमाउन खोजेपछि,
कसोगरी सम्हालिउँ एक्लो छोडी गएपछि ॥
कस्तो भूल गरेँ र हो रोई हिँड्नु परेको छ,
मनभरि सयौँ चोट तर हाँस्नु परेको छ ।
टाढिनु नै थियो त के आयौ मेरो नजिकिन,
भाला रोपी छातीभित्र भन प्रिये गयौ किन॥
हिँड्नु पर्दैन भो तिमी मैले हिँड्ने बाटो पनि,
सोध्नु पर्दैन भो यस्को कस्तो बेहालमा छ नि ।
कति दिन्छ्यौ फोनमा घन्टी पाउँछ्यौ के गिजाएर,
उठ्न खोज्दै छु म आफै चोटहरू बिसाएर ॥
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment